विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। स्वर सङ्गम सङ्गीतालयको सभाहलमा कार्यक्रमको आयोजना गरेर उक्त कार्यक्रम भएको हो।
कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्वर सङ्गम सङ्गीतालयका गुरु कुशेश्वर राई, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
लेखक तथा अनुसन्धातासमेत रहेका कार्यक्रममा प्रमुख अतिथि विरहीले स्रष्टाले कुनै राजनीति पार्टी परस्त भएर कलम चलाउन नहुने, स्रष्टा/कलाकारहरू सबैको साझा भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए। राजनीतिले फोडेको समाजलाई साहित्यले जोड्ने बताउँदै आफूहरू कोसी साहित्य–कला परिषद् नेपालका माध्यमबाट सोही अभियान लागेको बताए।
संस्थाका अध्यक्ष डोमी कामतको अध्यक्षता मैथिल स्रष्टा शिवनारायण सिङ्गलको सञ्चालनमा भएकाे कार्यक्रममा अंशुकुमार गुप्ता, किरण अञ्जान, उद्धव केसी, कुमार श्रेष्ठ, भूपाल अधिकारी, गोविन्द भगत, सुजता राई, दीपक सम्चू, भवानीप्रसाद पोखरेल, सङ्गीता कर्ण, चूडामणि घिमिरे ‘गोपाल’, प्रिन्स प्रमोदकुमार ढकाल, गोपाल निर्भीक, भीम कोइराला, शम्भु भट्टराई, नवराज पोखरेल ‘नवशिला’, कर्ण सञ्जय, सपना यादव लगायतका स्रष्टाहरूले रचना वाचेका थिए।
प्रकाशित: १२ आश्विन २०८२ ०७:२९ आइतबार