सपना देख्ने आँट र चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने हिम्मत र आफ्नो क्षमतामा अटुट विश्वास र आफूभित्र लुकेको ‘हिरो’ खोज्ने विश्वास यही हो चलचित्रको कथा। यात्रा चलचित्र निर्माणको होइन एक सपना, एक संघर्ष र आत्म अभिव्यक्तिको धरोहर हो भन्छिन् निर्देशक जानकी पन्त जुन।
नेपाली कथानक चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’ करिब २८ दिनको दाङ र काठमाडाैंको छायांकन सकेर सम्पादन कार्यमा जुटेको छ। सम्पादक सन्देश शाहलाई चलचित्रको सम्पादकको रूपमा सम्झौता गर्दै सम्पादन सुरु गरिएको छ। साहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशनमा बनेको यस चलचित्रलाई सम्पादक सन्देश शाहले सम्पादन गर्दै छन्।
कुमुद पन्त चलचित्रमा प्रमुख अभिनेताको रूपमा देखिएका छन्। अभिनेत्री रिचा थापा र रविना परियारले उनलाई साथ दिएका छन्। चलचित्रमा विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकरराज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रविन बराइली, किरण मगर पुन, सरस्वती विक लगायतका कलाकार प्रमुख अभिनयकाे भूमिकामा छन्।
चलचित्रमा बालकलाकार प्रयुशदत्त सुवेदीले प्रमुख बालकलाकार ‘कुमुदे’ को भूमिका निर्वाह गरेका छन्। बालकलाकारहरू काव्य रस रिजाल, युनिश घिमिरे, युनिका खत्री लगायतकाले उनलाई साथ दिएका छन्।
चलचित्र कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माता विष्णु पन्त शर्मा आचार्यले निर्माण गर्न लागेकी हुन्। चक्रबहादुर बराल सहनिर्माता र रंग पत्रकार एवं रेडियो प्रस्तोता भोला सुवेदी (आर्जे प्रणव) कार्यकारी निर्माताकाे रूपमा रहेकाछन्।
यसअघि पनि चलचित्र ‘ज्ञानशास्त्र’ निर्माण गरेका सञ्चारकर्मी एवं रंग पत्रकार भोला सुवेदी (आर्जे प्रणव) भन्छन्, ‘पहिला शिक्षा क्षेत्रसम्बन्धी चलचित्र निर्माण गरें ‘ज्ञानशास्त्र’ अब अहिले मैले मेरो रंग पत्रकारितामा पाएको अनुभव समेटेर हिरो बन्न हिंडेको एक युवाको वास्तविक कथामा चलचित्र निर्माण गरेको छु।
एउटा सफल अभिनेताले जीवनकलामा हिरो बन्न हिँडेको संघर्षको कथा नै मेरो चलचित्रको मुटु हो, जुन मैले मेरो वास्तविक जीवनमा नायकनायिकाहरूको अन्तर्वार्ताबाट पनि केही सुनेको थिएँ त्यही फिल्मको पर्दामा देखाउने कोसिस गरेको छु’ कार्यकारी निर्माता भोला सुवेदी भन्छन्।
नेपालका रमणीय स्थान दाङ, पोखरा र काठमाडौंमा चलचित्रको छायांकन भएको छ। निर्देशक जानकी पन्त जुनका अनुसार चलचित्र “बायोपिक र सत्यकथा” मा आधारित छ, जसले नेपाली चलचित्रमा नयाँपन र वास्तविकताको स्वाद दिनेछ।
दाङको एउटा युवाको कथा भएकाले हामीले यो चलचित्र पहिला दाङमा विशेष शो गरेर मात्र सार्वजनिक प्रदर्शन गर्नेछौ " निर्देशक जानकी पन्तले भनिन्।
चलचित्रमा महिला द्वन्द्व निर्देशक किरण दाहालको रोचक द्वन्द्व , विपिन आचार्य र ओम सुनारको संगीत तथा सन्देश शाहको सम्पादन छ। उत्तमप्रसाद अधिकारीको असोसिएट् निर्देशन रहेको यस चलचित्रको प्रदर्शन मिति भने आउँदाे २०८३ साल तोकिएको छ।
यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ कथाविधान, वास्तविकता र प्रेरणादायी यात्रा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ।
प्रकाशित: ३० आश्विन २०८२ १०:२६ बिहीबार



