‘सुनिस्यो न पापा!’ ङिच्च दाँत देखाउँदै छोरीले चापलुसी स्वर निकाली।
‘के भो नानी?’ छोरीको बाउ सशंकित भए।
‘मेरो जाडोमा लाउने लुगा भएन। आज किन्न जाऊँ है।’ अनुरोध गरी।
‘हैन पोहोर साल मात्र त्यत्रा विधि लुगा किनेकी हैन? एक वर्ष पनि भा'छैन त! तिनै लगाए हुन्न?’ बाउ अलि कड्किए।
छोरीले कडा भाषा बोलिन्, ‘लौ, अब हजुर बूढो भैसकिस्यो। जमाना कहाँबाट कहाँ पुगिसक्यो। पोहोर लाएका लुगा हामीले अहिले लाउन मिल्छ? कति नयाँ नयाँ डिजाइनहरू आइसके। सबै साथी अनलाइन अडर गर्छन् र फेरि फेरि लाउँछन्। लुगा मात्र हो र, नयाँनयाँ ग्याजेट्स, जुत्ता, चश्मादेखि लिएर फरकफरक रेस्टुरेन्टहरूमा खानपिन गर्ने र थिएटरमा गएर मुभी हेर्नेसम्मका कुरा गर्छन्। मैले अरू कुरा माग गरेकी छैन तर न्यानो लुगा पनि लाउन नपाउनु?’
‘हैन, के भा' हुन्? आजकलका यी केटाकेटी? पैसा त रुखमै फल्छ जस्तो गर्छन्। पोहोर किनेको लुगा त्यो पनि जाडोमा मात्र लाउने लुगा यो साल लाउन न हुने हुन्छ त?’ सँगै बसेकी आमाले छोरीको कुरामा असहमति प्रकट गरिन्।
उनी विरक्तिएर बोले, ‘यो सबै आधुनिक अर्थशास्त्रीहरूको खेल हो बुढी! यस्ता कुरामा हाम्रो पुस्ताको खास केही चल्नेवाला छैन।’
‘कसरी?’ श्रीमतीले आँखीभौं उठाइन्।
उनले पुर्पुरामा हात राखेर भने, ‘तिनले बजारलाई चुम्बक र मान्छेलाई फलाम बनाएका छन्।’
प्रकाशित: २८ जेष्ठ २०८३ १०:०६ बिहीबार