कृष्णले लगातार हेरिरहेको छ, उसको छिमेकी पसले मनोहरको पसल केही दिन यता बन्द छ। उसले आफ्नो पसल किन बन्द गर्यो, यस बारेमा ऊ अनभिज्ञ छ।
उसले वरपरका पसलेहरूलाई सोध्दा सबैले आफूलाई थाहा नभएको जनाए। उनीहरूलाई कुनै मतलब छैन, कोही आओस् या जाओस्।
केवल आफ्नो व्यापार चले पुग्यो। बिहानदेखि साँझसम्म पैसाकै कुरा गरिरहन्छन् उनीहरू। जीवनमा धेरै पैसा कमाउन नसकेकोमा खिन्नता छ उनीहरूलाई। उनीहरू मृगतृष्णाको घोडामा तीव्र गतिमा दौडिरहेका छन्। जति भए पनि पुग्दैन उनीहरूलाई। विगतमा भन्दा वर्तमानमा अवस्थामा व्यापक सुधार भएको छ तर मनमा खिन्नता छ। अरुसँग तुलना गर्नमा नै जीवन बितेको छ।
खैर जेसुकै होस्, अरुका कुरा गरेर के हुन्छ? परचिन्तनले मानिसको मानसिक शान्ति भंग हुन्छ। नचाहँदा नचाहँदै पनि मन भड्किन्छ। भड्किएको मनको गतिलाई सही अवस्थामा ल्याउने असहज कर्म हो। कृष्ण आफैमा टोलारहन्छन्।
कृष्णको मन तुलबुल गरिरहन्छ। के भयो होला? यसभन्दा अघि सानो काम भएपनि भनेर जाने मानिस यस पटक भने कहीँ कतै देखिएको छैन। न कुनै खबर छ न त कुनै फोन।
फोनको कुरा मनमा आउनेबित्तिकै कृष्णले मनोहरको मोबाइलमा फोन गर्छ। अहँ, जति गरेपनि फोन लाग्दैन। उसको मन अझ घबराउँछ। उसलाई दिनभर चैन आउँदैन।
साँझ हुनुभन्दा केही अघि उसले पसल बन्द गर्दछ। उसको मन अशान्त भएपछि कुनै काम गर्न सक्दैन। उसको मनमा त्यही अनुहार घुमिरहन्छ, मनोहरको।
कृष्ण मनोहरको घर पुग्छ। घरको बाहिरबाट कराउँछ, “ए मनोहर ! कता छौ तिमी?”
कुनै जवाफ आउँदैन। निकै बेर कराएपछि एक १४ वर्षको किशोरले ढोका खोलेर भन्छ, “तपाईले मनोहर दाजुलाई खोज्नु भएको होला। उहाँ अहिले घरमा हुनु हुन्न।”
मैले त्यस किशोरलाई सोधेँ, “मनोहर कुनै समस्यामा परेको त छैन?”
“छैन, छैन। त्यस्तो केही छैन। केही घरायसी काम परेर उहाँले पसल नखोल्नु भएको हो।” किशोरले यति भनेर ढोका लगायो।
जुन घरमा म सहज किसिमले आउने जाने गर्दथें, त्यस घरमा मलाई अपरिचितको जस्तो व्यवहार गरिँदैछ। मैले मनमनै ठहर गरेँ, “कुनै न कुनै संकट छ, जसले गर्दा यस घरका मानिस मसँग राम्ररी कुरा गर्न चाहेका छैनन?”
