कला/साहित्य

सडकमा सुत्ने रहर कसैको हुँदैन

कैफियत

बेलायतजस्तो विकसित र सुविधायुक्त देशमा पनि मानिसहरू सडकको पेटीमा रात बिताउन बाध्य हुनु भनेको गम्भीर सामाजिक समस्या हो। घर नहुनु भनेको केवल छाना नहुनु मात्र होइन। कसैलाई पनि सडकमा सुत्ने रहर हुँदैन। यसका पछाडि थुप्रै कारणहरू हुन्छन्। महँगो घरभाडा, बेरोजगारी, मानसिक तनाव, लागुऔषध वा मदिराको लत, पारिवारिक सम्बन्धविच्छेद, जेलबाट निस्किएपछि आवासको अभाव र सामाजिक सुरक्षा प्रणालीको कमजोरीजस्ता जटिल कारण लुकेका हुन्छन्।

यो समस्यालाई लामो समयदेखि राजनीतिक प्राथमिकतामा राख्दै आएका नेताहरूमध्ये एन्डी बर्नहम एक हुन्। ग्रेटर म्यानचेस्टरका मेयर हुँदा उनले सडकमा सुत्ने मानिसलाई केवल ‘घर नभएको व्यक्ति’ मात्र नभई आवाससँगै स्वास्थ्य, रोजगारी र सामाजिक सहयोग आवश्यक पर्ने नागरिकका रूपमा हेर्नुपर्ने नीति ल्याए। म्यानचेस्टरमा गरिएको यही सफल प्रयोग अहिले राष्ट्रिय स्तरको योजनाको आधार बनेको छ।

सन् २०१८ मा बर्नहमको नेतृत्वमा ग्रेटर म्यानचेस्टरमा ‘हरेक रात एउटा ओछ्यान’ कार्यक्रम सुरु गरियो। यसको मुख्य लक्ष्य सडकमा बस्ने वा तत्काल घरको खाँचो भएका मानिसलाई हरेक रात सुरक्षित ओछ्यान, खाना, नुहाउने सुविधा, स्वास्थ्य सेवा र आवश्यक सामाजिक सहयोग उपलब्ध गराउनु थियो।

म्यानचेस्टरका १० वटा स्थानीय निकायलाई एउटै अभियानमा जोडेर सञ्चालन गरिएको यो कार्यक्रम केवल रात बिताउने ठाउँ दिने कुरामा मात्र सीमित थिएन। यसले मानिसलाई अस्थायी आश्रयबाट स्थायी घरसम्म पुर्‍याउने र उनीहरूका अन्य समस्या समाधान गर्ने लक्ष्य पनि राखेको थियो।

कार्यक्रम सुरु भएको केही महिनामै नौ सयभन्दा बढी मानिसले यसको लाभ पाए, जसमध्ये दुई सय ८५ जनाले स्थायी आवास प्राप्त गरे। त्यसपछि यो अभियान झनै विस्तार हुँदै गयो।

सन् २०१९ सम्ममा एक हजार चार सय जनाभन्दा बढीले सहयोग पाए भने सन् २०२१ सम्ममा तीन हजार जनाभन्दा बढीलाई यस योजनाले समेटिसकेको थियो। ग्रेटर म्यानचेस्टर संयुक्त प्राधिकरणका अनुसार उपलब्ध ओछ्यानको संख्या पाँच सय २० बाट बढाएर ६ सय ३० पुर्‍याइयो र सोही अवधिमा सडकमा सुत्ने मानिसको संख्यामा ५७ प्रतिशतले गिरावट आयो।

यसको प्रभाव तथ्यांकमा पनि स्पष्ट देखियो। नोभेम्बर २०१८ मा ग्रेटर म्यानचेस्टरमा एक रातमा सडकमा सुत्ने मानिसको संख्या दुई सय ४१ थियो, जुन नोभेम्बर २०१९ मा घटेर एक सय ५१ मा झर्‍यो अर्थात् एक वर्षमै ३७ प्रतिशतको कमी आयो। म्यानचेस्टर सहरमा पनि यो अवस्था उल्लेख्य रूपमा सुधारियो तर एक रातमा सडकमा भेटिने मानिसको संख्या हेरेर मात्र घरविहीनताको पूर्ण अवस्था थाहा पाउन सकिँदैन किनकि धेरै मानिस अस्थायी आश्रय, साथीभाइ वा आफन्तको घरमा पनि बसिरहेका हुन सक्छन्। बर्नहमको अर्को महत्त्वपूर्ण सोच ‘पहिले आवास’को अवधारणा हो। यसको मर्म एकदमै सरल छ - मानिसलाई पहिले सुरक्षित घर देऊ अनि उसको जीवन सुधार्न मद्दत गर।

म्यानचेस्टरको अनुभवले के पनि सिकाउँछ भने सडकमा सुत्ने मानिसको संख्या घट्दैमा घरविहीनताको समस्या पूरै सकिँदैन। म्यानचेस्टर नगर परिषद्का अनुसार सन् २०२१–२२ मा ६ हजार ६ सय ६० वटा घरविहीनतासम्बन्धी आवेदन दर्ता भएका थिए।

अब यही अनुभवलाई बर्नहमले राष्ट्रिय स्तरमा लैजाने तयारी गरिरहेका छन्। एन्डी बर्नहमले सन् २०२६ को क्रिसमससम्म इङ्ल्यान्डमा सडकमा सुत्न बाध्य भएका मानिसहरूलाई सडकबाट बाहिर ल्याउने महत्त्वाकांक्षी अभियान अघि सारेका छन्। पछिल्लो सरकारी गणनाअनुसार सन् २०२५ को शरद् ऋतुमा इङ्ल्यान्डभरि एक रातको चार हजार सात सय ९३ जना मानिस सडकमा सुतिरहेको अवस्थामा भेटिएका थिए, जुन अहिलेसम्मकै उच्च संख्या हो।

