कला/साहित्य

बिहेको निम्ताे र समयको सम्मान

कथा

साँझ ढल्दै थियो। पश्चिम आकाशमा घाम राताम्य भएर पहाडको कुहिरोभित्र हराउँदै जाँदा, शहरमा हावा मन्दमन्द लागिरहेको थियो। बिहानैदेखि पानी पर्लापर्ला जस्तो भएर थामिएको थियो तर साँझपख केहीबेर परेर रहेको सिमसिमे पानीले सडकको धुलो हटेको थियो तर त्यसको साटो सड्क अलिअलि हिलो  छारपस्टिएको थियो, सवारीका टायरले छर्केका पानीका छिटा र बत्तीको पहेँलो उज्यालोमा चम्किने कालो पिचले एक किसिमको अस्तव्यस्त सौन्दर्य सिर्जना गरेको थियो।

तीन किलोमिटरको बाटो, सामान्य दिनमा दश–पन्ध्र मिनेट लाग्ने दूरी - आज डेढ घण्टासम्म पनि टुंगिन सकेको थिएन। अगाडिपछाडि गाडीको लामो लाइन। कहिले मोटरसाइकल फुटपाथ चढेर अघि सर्छ, कहिले माइक्रोबसका सहचालक चिच्याउँदै बाटो खोज्छन्। ट्राफिक प्रहरीको जिम्मा पाएका म्यादी प्रहरीका अनुभवहीन सिठीको आवाज वर्षात्‌को गन्धसँग मिसिएर वातावरणमा झन् अधैर्य थपिरहेको थियो।

यही अस्तव्यस्ततामाझ शहरको एक किनारमा रहेको पार्टी प्यालेस बत्तीले झिलिमिली थियो। प्रवेशद्वारमा फूलको तोरण, रातो कार्पेट, र निम्ताकार्डमा लेखिएको समय:  “साँझ ६ बजे।”

अधिकांश निम्तालु भने समयमै पुगेका थिए। कोही ट्राफिकलाई दोष दिँदै, कोही छाता झार्दै र कोही कपडामा परेको पानी टक्टक्याउदै भित्र पसेका थिए। हलभित्र कुर्सीहरू सजिएका, स्टेजमा दुलाहादुलही बस्ने सुनौलो सोफा खाली तर बिहे घरका कोही देखिँदैनन्।

“अचम्म छ त, निम्ता गर्ने घरकै कोही आएनन्! ” एकजना काका रिसाएको स्वरमा भने।

“ट्राफिकले होला ढिला गरेको,” अर्काले सहजै अनुमान लगाए।

तर समय बिस्तारै सरिरहेको थियो। ६ बजेको सट्टा ७ बज्यो। निम्तालुहरूबीच खुसुरपुसुर सुरु भयो।

“हामी त कार्डको समय हेरेर ठ्याक्कै आयौं। यहाँ त कोही नै छैन।”

“फर्किऔं अब? यस्तो अव्यवस्था पनि हुन्छ?”

“हुँदैन त्यसरी फर्कन। अलि कुर्नुपर्छ,” एकजना मामा जस्तै देखिने व्यक्तिले सम्झाए।

बाहिर पानी फेरि सिमसिमाउन थाल्यो। पार्किङमा गाडीहरू झन् थपिए। हलमा कुर्सीहरू भरिँदै गए तर स्टेज खाली नै थियो। स्न्याक्सहरू चलिरहेको थियो तर खाना (डिनर) सेक्शनतिर कामदारहरू आधा तयारीमा उभिएका, उनीहरूलाई पनि ‘सुरु गर्ने’ संकेतको प्रतीक्षा।

उता दुलाहाको घरमा भने अर्कै हतार–व्यस्तता थियो। दुलाहाका बुबा मोबाइल कानमा टाँसेर लगातार फोन गरिरहेका थिए।

“कहाँ पुग्यौ? सबै निम्तालु आइसक्नुभयो!”

