नेपालकै चर्चित तथा लोकप्रिय गायिका रचना रिमाल गायक तथा सञ्चारकर्मी बाबुराम भुषाल (शील) को स्वरमा रहेको ‘माया बस्यो लौ तिमीसँगै’ नयाँ गीत सार्वजनिक भएको छ। गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुल्न थालेको छ। गीतमा शब्द र संगीत पनि बाबुराम भुषालकै रहेको छ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा माया र प्रेम भावका शब्दहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। गीतले युवायुवतीको प्रेम, आत्मीय सम्बन्ध, आकर्षण र भावनात्मक नजिकपनलाई सुन्दर तरिकाले उजागर गरेको छ। पोखराका रमणीय दृश्यहरूमा छायांकन गरिएको भिडियोले गीतलाई अझ आकर्षक बनाएको छ, जहाँ प्रकृतिको सौन्दर्यसँगै प्रेमको भावना मिसिएको देखिन्छ।
भिडियोमा कलाकार साधना तिवारी, रमेश तिमिल्सेना, पूर्ण थापा र हिराबहादुर रायमाझीको उत्कृष्ट अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनयले गीतको कथा र भावनालाई अझ प्रभावकारी बनाएको छ। गायक बाबुराम भुषालकै कथामा तयार गरिएको यस भिडियोमा सुरज खनालको छायांकन रहेको छ भने विकास धमलाले सम्पादन गरेका छन्।
समग्रमा 'माया बस्यो लौ तिमी सँगै' गीतले प्रेम, भावना र नेपाली संगीतको मिठासलाई समेट्दै दर्शक तथा श्रोताको मन जित्न सफल भएको देखिन्छ।
पोर्तुगलमा लामो समय बसेर नेपाली पत्रकारिता सँगसँगै कलाकारितालाई अगाडि बढाउँदै आएका भुषाल हाल बेलायतमा रहँदै आएका छन्। प्रवासमा बसेर पनि उनले नेपाली भाषा, संस्कृति र संगीतप्रति आफ्नो माया र समर्पणलाई निरन्तरता दिँदै आएका छन्। भुषालले आधुनिक तथा लोक–पप शैलीका गीतहरू लेख्ने र आफैँ गाउने गर्दै आएका छन्, जसले उनलाई प्रवासी नेपाली कलाकारहरूको भीडमा अलग पहिचान दिलाएको छ।
प्रवासमा रहँदै पनि उनले थुप्रै नेपाली आधुनिक तथा लोक–पप गीतहरू युट्युबमार्फत सार्वजनिक गरेका छन्। उनका सिर्जनाहरूले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिको सम्झना दिलाउने मात्र होइन, नेपाली संगीतप्रति आकर्षण पनि बढाइरहेको छ। 'माया बस्यो लौ तिमी सँगै' गीत पनि त्यही श्रृंखलाको एक उत्कृष्ट प्रस्तुति हो, जसले प्रेम र भावनालाई केन्द्रमा राख्दै सरल तर प्रभावशाली ढंगले सन्देश दिन खोजेको छ।
प्रकाशित: १९ वैशाख २०८३ ११:५१ शनिबार



