कला/साहित्य

कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप

कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ। अमेरिका बस्दै आएकी एक युवतीले आफूमाथि बलात्कार भएको भन्दै लम्सालमाथि आरोप लगाएकी हुन्।

युवतीले सामाजिक सञ्जालमार्फत एक लामो स्ट्याटस सार्वजनिक गर्दै उक्त घटना एक वर्ष भएको स्पष्ट पारेकी छिन्।

लम्साल अमेरिका गएका बेला अपार्टमेन्ट हेर्न आउने बहानामा उनले आफूमाथि बलात्कार गरेको आरोप लगाइएकी छिन्।

लम्साललाई १० वर्षभन्दा बढी समय देखी दाइ मान्दै आएको बताउँदै उनले भनिन्,‘ मैले उनलाई विश्वास गरेकी थिए। कुरा हुँदै जाँदा उनले तिमि बसेको ठाउँ देखाऊ भने, मैले उनलाई  आफ्नो अपार्टमेन्ट लगे। मलाई थाहा थिएन जसलाई मैले दाइ मान्थे र मेरो परिवारले परिवार, त्यो मान्छे त एउटा राक्षस रहेछ। म बलात्कृत भए।’

उनले थपिन्, ‘ म मा जति आशा थियो, जति शक्ति बाँकी थियो त्यो सबै हरायो। मेरो आवाज निस्किएन, म चिच्याउन चाहन्थे भन्न चाहन्थे, तर त्यस्तो अवस्थामा मरो परिवार टुट्छ भन्ने डर भयो।’

यस्तै, उक्त घटनापश्चात् आफू जिउँदो लास भएको बताउँदै उनले भनिन्, ‘यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु। र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।’

सानै उमेरदेखि ‘डिप्रेसन’ को सिकार भएको उल्लेख गर्दै उनले हिम्मत जुटाएर यसबारे आवाज उठाएको बताइन्। ‘आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन’, उनले भनिन्, ‘जसले मसँग यस्तो गलत गर्‍यो, उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस्।’

यस घटनामा लम्सालको तर्फबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। 

प्रकाशित: २० चैत्र २०८२ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App