कला/साहित्य

किन होला दिदीबहिनीहरू नहुनेलाई लाग्दैन तिहार तिहारझैं!

मुक्तक

१) मुक्तक

पोलिस्टरलाई खादी बनाई दिनेछन् 

सिलबरलाई नि चाँदी बनाई दिनेछन् 

यहाँ गङ्गाजल छर्किँदै जलप लगाई,

गद्दाररूलाई राष्ट्रवादी बनाई दिनेछन्।

२) मुक्तक

अँधेरो खोज्थ्यो जून टहटह लागे पनि

एकपछि अर्को पापको तह लागे पनि

गोडिरहन्थ्यो बाली अहङ्कारको ऊ,

खेतभरि सर्वनाशको सलह लागे पनि।

३) मुक्तक

कुर्सीमा खुब टाँसिएका गम जस्तै हुन्छन् 

निरीहमाथि खसालिएका बम जस्तै हुन्छन् 

छेपाराका रङ्ग सरी नेताहरूका बोली पनि,

बेलाबेला बदलिरहने मौसम जस्तै हुन्छन्।

४) मुक्तक

श्रीखण्डको बनाउँछन् कोदालोको बिँड भरौटेहरूले

पेल्छन् हामीलाई बनाई उखुको झैं गिँड भरौटेहरूले

साधुको मखुन्डो भिर्दै अचेल दिग्भ्रान्त पार्दै सबैलाई,

बनाई रहन्छन् भयानक दर्दको पिरामिड भरौटेहरूले।

५) मुक्तक

सहरमा पुज्न थालेपछि फोटोको गाई लाग्दैन तिहार तिहारझैं

किन होला दिदीबहिनीहरू नहुनेलाई लाग्दैन तिहार तिहारझैं 

दैवले ठगेर लाउन पाइन मैले सप्तरङ्गी टिका माला तेल दुबो,

पाए पनि असिम शुभकामना र बधाई लाग्दैन तिहार तिहारझैं।

प्रकाशित: ७ कार्तिक २०८२ ०७:३२ शुक्रबार