कला/साहित्य

जीवनको दोसाँधमा खोजिएको मुक्ति

अनुभूति

विगतका पानाहरू पल्टाउँदा कहिलेकाहीं केही दृश्य यति जीवन्त भएर अगाडि उभिन्छन् कि समयको दुरी आफैं बिलाएर जान्छ। २०६६/६७ सालतिर म ललितपुर जिल्ला अदालतको न्यायाधीश थिएँ। न्यायको आसनमा बसेको मान्छेले अनेकौं अनुहार देख्छ - आशा, निराशा, पीडा, क्रोध, आग्रह, प्रतिवाद। ती सबैमध्ये एउटा अनुहार आजसम्म मनभित्र कतै अड्किएर बसेको छ– एक वृद्ध महिलाको।

उमेरले डाँडो काटिसकेकी, सम्भवतः पचहत्तर वर्षकी थिइन् उनी। अनुहारमा समयका गहिरा रेखा, आँखामा अनुभवका हजार कथा र बोलीमा असाधारण शान्त दृढता। उनी सम्बन्धविच्छेदको निवेदन लिएर आएकी थिइन्।

म अलिक चकित भएँ। यत्रो उमेरमा सम्बन्धविच्छेद?

इजलासको औपचारिकता भित्रैबाट मैले सोधें - ‘तपाईं यो उमेरमा किन सम्बन्धविच्छेद गर्न चाहनुहुन्छ ?’

उनले टाउको झुकाइन्, केही क्षण मौन बसिन् अनि शान्त तर काँपिरहेको स्वरमा भनिन् - ‘म बिहे गरेर श्रीमान्को घर एकदिन पनि बसेकी छैन, हजुर। नाताले श्रीमान्–श्रीमती भए पनि उहाँसँग मेरो भौतिक सम्बन्ध एक रत्तिभर पनि छैन।’

उनका शब्दहरू इजलासको चिसो हावामा फैलिँदै मेरो मनको गहिराइमा पुगिरहेका थिए।

‘म माइतमै बसें,’ उनले भनिन्, ‘हुर्कें, बढेँ, बुबाआमासँग बसेँ। दाजुभाइसँग बसेँ। अहिले भदासँग बस्छु। उहाँसँग कहिल्यै बसिनँ। कहिल्यै जीवन बाँडिनँ।’

म स्तब्ध थिएँ। कागजका अक्षरहरूभन्दा अगाडि एउटा जीवन उभिएको थियो।

‘तर,’ उनले फेरि भनिन्, ‘कानुनी रूपमा उहाँ मेरो श्रीमान् हुनुहुन्छ। जब उहाँको मृत्यु हुन्छ, हाम्रो धार्मिक संस्कार अनुसार मैले तेह्र दिन क्रिया बस्नुपर्छ। काजक्रिया गर्नुपर्छ। मसँग उहाँको कुनै सम्बन्ध छैन भने त्यो दायित्व किन बोकूँ?’

उनका आँखामा आँसु थिएन तर त्यहाँ एक जीवनभरको असन्तोषको शान्त उज्यालो थियो। त्यो उज्यालो चिच्याइरहेको थिएन, कराइरहेको थिएन तर अत्यन्त स्पष्ट थियो।

सानैमा उनको विवाह भएको रहेछ। बाल्यकालमै गाँसिएको नाता, जुन सामाजिक परम्पराले बाँधिदियो तर जीवनले स्विकारेन। परिस्थितिले उनी कहिल्यै श्रीमान्को घर पुगिनन्। न सँगैको दैनिकी, न सुख–दुःखको साझेदारी, न दाम्पत्यको निकटता। केवल कागज र संस्कारले बाँधिएको एउटा सम्बन्ध थियो। उनले गम्भीर स्वरमा भनिन्, ‘त्यसको अन्त्यमा आउने कर्म म किन बेहोर्ने ? तेह्र दिन क्रिया बस्नु पनि त एउटा दायित्व हो। जसको मप्रतिको कुनै दायित्व मैले कहिल्यै पाइनँ, उसको दायित्व किन लिऊँ?’

