गायक, सङ्गीतकार एवं गीतकारका रूपमा परिचित एक व्यक्ति जो पछि स्वयं एक युग बने, तिनको नाम हो– मित्रसेन। मित्रसेनको पूरा नाम थर जोड्दा कुल इतिहास एउटा सिपाही परिवारसित जोडिन्छ र जोडिन्छ एउटा अनन्त इतिहास नेपाल र नेपालीको, जो विदेश गएर परायाभूमिमा देश सम्झेर बाँचिरहन्छन्।
त्यसरी नै बित्थ्यो होला मित्रसेनको जीवन तर उनले आफूलाई नेपाल र नेपालीसित आगामी विगतसम्म जोडे, गीतसङ्गीत, रचना र अभिनयका भाव भङ्गिमामार्फत।
मित्रसेन सङ्गीतमा नआएको भए वा रचनालोकमा अवतरण नगरेको भए भारतीय नेपाली समाजमा विचारको परिवर्तन हुने थिएन, भारतमा रहेका नेपालीमा नेपाली भाषा, गीतसङ्गीत वा गायनमा आकर्षण फर्किने थिएन। मित्रसेन नै पहिला व्यक्ति हुन्, जसले भारतको राष्ट्रिय प्रसारणमा नेपाली गीतलाई गोर्खे गीत भनेर प्रसारण गरे। उनले भारतमै बसेर नेपाली सङ्गीतको आलोकलाई जगाए।
मित्रसेन सच्चा अर्थमा नेपाली जातिका प्रथम वाग्गेयकार थिए, वाग्गेयकार जो वाक् र गेय दुवैमा पक्का थिए । यसअगि आएका गायक सेतुराम श्रेष्ठ गायन र सङ्गीतमा थिए, उस्ताद् भगतकृष्ण मानन्धर, उस्ताद् आशागोपाल गुरुवाचार्य, उस्ताद् बद्री वा उस्ताद साहिँला सबै साधक थिए। मित्रसेन चतुर्मुखी थिए– गायन, सङ्गीत, रचना र अभिनय। उनका गीत आफैंमा एक सानो नाटक वा प्रहर्सनजस्ता, कथा वा कविताको मञ्चनजस्ता।
गायनबाहेक उनको रचना पक्षमा जातीय जागरण, भाषागत अभिमत अनि काव्यिक चेतना त थियो नै। त्यसका साथै उनी गीतमा स्थानीयता, यात्रागत अनुभव अनि स्थान परिवेशबारे भव्य जानकारी दिन्थे।
उनको लोकप्रिय गीत ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले’ बोलको गीतमा उनले नातागत सम्बन्ध र पारिवारिक झमेलाबाहेक स्थान परिचय दिएका छन्, जुम्ला र सिमलाको। यो उनको खुबी नभएर निर्वैयक्तिक परिचय हो, जुन त्यतिबेलाका स्रष्टामा विरलै पाइन्थ्यो।
उनको अर्को गीत जुन सर्वाधिक लोकप्रिय मानिन्छ– ‘तानसेनको शीतलपाटी’।
नेपालको पश्चिमी भूभागको अपेक्षाकृत सानो सहर पाल्पाको तानसेनबारे कथा, कविता, नाटक नलेखिएको बेला वाग्गेयकार मित्रसेनले लेखे– बिचबजारको त्यो पाटीको कथा। जो सर्वाधिक चर्चित भयो। त्यसपछि त्यस पाटीबारे जनकवि धर्मराज थापा, गायक झलकमान गन्धर्व आदिले पनि गाए। आज पनि त्यो गीतले गर्दा त्यो स्थान लोकप्रिय छ।
भविष्यमा रहने एउटै चिज हो– स्मृति। मित्रसेनले पाल्पाको तानसेन अनि तानसेनको शीतलापाटीको कथा प्रतिविम्बित गरिदिए।
गीतमा स्थान र परिवेश जोड्न सक्ने मित्रसेनले ‘होमसाले पेमा होम’मा भाषागत रूपमा सीमान्तकृत जातिलाई समेटेका छन्। गीत नेपाली भाषामा गाए पनि उनले सङ्गीत रचनाको अर्को पक्षबाट नेपाली मूलबाट बाहिरको एउटा भावमय रचनालाई भित्र्याएका छन्, जसलाई मूलतः सीमान्तकृत सङ्गीत भनियो। यस्तो प्रयोग नेपाली सङ्गीतमा आजसम्म विरलै भएको छ।
मित्रसेनले यो त्यहीबेला गरेको एउटा अहं काम हो। कर्मका हिसाबले यो एउटा साधकको साधना मात्र हो, तर योगदानका हिसाबले उनले समाजलाई छोडेको सिर्जनशील कर्म हामी सय वर्षपछि आज चर्चा गर्दै छौं।
मित्रसेनले गीतमा क्वाइन (आविष्कृति नै भन्नुपर्छ) गरेका शब्द ‘खुत्रुक्कै, होमसाले पेमा होम्, रेलीमाई’ आदि हुन्। रेलिमाई शब्द त मित्रसेनकै कारण नेपाली शब्दकोशको खजाना हुन पुग्यो।
