कला/साहित्य

डलर छाप्ने भवन

अनुभूति

‘तिस वर्ष करिब पुग्न लाग्यो भिनाजु, अमेरिकी मुद्रा छाप्ने ठाउँ पुगेको छैन, आज त्यही जाने,’ भाइ राजनको प्रस्तावलाई खुसीले समर्थन जनाएँ।  अमेरिकाका प्रत्येक राज्यमा दर्शनीय स्थलहरू यति धेरै छन्, जसबारे लेखेर साध्य छैन।

सलाइना डलासबाट बिहान ११ः३० बजे हामी प्रस्थान गर्‍यौं।  साला–भिना मात्र छौं गाडीमा।  २०५४ पुस १७ गते अध्ययनका क्रममा कान्छो सालो राजन खनाल अमेरिका आएको हिजोजस्तै लाग्छ।  ३० वर्ष लाग्न थालिसकेछ। कालो रङको गाडी हुइँकाए। सवारी चलाउन सजिलो पनि छ, यताको सडकको नियम बुझेमा। ठाउँठाउँमा कतिसम्म गाडी गुडाउने भन्नेबारे जानकारी दिएको हुन्छ। सिसिटिभी र नगरप्रहरीले सधैं निगरानी गरेका हुन्छन्।

घरको यादले भुत्तुक्कै भएका छन् राजन। २०४४ सालदेखि क्यासेट उत्पादन गर्दाको सम्झना गर्दै राजनले देउडा गीतका मौलिक भाका बजाए।  ती भाकालाई वरिष्ठ संगीतकार स्व. गणेश परियार र मदन परियारले मेहनतसाथ बाजा मिल्ने गरी संगीत संयोजन गरेका थिए। अमेरिकी भूमिमा तिनै गीत सुन्दै अघि बढ्यौं। झम्क्यो डालीमा, र्‍याट्टी र्‍याट्टी, ओ बाज झुम्य्रौली बाज, तेरी पेटीले मेरी कम्मर कस, गलबन्दीमा रातो धागो, साइगोला, रुप्स्या मेरिया, तँ आइगै डोटी है म आया बझाङबाट आदि गीत सुन्यौं।  सुदूरपश्चिमको भूमि र महाशंकर देवकोटालाई सम्झियौं। वान्नीका चैतली, छन्क्यानन्दकेश, छमक्क छमक्क, धानबाली पहेँलो भैग्योलगायत अरू चार वटा भाका सुन्न चाहना राखे राजनले तर भेटाएनौं।  उनले आफ्नै शब्द, संगीतको आफ्नै स्वरको गीत पनि सुनाए। आमाप्रतिको भक्तिभावको गीत २०५८ सालमा टेक्सासमै रेकर्ड गरेका रहेछन्। जुन बेला सासूआमा जीवित हुनुहुन्थ्यो।  गाडी चलाउँदा चलाउँदै भावुक देखिए राजन। म पनि दुवैजना (आमा गंगामती बझाङ र सासूआमा शान्ता खनाल, शान्ति गोरेटो, काठमाडौं) सम्झेर कल्पित भएँ। जिन्दगी हो, एक दिन त सबैले बाटो लाग्नैपर्छ।  त्यहीबिच वरिष्ठ गायक नरेन्द्र प्यासीको क्यालिफोर्नियाबाट फोन आयो।  गीतसंगीत सम्बन्धी कुरा चले।

