कवि सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘एक झुल्को घाम’ लाेकार्पण भएकाे छ।
हालै मध्यपुर थिमीमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। सो कृतिको लोकार्पण वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले गरेका हुन्।
लोकार्पण समारोहमा कायृक्रमका प्रमुख अतिथि तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साहित्यकार राष्ट्रका गौरव भएको विचार पोख्दै कवि सूर्य लाकोजूको कवितासंग्रहको नामै आकषृक भएको विचार व्यक्त गरे।
समालोचकद्वय डा. ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले ‘एक झुल्को घाम’माथि समीक्षात्मक मन्तव्य राखेका थिए। वक्ताहरूले कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे व्यापक चर्चा गरे।
कार्यक्रममा कवि सूर्यप्रसाद लाकोजूले आफ्नो सिर्जनायात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभव साटे। कवि वसन्त नकर्मीको सभापतित्वमा सम्पन्न सो समारोहमा कवि राजुराम मुनकर्र्मीले शुभकामना मन्तव्य व्यक्त गरे।
सोही समारोहमा ‘एक झुल्को घाम’ कवितासंग्रहबाट कवि बुद्धिकृष्ण घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कविता बाचन गरेका थिए। ृसिर्जनात्मक प्रस्तुतिले समारोहलाई थप साहित्यिक बनाएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले ‘एक झुल्को घाम’लाई कवि लाकोजूको साहित्यिक यात्राको महत्वपूर्ण उवलब्धिका रूपमा चर्चा गर्दै यसमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक सरोकार, समकालीन जीवनबोध र काव्यिक सौन्दर्यका विविध पक्षमाथि मन्तव्यकारहरुले आ–आफ्ना धारणा राखेका थिए।
घामकवि सूर्य लाकोजूको यस कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूले नेपाली समाज, राजनीति, संस्कृति, मानवीय संवेदना, प्रेम, सङ्घर्ष, प्रकृति र समयका विविध आयामलाई सरल तर प्रभावशाली भाषामा अभिव्यक्त गरेका छन्। अँध्यारो जतिसुकै गाढा किन नहोस्, जीवनमा आशाको एउटा झुल्को घाम सधैँ बाँकी रहन्छ भन्ने भाव कवितासङ्ग्रहले बोकेको कुरा कवि लाकोजू बताउँछन् । कवितासङ्ग्रमा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्द असन्तोष, प्रेम प्रणयका सन्दर्भ, राजनैतिक बेथिति जस्ता बिषय कविले उठाएका छन। उनको यो सातौँ कविताकृति हो।
तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद, कथा जस्ता विधामा कलम चलाउँदै आएका छन् । लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत कृयाशिल रहँदै आएका छन्।
प्रकाशित: ८ भाद्र २०८३ ०९:१६ सोमबार