म त्यहाँबाट चुपचाप निस्किएँ। आखिर साँझ परेपछि पुग्ने भनेको त आफ्नै घर हो। समयमा आफ्नो काममा जानु अनि समयमा कामबाट घर पुग्नु, मेरो नियमित कर्म भइसकेको छ। अवस्था जे जस्तो भएपनि म मेरो कर्ममा विश्वास गर्छु। मेरो मेहनतले मलाई एक दिन सही मार्गमा पुर्याउने छ भन्ने विश्वास छ। जीवन जतिसुकै पीडादायी भए पनि मानिसको इच्छाशक्तिले उसलाई बचाउने रहेछ।
ऊ घर पुगेर सरसफाइमा लाग्यो। घर पुग्दासम्म साँझ भइसकेको थियो।
कृष्ण ढिला आएकोमा घरमा सब चिन्तामग्न थिए।
“यतिबेला सम्म कहाँ थियौ?” आमाले सोध्नुभयो।
“मेरो छिमेकी पसले मनोहर केही दिनदेखि पसल आएको थिएन। त्यसैले के भयो भनेर बुझ्न उसको घर गएको थिएँ।” कृष्णले स्पष्टिकरण दियो।
“देशको अवस्था के छ भन्ने कुरा नबुझिकन जथाभावी हिँड्नु हुँदैन। अहिले समय खराब छ। यस्तो बेला को, कतिबेला शत्रु बन्छ, थाहा हुँदैन।” बुवाले सम्झाउन खोज्नुभयो।
कृष्ण चुप लागेर सुनिरह्यो।
एकछिनमा टेलिभिजन खोलेका थियौं। तराई मधेसमा आन्दोलन अझ व्यापक बन्दै आइरहेको थियो।
कुनै पनि आन्दोलनमा सबै मानिस एकै उद्देश्यले लागेका हुँदैनन्। राम्रा, नराम्रा सबै किसिमका मानिस लागेका हुन्छन्। असल मानिस समाज परिवर्तनका लागि लागेका हुन्छ। कतिपय खराब मानिस लुटन, खोस्न पाइन्छ भनेर पनि लागेको हुन्छन्। कतिपयले अधिकार प्राप्तिको आन्दोलनका नाममा साम्प्रदायिक सद्भाव भड्काउँछन् र जनतालाई लडाउने काम गरिरहन्छ।
एक गैरसरकारी संस्थाको आयोजनामा भएको आन्दोलनमा घुसपैठको क्रम जारी हुन्छ। मानिसका व्यक्तिगत सम्पतिमाथि धावा बोल्ने, फरक पहिचानका मानिसप्रति अमानवीय व्यवहार गर्ने कार्यले समाजमा नजादिँदो ढंगले एकै ठाउँका मानिसका बिचमा पनि कटुता उत्पन्न हुन्छ।
”ओहो! कसरी बाँच्ने होला? कसरी ज्यान बचाउने होला।” कतिपय मानिसमा यही चिन्ता उत्पन्न हुन्छ।
तराई मधेशमा सल्केको आगोले सिंगो देश प्रभावित भइसकेको छ। राज्यले समस्याको समाधान सही किसिमले गर्न नसक्दा, अमानवीय किसिमले दमन गर्दा विद्रोह झन चर्को हुने संभावना हुन्छ।
“के तिम्रो साथी मधेसी समूदायको हो?” बुवाले सोध्नुभयो।
“हो।” कृष्ण बोल्यो।
“तराई मधेशको आन्दोलनका कारण यहाँका गैरमधेशीले दुःख देलान भनेर पसल बन्द गरेको हुनसक्छ।” बुवाले आंकलन गर्नुभयो।
कृष्णले यो कुरा सोचेको थिएन। ऊ त सामान्य हिसाबले व्यापार गर्ने मानिस थियो। राजनीतिका कति चक्र हुन्छन्, उसलाई के थाहा? ऊ बुवाले भनेको कुराले आतंकित भयो।
“ओहो ! एक ठाउँको घटनाले सिंगो देशमा प्रभाव पर्ने रहेछ।” उसमा भयको मात्रा बढिरहेको थियो।
“यहाँ त खासै असर नपर्न सक्छ तर सचेत भएर व्यवहार गर्नुपर्छ। सामान्य अवस्था जस्तो होइन, यो समय।” बुवा सचेत गराउँदै हुनुहन्थ्यो।
वार्ताका प्रयास जारी थिए तर आन्दोलन रोकिने वाला थिएन। सिंगो मध्य मधेसमा आगो लागेको थियो।
