सडकबिच अलपत्र रगताम्मे एउटा जुत्ताले
पर्खिरहेकाे छ, आजादीकाे स्वतन्त्र एउटा खुट्टा।
याे जुत्ता सडक बिचमा, खै कसरी छुट्याे?
कुन बेला छुट्याे?
सायद छुटेकाे हुन सक्छ
कसैकाे छातीमा सरकारी गाेली लागेकाे समय
छुटेकाे हुन सक्छ
अश्रृग्याँसले बेहाेस हुँदै गर्दा
छुटेकाे हुन सक्छ
निर्मम लाठीले टाउकाे फुटेकाे समय।
पानीकाे फाेहराले आँखा तिर्मिराईरहेकाे बेला पनि हुन सक्छ।
वा
हुन सक्छ बुटकाे निरङ्कुश प्रहारले धर्मराइरहेकाे बेला।
जुन बेला भए पनि याे जुत्ता छुटेकाे समय
सत्ताले ज्यान भने लिइरहेकै हुनुपर्छ
यस्काे प्रमाण हाे,
सडकबिचमा बेवारिसे छ
अलपत्र एउटा रगताम्मे जुत्ता।
सायद याे जुत्ता अलमलमा छ
कसरी हिंड्ने हाे अब?
कता जाने हाे अब?
विहानै त फटाफट निस्किएकाे थियाे
देश बनाउने सपना बाेकेर
दिउँसाे हिँडिरहेकाे थियाे देशकाे झण्डा बाेकेर
अहिले सबै कता हिँडे?
सायद जुत्ता अलमलमा छ मलाई बाेक्ने खुट्टालाई
किन कसैले बाेक्याे हतारमा ??
लग्याे कता??
छाडिएँ म किन अलपत्र ??
यस्तै साेचेर
एउटा रगताम्मे जुत्ताले पर्खिरहेकाे छ
अलपत्र सडकबिचमा
आजादीकाे एउटा स्वतन्त्र खुट्टा।
याे जुत्ता कस्काे हाे?
-हुन सक्छ काेही भविष्य पढ्दै गरेकाे वर्तमानकाे
- वर्तमान लेख्दै गरेकाे कुनै कविकाे
-हुन सक्छ कसैकाे सपनाकाे/आशाकाे
-हुन सक्छ कुनै बा आमाकाे बुढेसकालकाे एक्लाे सहाराकाे,
-हुन सक्छ कुनै दाइ दिदीकाे कलिलाे भाइकाे
-हुन सक्छ परिवारकाे आडभराेसा कुनै सन्तानकाे,
-पसिना बेचिरहेकाे श्रमिककाे
अथवा
-अवश्य हाे याे जुत्ता कुनै निहत्था नेपालीकाे।
सरकार भनिरहेछ याे जुत्ता पश्चगमनकारीकाे हाे
प्रशासन भनिरहेछ याे जुत्ता अराजक खुट्टाकाे हाे
सत्ता भनिरहेछ याे जुत्ता घुसपैठकारीकाे हाे।
तर
माटाेले भनिरहेछ याे जुत्ता मेराे सन्तानकाे हाे।
बाटाेले भनिरहेछ याे जुत्ता मेराे यात्राकाे हाे।
सत्ताले याे जुत्तालाई दुस्मन देखिरहेछ।
मिडियाले निरङ्कुश दमनकाे छिटा देखिरहेछ।
साथीहरूले यसमा क्रान्ति देखिरहेछन्।
पक्षले जुत्तालाई विद्राेह देखिरहेछन् ।
कसैले यही जुत्तालाई झन्डाजस्तै देखिरहेछन् ।
म भने याे रक्ताम्य जुत्तामा आमाकाे अनुहार देखिरहेकाे छु।
प्रकाशित: ३१ जेष्ठ २०८३ ०७:०४ आइतबार