मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ निर्माण टिम प्रचारको लागि चितवन पुगेको छ। चितवन निर्देशक एकता पौडेलको गृहनगर समेत हो। त्यसैले पनि उनी चितवनका विभिन्न स्कुल, कलेजदेखि मेलामहोत्सवसम्म पुगेर सिनेमाको व्यापक प्रचार गर्दै छिन्।
यो सिनेमाको टिमले चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो। त्यसलगत्तै ग्लोरियस एकेडेमी स्कुल पुगेर विद्यार्थीलाई सिनेमाबारे जानकारी दिएको थियो। सिनेमाको टिम खेलकुद तथा वृहत व्यापारिक महोत्सव २०८२ मा पुगेर दर्शकसँग भेटघाट गर्नेछ।
निर्देशक एकता पौडेल, कलाकारहरू - वर्षा राउत, सन्तोष पन्त, साइमन वादी, कोरियोग्राफर सुनिल क्षेत्री लगायत चितवन पुगेर सिनेमाबारे जानकारी दिएका हुन्।
चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक एकता पौडेलले आफू चितवनको चेली भएकाले ‘हर्ष’ ले चितवनवासीको अपार माया पाउने बताइन्। ‘मैले धेरै मेहनत गरेर सिनेमा निर्माण गरेकाले सबैको साथसहयोग पाउने अपेक्षा छ।
यो सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतले ‘हर्ष’ एउटा पारिवारिक भएकाले सबैले मन पराउने विश्वास व्यक्त गरिन्।
कलाकार सन्तोष पन्तले महिला निर्देशकले मेहेनेत गरेर सुन्दर सिनेमा निर्माण गरेकाले सबैले हेरेर साथ दिन आग्रह गरेका थिए। कोरियोग्राफर सुनिल क्षेत्रीले सिनेमा राम्रो बनेको हुँदै चितवनमा आयोजित महोत्सवमा विशेष प्रस्तुति लिएर आफू उपस्थिति भएको बताए।
चितवनमा नै सम्पूर्ण छायांकन भएको सिनेमा ‘हर्ष’ का निर्देशक एकता पौडेल निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी हुन्। निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा बनाएकी थिइन्।
सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो। प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।
प्रकाशित: १ मंसिर २०८२ १०:५४ सोमबार