“कतै यता पनि असहज अवस्था सिर्जना हुने त होइन् ?” जनतामा त्रास बाँकी थियो। उनीहरू सकेसम्म सर्तक भएर कार्य गरिरहेका थिए। बजारमा भीड कम भइसकेको थियो। मानिस काम परे मात्र बजार निस्कन्थे।
दुईचार दिनमा सुनियो, टीकापुरमा मधेसी नेता आएपछि त्यहाँ दंगा फैलिइसकेको छ।
“ओहो! आफ्नो घरको आगो निभाउन नसक्नेहरू अर्काको घरमा आगो लगाउनमा रमाइलो मान्दा रहेछन्।” पसलबाट घर पुग्नेबित्तिकै कृष्ण बोल्यो।
“समस्या कहाँ हुँदैन? सबै ठाउँमा समस्या छ तर समाधानको उपयुक्त विकल्पतर्फ गइएन भने यसले विनाश मात्र निम्त्याउँछ।” बुबाले चिन्ता व्यक्त गर्दै भन्नुभयो।
दुई, चार दिन पसल बन्द भए। त्यसपछि पुनः फाटफुट व्यापार हुन थाल्यो।
कृष्णले देख्यो, मनोहर पसलमा आएको छैन।
उसलाई चिन्ता भयो, पसल छिट्टै बन्द गरेर मनोहरको घरतिर लाग्यो।
मनोहरको घरको ढोका भित्रबाट लगाइएको थियो। कृष्णले मनोहरको नाम लिएर बोलायो, धेरै समयसम्म घरको मूल ढोका खुलेन।
कृष्ण त्यहाँबाट निराश भएर निस्किन लागेको थियो, एक बालिकाले ढोका खोलिन्।
“कसलाई खोज्नुभएको हो?” ती बालिकाले थाहा नपाएजस्तो गरेर सोधिन्।
“म मनोहरको साथी कृष्ण। धेरै दिन देखि पसल बन्द देखेर के भएको हो बुझ्न आएको।” कृष्णले एकै सासमा भन्यो।
“एक छिन है।” यति भनेर ती बालिका भित्र पसिन्।
घरका अभिभावकको अनुमति पाएर हो के हो, उनले भनिन्, “भित्र आउनुस्।”
ऊ घरभित्र पुग्दा घरका सबै जना त्यहाँ उपस्थित थिए। मनोहर पनि त्यहीँ देखेर उसलाई लाग्यो, “पसल नआउनुको कारण व्यक्तिगत विमारी त होइन होला?”
कहिलेकाहीँ मानिसको सोचभन्दा भिन्न हुन्छ परिस्थिति। सम्बन्धित व्यक्ति वा परिवारसँग नबुझेर अनुमान मात्र लाउनु उचित काम होइन्। कृष्णले पनि आफ्नो जिज्ञासा समाधान गर्न खोज्यो।
“म त केही दिन यता मनोहरको पसल बन्द भएको देखेर आएको। केही दिन अघि पनि आएको थिएँ।” कृष्णले आफू त्यहाँ आउनुको कारण बताए।
“हाम्रो छोरालाई सम्झेर आउनु भयो। खुसी लाग्यो। घरमा केही काम थियो, त्यसैले पसल नखोलेको हो।” आमाले भनिन्।
कुराकानीका क्रममा मनोहरका बुबाले भन्नुभयो, “अहिले मधेस आन्दोलनको प्रभाव यहाँ कतिको छ?”
“देशभित्रको आन्दोलन भएकोले यसको प्रभाव त परिहाल्छ। मानिसको मानसिकतामा असर त पर्छ तर यहाँ कुनै अप्रिय घटना भए जस्तो लागेन मलाई त।” कृष्ण बोले।
“जसलाई मार पर्छ, उसैलाई मात्र थाहा हुन्छ, चोट कति गहिरो थियो भनेर।” मनोहर बोले।
“किन? के भयो त्यस्तो?” कृष्णमा कौतहुलता बढ्दै गयो।
“मधेसमा आन्दोलन सुरु भएको चार दिन मात्र भएको थियो, म साँझपख घर फर्किरहेको थिएँ। एकाएक एक हुलले मलाई रोक्यो। उनीहरूले मलाई धम्की दिए।” मनोहरले दुःखी भएर भने।
“कस्तो धम्की?” मैले सोधें। मलाई यस विषयमा थाहा थिएन। यहाँ पनि मानिस गुण्डागर्दीमा उत्रिसकेका रहेछन्।