सन् २०२६ को तथ्यांक हेर्दा पछिल्लो उपलब्ध सरकारी तथ्यांकअनुसार जनवरीदेखि मार्च २०२६ सम्मको अवधिमा इङ्ल्यान्डमा एकै रात सडकमा सुतिरहेका मानिसको अनुमानित संख्या तीन हजार चार सय ६१ रहेको छ। यो संख्या सन् २०२५ को डिसेम्बरको तुलनामा २ प्रतिशत कम भए पनि सन् २०२५ को मार्चको तुलनामा १ प्रतिशत बढी हो। त्यही जनवरीदेखि मार्चसम्मको तीन महिनाको अवधिमा भने कुल सात हजार पाँच सय ४१ जना मानिस कुनै न कुनै समयमा सडकमा सुतिरहेको अनुमान गरिएको छ। यस अभियानका लागि करिब ४४ करोड २० लाख पाउन्डको बजेट छुट्याइएको छ र थप १० करोड २० लाख पाउन्डको पनि घोषणा गरिएको छ। यो योजना केवल मानिसलाई सडकबाट हटाउने मात्र होइन, उनीहरूलाई सुरक्षित घरमा राखेर आवश्यक स्वास्थ्य र सामाजिक सेवा प्रदान गर्ने हो।

यस योजनाको अर्को महत्त्वपूर्ण पाटो भनेको स्थानीय सरकारमार्फत करिब एक हजार वटा घर सकेसम्म छिटो खरिद गर्ने रहेको छ। यसले मानिसहरूलाई अस्थायी आश्रयमा मात्र सीमित नराखी स्थायी घर दिन सकियोस् भन्ने लक्ष्य लिएको छ। ‘हरेक रात एउटा ओछ्यान’ कार्यक्रमले ‘आज रात कहाँ सुत्ने?’ भन्ने तत्कालको प्रश्नको समाधान दियो भने ‘पहिले आवास’को अवधारणाले ‘अब स्थायी रूपमा कहाँ बस्ने?’ भन्ने दीर्घकालीन प्रश्नको उत्तर खोज्छ।

यही प्रसंग नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छ। नेपालमा बेलायतका जस्तो व्यापक सरकारी आवास वा सामाजिक सुरक्षा प्रणाली छैन तैपनि सडकमा आश्रयविहीन रहेका मानिसलाई उद्धार गरी सुरक्षित आवास, खाना र स्वास्थ्योपचार उपलब्ध गराउने तथा सम्भव भएसम्म उनीहरूलाई परिवारमा पुनर्मिलन गराउने काम विभिन्न सामाजिक संस्थाले गरिरहेका छन्।

सीमित स्रोत र साधनका बाबजुद पनि यी संस्थाले सडकका मानिसलाई उद्धार गरी एउटा घरजस्तो वातावरण प्रदान गर्ने प्रयास गरिरहेका छन्, जुन नेपाली समाजको मानवीय संवेदनाको सुन्दर उदाहरण हो।

सडकमा आश्रयविहीन मानिसको समस्या केवल सामाजिक संस्थाहरूको प्रयासले मात्र सुल्झिन सक्दैन। यो राज्यको पनि प्रत्यक्ष जिम्मेवारी हो। सरकारले यस्ता संस्थालाई आर्थिक सहयोग, स्वास्थ्य सेवा, आवासका लागि जग्गा र पूर्वाधार, आवश्यक जनशक्ति र पुनस्र्थापनाका कार्यक्रमहरू उपलब्ध गराउन सके उनीहरूको काम अझ प्रभावकारी बन्न सक्छ।

नेपालमा पनि विभिन्न सामाजिक संस्थाले सुरु गरेको यो प्रयासलाई सरकारले त्यस्तै सहकार्यको दृष्टिकोणबाट हेर्नु आवश्यक छ। सडकमा भेटिएका मानिसलाई केवल उद्धार गरेर आश्रममा राख्नु नै अन्तिम समाधान होइन। उनीहरूको परिवार खोज्ने, पुनर्मिलन गराउने, उपचार गर्ने, सिप सिकाउने र दीर्घकालीन रूपमा सुरक्षित आवासको व्यवस्था गर्ने नीति बनाउनुपर्छ।

सडकमा बस्न बाध्य मानिसहरू पनि राज्यकै नागरिक हुन्। उनीहरूको अवस्थालाई केवल व्यक्तिगत असफलताको परिणाम भनेर पन्छिनु राज्य र समाज दुवैको कमजोरी हो। त्यसैले नेपाल सरकारले सेवामा समर्पित सामाजिक संस्थाले गरिरहेको कामलाई थप व्यवस्थित, संस्थागत र दीर्घकालीन बनाउन आवश्यक आर्थिक तथा नीतिगत सहयोग गर्नुपर्छ।

सरकारको स्रोत, सामाजिक संस्थाको अनुभव र नागरिक समाजको मानवीय भावनालाई एउटै सूत्रमा बाँध्न सकियो भने सडकमा आश्रयविहीन मानिसहरूको समस्या क्रमशः समाधान हुन सक्छ। जब सरकार र समाज एकै ठाउँमा मिलेर उभिनेछन्, तब सडकमा जीवन बिताउन बाध्य मानिसका लागि ‘आश्रय’ मात्र होइन, वास्तवमै एउटा ‘घर’ र सम्मानपूर्ण जीवनको ढोका खुल्नेछ।

प्रकाशित: १७ आश्विन २०८३ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App