कुरा गर्दैगर्दा र गीतहरू सुन्दै गर्दा गन्तव्यमा पुग्यौं। निकै ठुलो जमिनमा स्थापना गरिएको रहेछ डलर प्रिन्ट गर्ने छापाखाना। सुरक्षा व्यवस्था निकै कडा रहेछ। भित्र कोठामा मोबाइल लान नपाउने, घडी, बेल्ट, औंठी, सिक्का बास्केटमा राखेर मेसिनमा आफू उभिएर मात्र भित्र जान पाइने रहेछ। अन्तर्राष्ट्रिय एयरपोर्टमा जाँदा जाँचपास गरेझैं दुरुस्तै। सुरक्षाकर्मी छन् चारैतिर। उनीहरू कम्ब्याट ड्रेसमा थिए, पेस्तोल बोकेका उनीहरू काला, अग्ला, हेर्दै डर लाग्दा थिए। भित्र ३०–३५ वर्षे युवाले मेसिनबारे, डलर छाप्ने प्रावधानबारे आगन्तुकलाई जानकारी गराइरहेका थिए। भित्र प्रवेश गर्ने आगन्तुक कोठाबाट पुनः भित्री भाग प्रवेश गर्ने ढोकानेर दुई जना व्यक्ति उभिएका थिए। सामुन्य टेलिभिजन चलाउने जस्तै ह्यान्डसेट राखिएका छन्। सबै आगन्तुकले ती सामान लैजाने र अंक थिचेर सुन्नका लागि जानकारी पाइरहने रहेछ। एक किसिमले प्रशिक्षणजस्तो। ती सामान लिएर डिजिटल मेसिनबाट चेकिङ गरेपछि अवलोकन कक्षमा पुग्यौं। भुइँतलाका विभिन्न कक्षमा डलर छपाइसम्बन्धी भिन्दाभिन्दै काम भइराखेको छ। हामी हेडफोनबाट सुन्दै अवलोकन गरिरहेका छौं।  मैले अंग्रेजीमा बोलेको केही पनि बुझिनँ।  तिनै निर्जल खरेल बाबुको सहायता मागेँ। उनी ६ वर्ष पहिले सिआइएक (सूचना प्रविधि अध्ययन) पढ्नका लागि यता आएका रहेछन्।  निकै हँसिला र फरासिला निर्जलले आफ्नो समूह छाडेर पनि प्रत्येक कोठा–कक्षबाट छपाइसम्बन्धी मलाई जानकारी गराए। डलर छाप्नका लागि आठ वटा कक्ष रहेछन्।  प्रत्येकको आआफ्नो भूमिका त हुने नै भयो।  जसअनुसार– १ नं. कोठामा कामदारहरू कच्चा पदार्थ (मसिनो रेसमी कागज) मेसिनले पेलेर पानाको आकार दिने रहेछन्। आधुनिक मेसिन बिस्तारै चलिरहेको छ, कामदार ध्यानपूर्वक मेसिनमा कच्चा पदार्थ राखिरहेका छन्।

२ नं. कोठामा अफसेट प्रिन्टिङ प्रेस रहेछ। जसमा डलरको प्लेटिङ मिलाउने काम गरेको देख्यौं।  यसमा दुई भाग रहेछन्। ‘इन्टाग्लिओ’ (इटालियन शब्द) भनिँदो रहेछ अंक राख्ने भागलाई। यसमा क र ख गरी दुई भाग छुट्याइएका रहेछन्।  हरियो मसिनो आकार दिएको नोटको ब्याक साइडमा अंक दिएर, नोटका ससाना अक्षर राखी हरियो मसीले पोत्ने रहेछ त्यो मेसिनले।  कामदारले यसलाई घोत्लिएर हेरी मिलाउँदा रहेछन्। ख साइडको काम अगाडिको नोटको आकारमा पनि माथिको जस्तै गरी अंक उतार्ने र राष्ट्रपतिको तस्बिर तथा हस्ताक्षरमा हरियो मसीले जतनसाथ लेख्ने रहेछ। नोटको हरेक भागको छपाइमा उच्च सतर्कता अपनाउनुपर्ने त छँदै छ, यसमा विशेष निगरानी अपनाउनुपर्ने जानकारी गराउँछन् खरेल बाबु।

३ नं. कोठाको विशेषता फेरि उत्सुकताले भरिएको पाइयो। जसलाई उनीहरूको भाषामा ‘ब्ल्याक इन्टाग्लिओ’ भनिँदो रहेछ। यसले नोटको आकार दिने रहेछ।  एकदेखि सयसम्मका नोटका नकाटिएका भारीहरू मेसिनमा राखिएको देखियो। नोटमा देखिने अक्षरहरू एक–एक गरी छुट्याउने, अगाडि दिएको रङ अलिकति नमिलेको रहेछ, कथङ्कदाचित् अक्षर नबुझिने रहेछ भने यहाँ आएर मेसिनले आफैं सम्पूर्ण काम गर्दो रहेछ।

४ नं. कोठाको मेसिनमा पहिलो भागमा (नोटको अगाडिको भाग) छुटेको कुनै अंक वा अक्षर छन् भने मेसिनले आफैं अन्तिम रूपमा छाप्ने र जगरमा बस्ने रहेछन्।  जगर भनेका नोट अटाउने ससाना कोठा रहेछन्। यहाँ चार वटा जगर देखाइयो। सबैथरी डलरका नोटहरू यिनै जगरमा राख्ने, मसिनो रेसमीजस्तै कपडा मेसिनले पेल्ने, अनावश्यक कागज र फोहोर पदार्थ टाँसिएको रहेछ भने जगरको अन्तिम भागबाट हटाउने रहेछ।