इजलासमा बसेको म न्यायाधीश थिएँ। मेरो काम भावना होइन, कानुन हेर्नु थियो तर त्यो दिन कानुनका दफाभित्र पनि म मानवताको सास सुनिरहेको थिएँ।

सत्य के थियो भने दुवै पक्ष सम्बन्धविच्छेद गर्न चाहन्छन् भने म रोक्न सक्दिनथेँ। अदालतको अधिकार त्यहाँ समाप्त हुन्थ्यो। उनीहरूलाई सम्बन्धमा बाँधेर राख्ने कुनै कानुनी कारण थिएन तर त्यो निर्णय केवल कागजी प्रक्रिया मात्र थिएन, त्यो एक वृद्ध महिलाको जीवनभर बोकेको अदृश्य बोझ हटाउने क्षण थियो।

मैले उनलाई अन्तिम प्रश्न गरेँ, ‘के तपाईंले सोचेर नै यो निर्णय गर्नुभएको हो?’

उनले दृढ स्वरमा उत्तर दिइन्– ‘धेरै सोचेर। अब जीवनको साँझमा अरूको नामको छाया बोकेर बस्न चाहन्नँ श्रीमान्।’

त्यो वाक्य आज पनि कानमा गुन्जिरहन्छ।

मैले फैसला सुनाएँ– सम्बन्धविच्छेद गर्ने।

इजलासबाट बाहिरिँदै गर्दा उनी एकछिन फर्केर हेरेझैं लाग्यो। त्यो दृष्टिमा न विजय थियो, न पराजय। केवल मुक्तिको शान्त अनुभूति थियो, मानौं उनले जीवनको एउटा अदृश्य बोझ खोलेकी थिइन्।

पछि विभिन्न पत्रपत्रिकाले यो घटनालाई निकै हाइलाइट गरेर लेखे– ‘७५ वर्षमा सम्बन्धविच्छेद’। ती समाचारका शीर्षकभन्दा गहिरो कुरा थियो– त्यो एक नारीको आत्मसम्मानको कथा थियो। एक यस्ती नारी, जसले जीवनभर मौन बसेर पनि अन्तिम क्षणमा आफ्नो अस्तित्वको घोषणा गरिन्। समाजमा यस्ता कथा थुप्रै छन्। धेरै मुखर हुँदैनन्। धेरै अदालतसम्म पुग्दैनन्। धेरैले आफ्नो पीडा भित्रै थामेर राख्छन् तर त्यो दिन अदालतको इजलासमा एक वृद्ध महिलाले सार्वजनिक रूपमा आफ्नो सत्य बोलिन्। उनले परम्पराको सम्मान गर्दै पनि आफ्नो स्वतन्त्रताको माग गरिन्। उनले कसैसँग बदला लिइनन्, केवल आफूलाई मुक्त गरिन्।

आज पनि जब म त्यो घटना सम्झन्छु, लाग्छ - मानिसको जीवन कति संवेदनशील र जटिल हुन्छ। कानुनले समाधान दिन सक्छ तर पीडाको गहिराइ नाप्न सक्दैन। त्यो नाप्ने काम जीवनले आफैं गर्छ।

ती महिला मेरो नजरमा साँच्चै महान् थिइन् किनकि उनले सम्बन्ध तोडेर कुनै घर भत्काइनन्, उनले केवल एक असत्य नाता त्यागिन्। उनले देखाइन्– सम्बन्ध केवल संस्कारले होइन, सहअस्तित्वले बाँच्छ। जब सहअस्तित्व हुँदैन, त्यहाँ दायित्वको नाममा जीवनभरको बोझ बोक्नु आवश्यक छैन।

तेह्र दिनको क्रिया नबस्नका लागि उनले एउटा जीवनभरको मौनता तोडिन् र त्यही मौनताको भंगले उनको जीवनको साँझमा एउटा उज्यालो कोरिदियो। कहिलेकाहीं न्यायको सबैभन्दा गहिरो अर्थ कागजमा होइन, मान्छेको आत्मामा लेखिन्छ। त्यो दिन मैले एउटा निर्णय मात्र गरेको थिइनँ– मानव जीवनको संवेदनशीलताको एक अमिट पाठ पढेको थिएँ।

- ओझा उच्च अदालतका पूर्वन्यायाधीश हुन्।

प्रकाशित: १७ आश्विन २०८३ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App