१) मुक्तक
बाध्यताले दृष्टि गुमाएकाहरूलाई रोसनी ल्याउँछु
एउटा होइन दुईटा होइन पुग्नेगरी गनीगनी ल्याउँछु
पटकपटक मुर्छा र चेष्टा हुने यो समाजका लागि
म हनुमान हुँ एउटा, खोजेर सन्जिवनी ल्याउँछु।
२) मुक्तक
खोलाको पानी, बितेको समय उस्तैउस्तै हुन्छ
बुद्धिमानी भन्नु कि मूर्ख, जो सम्झीसम्झी रुन्छ,
स्वघोषित बुद्धिमानी, बुद्धिजति घुच्चुकमा भएझैं
घर चोरी हिजो भयो आज झ्यालढोका थुन्छ।
३) मुक्तक
कहिले गोरेले खान्छ कहिले कालेले खान्छ
भरे खान राखेको भाग बाठो खालेले खान्छ
एउटा ठूलो तपेसमा फिजाएको साझा चारो
निर्धाहरूलाई ठुंगीठुंगी रातो भालेले खान्छ।
४) मुक्तक
एक्लो भएँ, जंगलभित्र तिमीविना भएपछि
डराएछु, थाहा पाए पसिनापसिना भएपछि
कैले बोक्छन् कैले तौलन्छन् किन मलाई पेल्न खोज्छन्!
तोरी हुँ भन्ने बल्ल थाहा पाएँ आफैं पिना भएपछि।
५) मुक्तक
सोह्रै कौडा चित् पार्याे एकैचोटी अर्कैले
श्रीखण्ड बनायो चन्दन् घोटीघोटी अर्कैले
सिरुपाते खुकुरीमा कुटनीतिको धार लगाएर
आगो बाल्यो एउटाले सेक्छ रोटी अर्कैले।
बाबुराम पोखरेल
प्रकाशित: २४ कार्तिक २०८२ ०७:४८ सोमबार