लघुकथा समाज नेपालले लघुकथाकार शोभा अधिकारीको लघुकथासंग्रह ‘आमाको आँखा’ लोकार्पण गरेको छ।
लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षता तथा नाट्यकर्मी अशेष मल्लकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि अशेष मल्ल, लघुकथा समाज नेपालका संस्थापक श्रीओम श्रेष्ठ रोदन, प्रा. पुरुषोत्तम दाहाल, तुलसीहरि कोइराला र लघुकथाकार अधिकारी लगायतले संयुक्त रूपमा कृति लोकार्पण गरेका हुन्।
प्रमुख अतिथि अग्रज साहित्यकार एवं नाट्यकर्मी अशेष मल्लले यो दशकमा सबैभन्दा धेरै लघुकथा लेखिएको बताए। उनले नेपाली साहित्यमा लघुकथा विधालाई याे अवस्थामा ल्याउन लघुकथा समाज नेपालकाे उल्लेख्य भूमिका रहेकाे बताए।
उनले हरेक मान्छेसँग कथा हुने र कसरी कथा प्रस्तुतिकरण गर्छ भन्ने बताए। लेखन कलाले मान्छेलाई डिप्रेशनबाट समेत बचाउने सामर्थ्य राख्ने बताएर।
त्यस्तै स्रष्टा समाज नेपालका अध्यक्ष तथा लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले आफूले देखेभाेगेका घटना टपक्कै टिपेर लघुकथाकाे कलात्मक रूप दिन लघुकथाकार निपुण भएकाे बताए।
समीक्षक अनुपमा रेग्मीले लघुकथाकार अधिकारी पुस्तक प्रकाशनमा नयाँ भए पनि लेखन क्षेत्रमा पहिल्यै चिनिएकाे बताइन्। उनले उनका लघुकथा विधा तात्त्विक दृष्टि पूर्ण, चाेटिलाे र लघुकथाको उठान, बैठान र समापन बेजाेड रहेकाे बताइन्।
सुमन वर्षाले नेपाली समाजलाई केन्द्रविन्दु बनाएर लेखिएका लघुकथाहरूमा माया, प्रेम, हार्दिकता, सद्भाव सहित समसामयिक विषयवस्तुमा आधारित छन् र तिनलाई भिन्न ढंगले लेखिएको बताइन्।
त्यस्तै कार्यक्रममा लघुकथाकार अधिकारीले सपना, कल्पना, भोगाइ र समाजमा व्याप्त अन्यायअत्याचारले लेखिरहन हाैसला मिलेकाे बताइन्। उनले आजको व्यस्त युगमा लघुकथा रोजाइकाे विषय भएकाे पनि बताइन्।
कार्यक्रममा लाेकप्रिय साहित्यकार तथा सञ्चारकर्मी प्रा. पुरुषोत्तम दाहाल, पद्मकन्या कलेजका सहायक क्याम्पस प्रमुख विमला नेपाल र कवि ठाकुर बेलवासेले मन्तव्य प्रस्तुत गरेका थिए।
कवि एवं निबन्धकार श्रीबाबु कार्कीले सहजीकरण गरेकाे कार्यक्रममा समाजकी उपाध्यक्ष शुषमा चित्रकारले शब्दमार्फत उपस्थितजनलाई स्वागत गरेकी थिइन्। कार्यक्रममा लोकार्पित कृतिबाट भूपि ऐरले लघुकथा वाचेका थिए।
प्रकाशित: ६ वैशाख २०८३ ०६:५८ आइतबार



