आध्यात्मिक कथा वाचनमार्फत दर्शक–श्रोतामाझ परिचित नाम हुन् साईग्रेस पोखरेल। कथा वाचनमा उनी केवल धार्मिक प्रसंग मात्र प्रस्तुत गर्दैनन्, मानवता, संस्कार, भक्ति र जीवनका गहिरा सन्देशलाई पनि सरल भाषामा अभिव्यक्त गर्छन्।
हाल स्पेनमा बसोबास गरिरहेका पोखरेलको कथा वाचन शैलीले सामाजिक सञ्जाल र युट्युबमा ठूलो दर्शकवर्ग बनाएको छ। उनी हालै ‘आ बाट आमा’मा रामको भूमिकामा पनि देखिएका थिए। प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीका सम्पादित अंशः
अहिले स्पेनमा हुनुहुन्छ, त्यहाँको अनुभव कस्तो छ ?
म स्पेनको अनुभवलाई सहज रूपमा लिन्छु, किनकि यहाँ बसेको झण्डै १० वर्ष भयो। अहिले त मलाई यहाँ घरजस्तै महसुस हुन्छ।
कथा वाचनतर्फ कसरी आकर्षित हुनुभयो ?
मलाई कथा वाचनमा प्रेरित गर्ने मुख्य शक्ति भगवान् श्री सत्य साई बाबा हुनुहुन्छ। आध्यात्मिक कथा भन्ने–सुन्ने अभ्यास बिस्तारै जीवनको हिस्सा बन्यो। सानैदेखि बुवाले कथा सुनाउनुहुन्थ्यो, त्यसले झन् रुचि बढायो।
जीवनको पहिलो अन्तर्वार्ताको अनुभव कस्तो थियो ?
मैले पहिलोपटक एउटा म्युजिक भिडियो निर्देशन गरेपछि अन्तर्वार्ता दिएको थिएँ। त्यो २०१३/१४ तिरको कुरा हो। तर त्यो अन्तर्वार्ता प्रसारण भएन, त्यसैले अलि तितो अनुभव रह्यो। पछि ‘लभ स्टोरी’ कथा वाचन चर्चित भएपछि २०२० तिर एउटा अन्तर्वार्ता प्रसारण भयो। त्यसपछि धेरैले प्रतिक्रिया दिनुभयो, सेयर गर्नुभयो। त्यो मेरो कामलाई चिनाउने एउटा मोडजस्तै बन्यो।
आफ्नो स्वभावमा सुधार गर्नुपर्ने एउटा कुरा के लाग्छ ?
म मानिसमाथि धेरै छिटो विश्वास गर्छु। त्यसबाट जीवनमा धेरै पटक पाठ पनि सिकेको छु। कसैमाथि तुरुन्त विश्वास गर्नु हुँदैन भन्ने थाहा छ, तर मनले सजिलै मान्दैन।
भविष्यको लक्ष्य के छ ?
आगामी दिनमा यस्तो भूमिका निर्वाह गर्न चाहन्छु, जसले अरूलाई सहयोग पुर्याओस्। मेरो काममार्फत कसैलाई सकारात्मक ऊर्जा र प्रेरणा मिलोस् भन्ने चाहना छ।
‘आ बाट आमा’ चलचित्रमा रामको भूमिका निभाउन कसरी तयार हुनुभयो ?
निर्देशकले कथा सुनाउँदा नै भन्नुभएको थियो- ‘तपाईं जस्तो हुनुहुन्छ, यही पात्र पनि त्यस्तै हो।’ त्यसैले धेरै कृत्रिम तयारी गर्नुपरेन। तर अभिनयलाई अझ बुझ्न टेलिभिजन र अन्य माध्यमबाट विभिन्न शैली हेरेर अभ्यास भने गरेको थिएँ।
भविष्यमा कस्ता भूमिका गर्न चाहनुहुन्छ ?
मलाई युवापुस्ताले आफूलाई जोड्न सक्ने खालका विषयमा काम गर्न मन छ। विशेषगरी अहिलेका युवाले ‘रिलेट’ गर्न सक्ने चलचित्र र कथावस्तुमा अभिनय गर्ने इच्छा छ।
प्रकाशित: २५ वैशाख २०८३ २१:२४ शुक्रबार