कला/साहित्य

कथाकार विमला ढुंगाना निरौलाको ‘प्रेमाश्रु’ लोकार्पण

मिलाप पब्लिकेशनले साहित्यकार विमला ढुंगना निरौलाको ‘प्रेमाश्रु’ कथासङ्ग्रह लोकार्पण गरेको छ।

मिलाप मासिकका सम्पादक कृष्ण भुसालकाे अध्यक्षता र स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’ काे प्रमुख आतिथ्यमा कथासङ्ग्रहकाे लाेकार्पण गरिएकाे हाे।

कार्यक्रमका सभाध्यक्ष कृष्ण भुसाल, समीक्षक प्राडा यज्ञश्वर निरौला, कथाकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतले कृतिको लोकार्पण गरेका थिए।

साहित्यकार भैरवी भूगोलको सहजीकरण गरेकाे लोकार्पण कार्यक्रममा कथाकार निरौलालाई मिलाप कभर सम्मान पनि अर्पिएको थियो।

कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीकार सन्तोष श्रेष्ठ, साहित्यकार सीता पाण्डे, लक्ष्मी उप्रेती, डा.फणिन्द्रराज निरौला र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

वक्ताहरूले बालसाहित्यमा कलम चलाउँदै आएकी स्रष्टा विमलालाई कथासङ्ग्रहका लागि बधाई तथा शुभकामना दिंदै संग्रहका सबै कथा उत्कृष्ट रहेको बताए।

डा.यज्ञश्वर निरौलाले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। अधिकांश कथा प्रेमसँग सम्बन्धित रहेको बताउँदै नेपालबाहिर अमेरिका र नेपाली परिवेशका जनजीवनका कथा रहेको उनले बताए। समाजका विविध विषय कथाका रूपमा एकै कृतिमा उनेर विमलाले पाठकसमक्ष प्रस्तुत गरेकाे र समाजका रीति र विकृति सरल तर गहन, सजीव वाचाल रूपमा यसमा प्रस्तुत भएका छन्।

समालाेचक प्रमोद प्रधानले कथाकार निरौला साहित्य सिर्जना र समाज सेवा दुवैमा उत्तिकै सक्रिय रहेकाे बताए। समालाेचक प्रधानले नेपाल बालसाहित्य समाजमा पनि उनको भूमिका  उल्लेख्य रहेकाे चर्चा गरेका थिए।

प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले आफू विमलाका साहित्य रचनासँग परिचित रहेको बताउँदै उनलाई बालसाहित्य, कविता, गीतकारका रूपमा चिनिँदै आए पनि अब कथाकारका रूपमा चिनिने बताए।

प्रमुख अतिथि रोदनले पछिल्लो समय साधनाबिनै नै धेरै व्यक्ति लेखनमा आउँदै कृति सार्वजनिक गरेको बताउँदै निरौला सानैदेखि यो क्षेत्रमा रहेर धेरै कृति पाठकमाझ ल्याएको चर्चा गरे।

कृतिका सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्दै छोटो समयमै ‘प्रेमाश्रु’ पाठकमाझ ल्याएको बताए।

स्रष्टा विमलाले आफूले बालसाहित्यमा अलिक धेरै कलम चलाउँदै आए पनि सबै विधामा कलम चलाइरहेको बताउँदै पछिल्लो कृति ‘प्रेमाश्रु’ ले पाठकको मन जित्नेमा आशावादी रहेको बताइन्।

कार्यक्रमका सभाध्यक्ष कृष्ण भुसलाले ‘प्रेमाश्रु’मा धेरै कथामा प्रेमलाई प्राथमिकता दिएर लेखिएको बताउँदै प्रेमदिवसमा पाठकमाझ आएको बताए।

कार्यक्रममा डा. बुनु दाहाल, लक्ष्मण सिटौला, उर्मिला ढुंगाना सुवेदी, ललिता दोषी, रेनुका भट्टराई, जनक रावल, शैलेन्द्र चापागाईं, सानुकाजी श्रेष्ठ, तुलसी गिरी, भोला अधिकारी रश्मि रिजाल, माधव ढुंगाना, प्रज्ञा ढुंगाना, विनिता देवकोटा, शारदा पन्त, कमला पन्थी अधिकारी, शोभा ढुंगाना, मिनु पोखरेल, राजकुमार खड्का, आयुसा पौडेल, रुकमणि घिमिरे, सिर्जना अर्याल, सुभद्रा चन्द, अमृता स्मृति, सावित्रा पुडासैनी, सुरेन्द्र थापा लगायतकाे उपस्थिति थियो।

किशोर गौतमको वर्णविन्यास रहेको २०० पृष्ठको यस कृतिमा ‘प्रणयप्रेम, प्रेम र मानवताको खाता, प्रेमको क्षमादान, हुर्रे!, स्वप्निल प्रेम, अतृप्त प्रेम, अस्ताएको प्रेम, प्रेम पैयाँ, प्रेम र आराधना, आफैंसँगको प्रेम, प्रेमका आँसु, प्रेमको अवशेष, भय, तीजको रहर, नारी दिवस, पुरस्कार, अनिश्चित आयु, प्रेमको पुनर्मिलन, माला र गला, अनुत्तरित बाध्यता, प्रेमिल साकुरा, बेहुला मामाको बटुक भान्जा’ जस्ता २९ कथा सङ्गृहीत छन्।

मिलाप पब्लिकेशनले प्रकाशन र ई.प्रेस प्रालि. मुद्रण रहेको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ।

कथाकार निरौलाका यसअघि ‘तिमीविनाको हाम्रो जीवन, (बालकवितासङ्ग्रह), बालमन (बालचित्र कवितासङ्गालो), बादल र ऋतृ (बालचित्रकाव्य), तीन चरी, पशुपक्षी (बालचित्र कवितासङ्गालो), बालबगैँचा (बालकवितासङ्गालाे), ठूलो भाइ के बन्ने? (बालसंवाद चित्र-कविता), निर्दोष कोपिला (बालगीतसङ्ग्रह), काव्यपराग (मुक्तकसङ्ग्रह), यात्रामा देश (बालनियात्रासङ्ग्रह) जस्ता कृति प्रकाशित छन्।

लामो समयदेखि भर्जिनिया, अमेरिकामा बस्दै आएकी निरौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को निर्वतमान महासचिव हुन्। विभिन्न मानसम्मान र पुरस्कारबाट विभूषित उनी अन्य सामाजिक संघसंस्थामा पनि रहेर कुशल कार्य सम्पादन गर्दै आएका छन्। 

प्रकाशित: २७ माघ २०८२ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App