कला/साहित्य

मूलधारका शैलीभन्दा बेग्लै ‘परिधि’ को लोकार्पण

साहित्यकार उमा सुवेदीकाे ‘परिधि’ काे लाेकार्पण भएकाे छ। साहित्यकार कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रूपमा ‘परिधि’ काे लोकार्पण गरेका हुन्। सुवेदीको यो तेस्रो आख्यानलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो।

चर्चित उपन्यास ‘तोदा’, कथासङ्ग्रह ‘सयौं पुतली’ लगायत आधा दर्जन पुस्तककी लेखक उमा सुवेदीकाे ‘परिधि’ काठमाडौंमा एक समारोहका बिच लोकार्पण गरिएको हाे।

कार्यक्रममा बोल्दै लेखक कुमारी लामाले ‘परिधि’मा स्वैरकल्पनाको प्रचुरतासँगै यथार्थताको धरातललाई पनि सँगै लिएर गएको एक विशिष्ट आख्यान भएको बताइन्। उनले लेखकले मूलधारको एकथरिको लेखनभन्दा भिन्न शैली अपनाएर परिधिको आयाम फराकिलो पारेको टिप्पणी गरिन्।

त्यस्तै अर्का लेखक केशव दाहालले ‘परिधि’ संरचनाका हिसाबले नयाँ तर बेजोड कृति भएको बताए। उनले यस आख्यानमा बिम्बको प्रयोग सुन्दर तरिकाले गरिएको बताउँदै लेखकको निखारिएको शिल्पले पाठकलाई शुरूदेखि अन्त्यसम्मै बाँधेर राख्ने उल्लेख गरे।

कलाकार गौरी मल्लले ‘परिधि’ जस्तो नविन र सशक्त शैलीको नेपाली आख्यान आफूले अहिलेसम्म नपढेको बताउँदै यस पुस्तकका पात्रहरूले आफूलाई पनि कहीं कतै प्रतिबिम्वित गरेको बताए।

कार्यक्रममा कविता वाचन समेत गरेको उनले यस आख्यानका पात्रले आफूभित्र उचित-अनुचित, असल-खराब, ठीक-बेठिक जस्ता कुराबारे पुनः सोच्न बाध्य बनाएको बताए। ‘परिधि’ को अलौकिक संसारले सबै पाठकलाई सम्मोहित गर्ने उनको धारणा थियो।

लेखक उमा सुवेदीले आफूले भन्न चाहेको कथाका लागि सामान्यभन्दा विशिष्ट शैली आवश्यक भएकाले आफूले कथा भन्ने शैलीमा प्रयोग गरेको बताइन्।

सुवेदीका यसअघि तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह), तिर्सनाका छालहरू (गीतसङ्ग्रह), तोदा (उपन्यास), इति (उपन्यास) र सयौं पुतली (कथासङ्ग्रह) प्रकाशित छन्।

प्रकाशित: १ भाद्र २०८२ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App