‘होमसाले पेमा होम’ले दार्जिलिङलाई त्यो बेला हुरुक्कै उचाल्यो भनेर साहित्यकार इन्द्रबहादुर राईले लेखेको कुरा स्मृतिमा राख्दै यति भन्न कर लाग्छ, उनले नेपाली जो जहाँ छन्, सबैलाई जगाएका छन्।
‘बटौलीको बजारमा लाहा छ कि छैन साइँला
पिरतीले नेटो काट्यो थाह छ कि छैन।
एउटो घर त लमजुङ
अर्को घर त राम्चे
प्रीति लाउने कहाँ छ कहाँ छ
बगली पो छाम्छे
ढुङ्गाको गारो, ढुङ्गाको छानो
भोटेको दरबार’
त्यो एउटा भव्य, सभ्य र दिव्य अभियान थियो। पछि यो काम जनकवि धर्मराज थापाले पनि गरे।
मित्रसेनले आफ्नो गीतमा समय र सत्तालाई सदैव चित्रण गरेका छन्, त्यो दोस्रो पक्ष हो। उनी फौजी पृष्ठभूमिबाट आएको भए पनि भाषामा उनको पकड अनि राजनीतिक चेतना बिछट्टै खालको थियो। शब्द शब्द केलाएर हेर्ने हो भने उनको गीतमा समयको तस्बिर अनि सत्ताको स्थिति देखिन्छ।
राणाकालमा उनले गाएका गीतमा त्यति स्वतन्त्रता पाइँदैनथ्यो, जति लेखनीय रूपमा पाइन्थ्यो। उनले गाएर भनेका कुरा केही अर्थमा छापाभन्दा कडा भए। उनले लाहुरेका बारेमा गाएको गीतमा त्यति बेलाको फेसन, धनदौलतको आह्वान अनि उनका मोजमस्तीका कुरा बिटबिटमा देखिन्थे।
उनको गायकीको खुबी के थियो भने उनी चरित्र चित्रण गर्न पनि माहिर थिए। उनको त्यो शैलीलाई पछ्याएर पछि पुष्प नेपाली र गोपाल योञ्जनले ‘मरिगए रेलीमाई दैवको काखमा’ बोलको गीतमा त्यो झलक देखिन्छ।
मित्रसेन र उनको समयको कुरा गर्दा उनका सहकर्मी बहादुरसिंह बरालको पनि योगदान भुल्न सकिँदैन। बरालका ‘ट्रेजेडी सङ’लाई उनले ठिक न्यायपूर्ण ढङ्गले बाँचेका थिए।
मित्रसेनको शैलीको गायन पछिसम्म कायमै रह्यो तर उनका छोरा दिग्विजय सेनले पनि यसलाई निरन्तरता दिएका थिए।
मित्रसेनको गीतलाई पछ्याएर गोपाल योञ्जनले ‘कान्छी’ फिल्ममा ‘फरियालाई भुइँमा लतारी’ गाए भने मित्रसेनकै गीत गाएर चलचित्र ‘प्रेमपिण्ड’मा सङ्गीतकार शम्भुजित बासकोटाले एक अनुसेवीका रूपमा परिचय दिएका छन्।
यादव खरेलद्वारा निर्देशित फिल्म ‘प्रेमपिण्ड’मा राणाकालको दरबारमा सिकाइने गीतमा मित्रसेनको गीत प्रयोग गरेको देखाइएको छ।
मित्रसेनको ख्याति अझै कायमै छ। गत महिना मंसिरमा काठमाडौंको नेपाल पर्यटन बोर्डमा काठमाडौं महानगरपालिका वडा नम्बर २७ ले आयोजना गरेको ‘सेतुराम श्रेष्ठ, उनका उत्तरवर्ती गायकगायिका’ नामक कार्यक्रममा गायक शैलेश सिंहले मित्रसेनका गीत प्रस्तुत गरेर उचाइ थपेका थिए।
उस्ताद् साहिँला र मित्रसेनका गीत सबलतापूर्वक गाउन सक्ने गायक शैलेश सिंहले यसअघि म्युजिक नेपालको प्रस्तुतिमा पनि मित्रसेनका गीत गाइसकेका थिए।
मित्रसेनको गायकी, गायनमा आएको परिवर्तन आजको समयमा पनि एक झलकका रूपमा हेर्ने हो भने हाम्रो सङ्गीत भाषागत रूपले मित्रसेनले बनाएको बाटोमा नै स्थिर छ, अटल छ।
मित्रसेनका केही लोकप्रिय गीतहरू
–‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले’
–‘अब त जाऊँ कान्छी घर’
–‘स्वामी नजाऊ छाडी विदेश’
–‘होम साले होमे पेमे
चोचो लाला रङ्गी साइँली, चोचो रङ्गी साइँली’
–‘हेर कति लाटी, म दिदै कति लाटी
लोग्नेले भन्नुभो’
–लेखक सायमीले आफ्नो निबन्धकृति ‘बर्सादी दिनहरू’मा मास्टर मित्रसेनबारे विशेष लेख लेखेका छन् भने ‘नेपाली सङ्गीतको स्वर्णिम युग’मा समेत मित्रसेनबारे विशेष चर्चा गरेका छन्।
प्रकाशित: १२ पुस २०८२ ११:०७ शनिबार