५ नं. कोठाको मेसिन चलेको थिएन।  ६ र ७ नं. कोठाको काम मोबाइलले बताएअनुसार ठुला–ठुला बन्डललाई मेसिनले आकार दिएर काट्ने, प्याक गर्ने र फुत्तफुत्त बाहिर अर्को ठुलो मेसिनमा पठाउने काम गर्दो रहेछ। यसरी एकदेखि सयसम्मका डलरका नोटहरू मेसिनले छुट्याएर, कटिङ गरेर अरू बडेमानका कोठाहरूमा पठाउँदो रहेछ। ८ नं. कोठाको सिसा सेतो पदार्थले छोपेर राखिएको रहेछ, हेर्न दिएन।

यी नोटहरू एक वर्षमा एक बिलियन डलर छापिने रहेछन्। एक लटमा एक लाख २० हजार नोट छाप्ने अत्याधुनिक मेसिन एक सय ४४ फिट लामो रहेछ, जुन एउटै आकारको तर खण्ड–खण्ड पारिएको रहेछ।  वासिङ्टन डिसी र टेक्सासको यो ठाउँमा मात्र अमेरिकी डलर छापिने रहेछ। टेक्सासमा २ को नोट छापिने हुँदा वासिङ्टनभन्दा हामी अगाडि छौं भनी ठट्यौलो पारामा त्यहाँका एकजना व्यक्ति भन्दै थिए। यो अत्याधुनिक मेसिन करोडौं डलर मूल्यको रहेछ। त्यहाँ नौ सय कर्मचारी राष्ट्रको नाममा इमानदारीको कसम खाएर मात्र सेवा गर्दा रहेछन्। उच्च सतर्कता अपनाउनका लागि बेग्लै अत्याधुनिक मेसिन जडान गरिएका रहेछन्।  विशेष दक्षता भन्नु नै मेसिन चलाउन सिपालु र इमानदार हुनुपर्दो रहेछ।  पारिश्रमिक पनि विशेष हुँदोरहेछ उनीहरूको। सन् १८६२ देखि अमेरिकी डलर छाप्न सुरु गरिएको रहेछ। यी नोटमा कटन ६५ प्रतिशत र नाइलन २५ प्रतिशतबाट बनेका रहेछन्।

सामान बुझाएर हामी लिफ्टबाट तल्लो तलामा ओर्लियौं। आफ्नै देशमा यस्तो खालको प्रविधि हेर्न नसकेर खिन्न थिएँ।  बैसाखी टेकेर पनि जान सकिनँ। गोलघरजस्तै थियो, वरिपरि झन्डै एक घण्टाजति घुमिरहनु पर्दोरहेछ। अमेरिका, युरोप र एसियाका नागरिकहरू अवलोकन गर्न आएका देखिन्थे।  भुइँतलाको एक भागमा डिपार्टमेन्टल स्टोर रहेछ। राजनले त्यो स्टोरबाट तीन जोर तास लिएर आयो, नेपालमा बस्नुहुने ९३ वर्षीय पिताज्यू विजयकुमार खनालका लागि।

अवलोकनकर्तालाई ल्याउन जसरी आधुनिक १० सिटे टेम्पोमा एकजना महिलाले सेवा गरेकी थिइन्, अवलोकनपश्चात् पनि अर्की महिलाले टेम्पोमा गेटसम्म छोडिन्, जहाँ आगन्तुकहरूका मोबाइल राखिएका थिए। हामी निस्कँदा पानी पर्‍यो।  त्यो ऐतिहासिक भवनको तस्बिर बाहिरबाट पनि कैद गर्न सकिएन। सहयोगी भाइ निर्जल खरेललगायतको तस्बिर पनि लिन नपाउँदा खल्लो लाग्यो। बाहिरको बोर्डको तस्बिर गाडीको झ्यालबाट लिँदै आफ्नो गन्तव्यमा फर्कियौं।

बिच बाटोमा कफी पसल रहेछ, ओर्लियौं। गाडीमा फ्युल पनि हाल्यौं। डिपार्टमेन्टल स्टोर त बझाङ, छान्ना छोटाखेतका भाइ हरिश्चन्द्र उपाध्यायको पो रहेछ। एकछिन भलाकुसारी गर्‍यौं।  १४ वर्ष पहिले डिभी परेर यता आएका रहेछन् परिवारसहित। मनमा धेरै माया र सद्भाव बोकेर अपराह्न छोरीहरूको आधुनिक स्कुल, कलेज अवलोकन गरेर ६ः०० बजे घर पुग्यौं। 

प्रकाशित: २० असार २०८३ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App