बलिउड अभिनेत्री नोरा फतेही २०० करोड भारतीय रुपैयाँको कथित ठगी तथा जबरजस्ती रकम असुली प्रकरणमा बयान दिन शुक्रबार दिल्लीको राउज एभिन्यू अदालत पुगेकी छन्।
उनी यस मुद्दामा अभियुक्त नभई अभियोजन पक्षकी साक्षी हुन्। दैनिक भास्करका अनुसार अदालतमा बयान दिँदै नोराले सन् २०२० मा चेन्नईमा आयोजित एक च्यारिटी कार्यक्रममा सुकेश चन्द्रशेखरकी पत्नी लीना मारिया पलसँग भेट भएको बताइन्। उनलाई एक्सिड इन्टरटेनमेन्ट नामक एजेन्सीमार्फत कार्यक्रममा प्रमुख अतिथि र नृत्य प्रतियोगिताको निर्णायकका रूपमा बोलाइएको थियो।
नोराका अनुसार कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्। भेटका क्रममा लीनाले आफ्ना पति सुकेश नोरासँग कुरा गर्न चाहेको बताइन्। त्यसपछि उनले सुकेशलाई फोन गरेर स्पिकरमा राखेकी थिइन्। फोनमा सुकेशले चेन्नई आएकोमा नोरालाई धन्यवाद दिएका थिए।
साथै, आफ्नो परिवार नोराको प्रशंसक रहेको र भविष्यमा सँगै विभिन्न कार्यक्रममा सहभागी हुन सकिने बताएका थिए। कुराकानीकै क्रममा लीनाले नोरालाई कार उपहार दिने प्रस्ताव राखेकी थिइन्। सुकेशले पनि उक्त उपहार स्वीकार गर्न आग्रह गरेको नोराले अदालतमा बताइन्।
नोरा क्यानडाकी नागरिक हुन् भने उनको पुर्ख्यौली सम्बन्ध मोरक्कोसँग छ। उनी कामका लागि भिसा लिएर भारत आएको र आफ्नो कार्यक्रमको बुकिङ तथा भुक्तानी व्यवस्थापन कम्पनीमार्फत हुने गरेको पनि अदालतमा बताएकी छन्।
सुकेशमाथि सरकारी उच्च अधिकारीको नाम प्रयोग गर्दै र्यानब्याक्सीका पूर्व प्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहबाट करिब २०० करोड भारतीय रुपैयाँ असुलेको आरोप छ। अनुसन्धान एजेन्सीका अनुसार सुकेशले जेलभित्रैबाट सरकारी अधिकारीको रूपमा फोन गरी शिविन्दरलाई जेलबाट छुटाउन सक्ने आश्वासन दिएका थिए। सन् २०२० देखि २०२१ को बीचमा विभिन्न किस्तामा उक्त रकम असुलिएको आरोप छ।
यस प्रकरणमा सुकेशकी पत्नी लीना मारिया पलसहित अन्य व्यक्तिमाथि पनि अनुसन्धान भएको थियो। अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम पनि यस प्रकरणमा जोडिएको छ। उनी प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको मुद्दामा अभियुक्त हुन्। तर नोरा भने दिल्ली प्रहरीले दायर गरेको मुद्दामा अभियोजन पक्षकी साक्षीका रूपमा रहेकी छन्।
यसअघि अदालतमा उपस्थित नभएपछि नोरालाई अदालतले असन्तुष्टि जनाएको थियो। त्यसपछि उनी शुक्रबार उपस्थित भएर आफ्नो बयान दिएकी हुन्। मुद्दाको अर्को सुनुवाइ नोभेम्बर ३० मा हुने बताइएको छ।
प्रकाशित: २१ कार्तिक २०८३ १३:०७ शनिबार



