कथाकार रत्न प्रजापतिलाई एक समारोहबिच ‘धनमान कथा पुरस्कार’ अर्पण गरिएको छ। लघुकथा समाजको आयोजना तथा सिर्जना अभियान समाजको संयोजनमा भएको सो समारोहमा भाषा आयोगका सदस्य तथा कथाकार मातृका पोखरेलले धनमान कथा पुरस्कार अर्पिएका थिए।
समारोहमा कथाकार प्रजापतिलाई पुरस्कार अर्पिंदै प्रमुख अतिथि पोखरेलले पुरस्कार लेखकको सम्मान र सिर्जनाको मूल्याङ्कन भएकाे बताए। उनले कथाकार रत्नका कथाले स्थानीय संस्कृति र भावनालाई पनि महत्त्व प्रदान गरेको बताए।
कथाकार ध्रुव मधिकर्मीले पुरस्कृत स्रष्टाको परिचय प्रस्तुत गरेका थिए। प्रजापतिका प्रत्येकजसो कथामा रगिराग र प्रेमको अनुभूतिलाई विविध सन्दर्भमा प्रभावकारी रूपले चित्रण गरिएको पनि उनले बताए।
पुरस्कारका दाता एवं वरिष्ठ कथाकार धनमान श्रेष्ठले कथाप्रति आफ्नो रुचि भएकाले स्रष्टाहरूको सम्मानका लागि पुरस्कार स्थापना गरेको बताए।
समारोहमा पुरस्कृत स्रष्टा प्रजापतिले पुरस्कारले आफूलाई लेखनमा अझ जिम्मेवारीपूर्वक लाग्न प्रोत्साहित गरेको बताए।
समाजका अध्यक्ष तथा समारोहका सभापति तुलसीहरि कोइरालाले समाजले पुरस्कारबाट स्रष्टा र सिर्जनाको सम्मान हुने बताए।
नेपाली साहित्यको कथा र लघुकथाविधाका स्रष्टाहरुको प्रोत्साहनका लागि स्थापना गरिएको सो पुरस्कार प्रत्येक वर्ष कथा र लघुकथातर्फ आलोपालो गरी प्रदान गरिँदै आएको छ।
प्रकाशित: १६ चैत्र २०८२ १२:०४ सोमबार