दुलाहाकी आमा अनुहारमा चिन्ताको रेखा बोकेर बसिरहेकी थिइन्।

“मान्छेले के भन्लान्, हाम्रो प्रतिष्ठा‘” उनी बिस्तारै फतफताइन्।

ट्राफिक जामले बेहाल बनाएको थियो। दुलाहादुलही चढेको गाडी पनि त्यही जाममा फसेको थियो तर मात्र जाम होइन। उनीहरू बाटामै फोटो सेशन गर्न रोकिएका रहेछन्। वर्षात्‌पछिको आकाश, पानीले पखालेर टल्किएको सडक र बत्तीको उज्यालो, फोटोग्राफरले भनेको थियो, “यस्तै मौसम र यस्तो सजिसजाउको समय र अवसर फेरिफेरि आउँदैन, आजकै दिन भने जति र भने जस्ता फोटाहरू क्याप्चर गर्नुपर्छ।”

समय बग्दै गयो।

करिब ७ बज्न लाग्दा, अन्ततः दुलाहाका परिवारका केही सदस्य हतारिँदै पार्टी प्यालेस पुगे। उनीहरूको अनुहारमा थकान, लाज र हल्का मुस्कान मिसिएकाे थियो।

“ट्राफिकले अलि समस्या गर्‍यो,” उनीहरूले सामान्य स्पष्टीकरण दिए तर दुलाहादुलही भने अझै आएका थिएनन्।

हलभित्र फेरि सन्नाटा।

“दुलाहादुलही खोइ त?” कसैले सोध्यो।

एक युवकले मोबाइल हेर्दै भन्यो, “फोटो सेसन गर्न गएका छन् रे!”

त्यो सुन्नासाथ हलभित्रको हावाको तापक्रम जस्तै बदलियो।

“कस्तो गैरजिम्मेवारी?”

“निम्तालुहरूलाई बोलाएर समय व्यवस्थापन त गर्नुपर्छ नि!”

“हामीलाई कुर्सीमा राखेर उनीहरू फोटो खिच्दै हिँड्ने?”

खुसुरपुसुर अब आलोचनामा बदलियो। कोही रिसाएर घडी हेर्दै थिए। कोही सामाजिक सञ्जालमा स्टाटस लेख्न थालेका थिए। केही युवा भने “ल, बिहे त यस्तै हो” भन्दै हाँसिरहेका थिए।

उता दुलाहादुलही भने क्यामेराको फ्ल्यासमा मुस्कुराइरहेका थिए। उनीहरूका लागि त्यो क्षण जीवनकै विशेष पल थियो तर उनीहरूले बिर्सिएका थिए कि त्यही क्षणमा दर्जनौं मान्छे उनीहरूको प्रतीक्षामा थिए।

जब अन्ततः रातको पौने आठ बजेतिर दुलाहादुलही हलमा प्रवेश गरे, बत्ती अझ झिलिमिली भयो, बाजा बज्यो, स्वागतको ताली पनि बज्यो तर त्यो तालीमा पूर्ण उत्साह थिएन। त्यसमा प्रतीक्षाको थकान मिसिएको थियो।

दुलाहाका बुबाले एकछिन स्टेजमा उभिएर सबैसँग क्षमा मागे।

“आजको ट्राफिक र मौसमले अलि असहज बनायो। यहाँहरूको धैर्यका लागि धन्यवाद।”

हल फेरि सामान्य बन्दै गयो। दुलाहादुलहीलाई भेटेर आशीर्वाद दिन सुरु भयो। सबैलाई दुलाहादुलहीसँग बसेर फोटो खिच्ने रहर फोटोग्राफरले पूरा गरिदिँदै थियो। भेटघाट सुरु भयाे अनि खाना सुरु भयो। कुराकानी फेरि हाँसोमा बदलिन थाल्यो। तर त्यो साँझले सबैलाई एउटा सानो पाठ सिकायो, बिहे दुई जनाको उत्सव होइन, सयौं मनको सहभागिता हो।

फोटोमा कैद हुने क्षणभन्दा, प्रतीक्षामा बस्ने मनहरूको कदर ठूलो हुन्छ। समयको सम्मान नै सम्बन्धको सम्मान हो।

प्रकाशित: १५ फाल्गुन २०८२ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App