कला/साहित्य

प्रधानमन्त्रीले ‘राष्ट्रघाती अभिव्यक्ति’ दिएको भन्दै ज्योति मगर आक्रोशित

फाइल तस्बिर

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्तिलाई गायिका ज्योति मगरले ‘राष्ट्रघाती’को संज्ञा दिएकी छन्।

आइतबारको संसद् बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेर दिएको बयानप्रति उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन्।

उनले लेखेकी छन्, 'देश जलाउने, न्यायालय जलाउने, सार्वभौमिकता र स्वाधीनता जलाउने देशद्रोहीबाट यस्तै राष्ट्रघाती अभिव्यक्तिको आशा थियो, जुन बिस्तारै प्रमाणित हुँदैछ।'

उनले सिक्किम र दार्जिलिङमा बस्ने नेपाली भाषी राई, लिम्बू, गुरुङ र मगरहरूलाई नेपालप्रति माया भएजस्तै देशद्रोहीहरूलाई भारतको माया लाग्नु स्वाभाविक भएको भन्दै कटाक्ष गरेकी छन्। जहाँ बसोबास गरे पनि आफ्नो पुर्खाको धर्म, संस्कार र रगत शरीरमै हुने उल्लेख गर्दै उनले नेपालीहरूको 'चिम्सो आँखा' ले त्यो कुरा देख्न नसकेको बताएकी छन्।

मगरले संसद् र प्रधानमन्त्रीका समर्थकहरूलाई व्यङ्ग्य गर्दै लेखेकी छन्, 'घन्टे सांसदहरू च्याट जिपिटीमा खोज्दै होलान् सिमाना मिचेको क्षेत्रहरू। घन्टे भक्तहरू खोक्रो राष्ट्रवाद भनेर डिफेन्समा उत्रिँदैछन्, कठै यिनीहरूको चेतना स्तर!'

यसअघि उनले व्यङ्ग्यात्मक रूपमा 'जय हिन्द', 'जय बालेन सरकार', 'नेपालले मिचेको भारतको जमिन चाँडै फिर्ता होस्' र 'बन्दे मातरम्' लेखेर आफ्नो असन्तुष्टि पोखेकी थिइन्।

विवादपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले भन्न खोजेको कुरा दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग मात्र सम्बन्धित रहेको भन्दै बचाउ गरेको थियो।

प्रकाशित: १८ जेष्ठ २०८३ १३:३० सोमबार