कला/साहित्य

छनोट

लघुकथा

मनकामना मन्दिरको ढोका अगाडि एउटा ठूलो लाइन दर्शनार्थ लामबद्ध थियो। त्यहीँ भिडमा एउटा सानो बालक आफ्नो पिताजीको हात समातेर उभिएको थियो। उनीहरू मन्दिरको ढोका नजिक पुग्दै थिए। भित्रबाट पुजारीको आवाज सुनियो, ‘पापीहरू टाढै बस है। माता मनकामना रिसाइबक्सिन्छ।’

त्यो बालकले भित्रबाट आएको आवाज सुनेर ज्यादै उत्सुकताका साथ सोध्यो, ‘बुबा, त्योभित्र ती मान्छेलाई मन्दिरमा किन पस्न निदएको?’

पिताजीले विस्तारै भने, ‘त्यो त अशुद्ध मान्छे हो नि बाबु। त्यसलाई पाप लागेको छ।’

बालकले फेरि बालसुलभ जिज्ञासु भावमा सोध्यो, ‘पाप के हो बुबा? रगत बग्नु पाप हो?’

बुबाले हतारिएर तर अलिक अप्ठ्यारो मान्दै भने, ‘चुप लाग। यहाँ त्यस्तो कुरा गर्ने होइन।’

यत्तिकैमा मन्दिरको ढोका खुल्यो। पूजारी बाहिर निस्किए र एकजना धनी जस्तो लाग्ने भक्तलाई भित्र बोलाए। ती मानिसले भर्खरै एउटा कालो बडेमानको बोकाको बलि दिएर आएका थिए। त्यही बोकाको घाँटीबाट तातो रगत भुइँभरि पोखिएको थियो।

पुजारीले मुस्कुराउँदै भने, ‘लौ, हजुरको मनोकामना पूरा भयो। माता प्रसन्न हुनुभयो।’

बालकले फेरि पिताजीलाई प्रश्न गरिहाल्यो, ‘बुबा, त्यो बोकाको रगत त पवित्र भयो तर ती काकाको रगतचाहिं किन पापी के? के भगवानले रगतको पनि थर छुट्याउनुहुन्छ हो?’

बालक छोराको कुरा सुनेर बुबा निरूत्तर भए। उता पुजारीले बाबुतिर फर्केर हेरे र अनुहार कालो बनाउँदै रिसाएर भने, ‘केटाकेटीलाई यस्तो कुरा सिकाउने? यो पनि अधर्म हो।’

बालकले पिताजीको हात छोड्यो र मन्दिरको सिँढीबाट तल झर्दै सोच्यो, ‘यहाँ मन्दिरभित्र भगवान हुन्छ कि? रगतको नाफाघाटा हेर्ने व्यापारी?

प्रकाशित: १९ असार २०८३ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App