१) मुक्तक
कहिले जन्ती बोकेर, कहिले लासहरू बोकेर
महँगो गाडी गुडिरहेको छ त्रासहरू बोकेर
आफैंले बनाएको घरले पुरिरहेको छ मान्छे
'समय' आर्यघाट जानेछ एक दिन बाँसहरू बोकेर।
२) मुक्तक
पखेटा बेची खुट्टा किन्छन् चराहरू अचेल
उड्न छोडी पैदल हिंड्छन् चराहरू अचेल
जब हिंड्दै पुग्छन् सखीको घरमा वर्षौंपछि
उपहारमा पिंजडा दिन्छन् चराहरू अचेल।
३) मुक्तक
छुट्ने बेला चौतारीमा अँगालोले बाँधी रोयौ
ओभाएको छैन 'प्यारी' जुन आँसुले छाती धोयौ
पराईको हात समाइ उभिएको तस्बिर देख्दा,
आजभोलि दुखिरा'छ लाली ओठले जहाँ छोयौ।
४) मुक्तक
म पीडाहरूको जर्जरताबाट उठ्न बाँकी थियो
कोल्टे परेर हेरेँ बाहिर हावा, हुरी र आँधी थियो
अरे ती मान्छेहरू किन मेरै आँगनतिर आइरहेका
हातमा 'रूप श्रद्धाञ्जली' लेखिएको कापी थियो।
५) मुक्तक
खै, के फर्किन्छौ त्यो शहर, कालो बजारी र महँगी छ
बेवास्ता गर्दै महँगीको, चोक र चौका रङ्गीबिरङ्गी छ
बर्सेनि तला बढ्ने सयौँ घरको, बन्द छन् मूल ढोका
सगर छोएर छत भन्छ, यार..! न साथी छ न सँगी छ।
- पुछार घरे
प्रकाशित: ४ आश्विन २०८३ १२:१९ आइतबार



-600x400.jpg)