काँधमा शब्दको लास बोकेर हिँड्छन्,
र भन्छन् - म त शब्दको सृष्टिकर्ता हुँ!
नीलो आकाशमा रङ्ग बदल्ने किरणहरूझैँ,
क्षणक्षणमा बदलिन्छ उनीहरूको रूप,
र पर्दापछाडि बसेर आफैँले आफैँलाई,
घोषणा गर्छन् - म त कविताको 'भीष्म पितामह' हुँ!
आफ्नै उचाइको कल्पित धरहरा बनाएर,
अरूको आयतन नाप्न औँला ठड्याउँछन् उनीहरू,
सभ्यताका लामा र गहकिला प्रश्नहरू सोध्छन्,
जसको उत्तर आफ्नै जीवनको पानामा कतै छैन।
भर्खरै औँला समातेर हिँड्न खोज्ने,
ती कलिला, नवजात कविहरूमाथि,
आफ्नो घमण्ड र अहङ्कारको पहिरो खसाउँछन्,
र तिनको सुन्दर यात्रालाई विस्थापित गराउन खोज्छन्।
कस्तो विडम्बना!
उनीहरू कविता लेख्छन्, तर कवितालाई माया गर्दैनन्,
उनीहरू शब्द बोक्छन्, तर शब्दकै अपमान गरिरहन्छन्।
योभन्दा ठुलो कटुता के हुन सक्छ र समयको?
जहाँ चेतनाको बजार त सजाइएको छ,
तर पसलेसँग आफ्नै चेतनाको कत्ति पनि अंश छैन।
सपनाहरूको विराट क्षितिजको अगाडि,
जब उनीहरू 'पितामह' बनेर उभिन्छन्,
तब उनीहरूले कुदाएका कल्पनाका घोडाहरू,
लङ्गडा र दिशाहीन भएर ढल्छन्।
आफैँले बनाएको त्यो सृष्टिको घोडामै,
खुट्टा छ कि छैन - उनीहरूलाई पत्तै छैन,
किनकि उनीहरू कवि त हुन्, तर कवित्व कतै छैन!
तिमी अहङ्कारको सिंहासनमा बसिरहूँ 'पितामह',
मौनताका ती प्रश्नहरूले एकदिन तिमीलाई नै घेर्नेछन्।
शब्दका ती अदृश्य आँसुहरूले,
तिमीले बनाएको त्यो अग्लो उचाइलाई पगाल्नेछन्।
घाम र जून साक्षी छन् यो समयको,
कवि हुनुको अहम् पालेर बाच्नेहरू,
समयको नदीमा बालुवा झैँ बगेर जानेछन्,
र बाँच्नेछन् त केवल ती निश्छल शब्दहरू,
जसलाई तिमीले सधैँ विस्थापित गर्न खोज्यौ।
- भरतपुर,चितवन
प्रकाशित: २७ असार २०८३ ०९:४९ शनिबार