“तराईमधेशमा हामी पहाडी समूदायमाथि गलत व्यवहार भइरहेको छ। त्यस्तो काम गर्ने समूदायका मानिसलाई अब हामी यहाँ बन्दव्यापार गर्न अनि बस्न दिँदैनौं। जहाँबाट आएको हो, त्यहीँ गइहाल भनेर धम्काए।” मनोहर झाको मुखबाट सत्यको अनावरण भयो।
“ओहो ! यो त नराम्रो भयो। तपाईँहरू त तीन पुस्तादेखि यहीँ बस्नुभएको छ। म सानो छँदा तपाईँहरूको पसलबाट किताब, कापी किन्थें। अहिले पनि राम्रो सम्बन्ध छ। कुनै किसिमको भेदभाव छैन।” कृष्णले विगतका पाना पल्टाए।
“के गर्ने बाबु! समय खराब भएको बेला ज्ञानका कुरा, संवेदनाका कुरा कसले सुन्छ ? मेरो बुवा व्यापारको सिलसिलामा यहाँ आउनु भएको थियो। मेरो जन्म यसै भूमिमा भयो। मेरा सारा छोराछोरी सबै यहीँ जन्मे। लाग्दैन्थ्यो कि यो बिरानो भूमि हो तर आज....।” मनोहरका बुबा चेतनारायण विव्हल देखिए।
“यस्तो बेलामा खराब मानिसले मौका पाउँछन्, उनीहरूलाई असल, खराबको कुनै मतलब हुँदैन। आफ्नो हैकम जमाउन पायो भने भइहाल्छ।” कृष्ण बोले।
“अब हामीले के गर्नुपर्ला बाबु ” मनोहरकी आमा बोलिन्।
“मलाई यस ठाउँमा यसरी स्थानियको नाममा दादागिरी चल्छ भन्ने थाहा थिएन। अब क्रमशः आन्दोलनको ज्वारभाटा कम हुँदैछ। सहमतिको वातावरण बन्ला जस्तो छ। नडराउनु होला। हामी छौं नी।” कृष्ण बोले।
“कुरा त ठिकै हो बाबु। पसल नजिक त तपाईँ हुनुहुन्छ तर यहाँ त हामी असुरक्षामा छौं।” मनोहरकी आमा बोलिन्।
“केही दिन चुप बस्नु। बिस्तारै माहोल सही अवस्थामा आएपछि पसल आउनु।” कृष्णले मनोहरलाई सल्लाह दिए। यति भनेर उनी आफ्नो घरतर्फ लागे।
तराई मधेशको आन्दोलन अधिकार प्राप्तिको आन्दोलन भए पनि यसमा विभिन्न किसिमका स्वार्थ गाँसिएका थिए। कतिपयले आफ्नो राजनीति पूनः स्थापित गर्न चर्का कुरा गरेका थिए। कतिपयलाई गुण्डागर्दी गर्नु थियो। लुटपाट, हिंसाजन्य क्रियाकलापका कारण जनजीवन त्रसित थियो।
देशको एक ठाउँमा कुनै क्रियाकलाप हुँदा त्यसको असर देशका अन्य भागमा पनि त्यसको छाया पर्छ। तराईमा भएको आन्दोलनको प्रभाव पश्चिम नेपालमा पनि पर्दै थियो।
आन्दोलनको ज्वार कम हुँदै गएपछि मनोहरले पसल खोले। नजिकका साथीभाइ, पसलेले जिज्ञासा राखे।
मनोहरले घरको कामको बहाना बनाए। वास्तविक कुरा बताएनन्। कृष्णलाई मनोहरको पसल नआउनुको कारण थाहा थियो तर...? सबै कुरा सबैलाई बताउन उचित हुँदैन। उनी चुप नै लागे।
कृष्ण, मनोहर लगायत स्थानीय पसल मालिकहरू चिया पसलमा चिया पिउन निस्केका थिए।
एक हुल चिया पसमा पस्यो। एक जना मुन्द्रा लगाएको मानिसले भन्यो, “मधेसमा पहाडी समूदायमाथि दमन भएको छ।”
अर्को मानिस बोल्यो, “त्यहाँ हाम्रा दाजुभाइमाथि दमन छ। यहाँ भने मधेसीहरू मोज गरेर बसेका छन्।”
कृष्णलाई खपिनसक्नु भयो। उसले भन्यो, “हामीकहाँ सबै समुदायका मानिस मिलेर बसेका छौं। आगो लगाउने प्रयास नगर्नु। नत्र नराम्रो हुनेछ।”
स्थानीय समाजमा कृष्ण र उसको परिवारको राम्रो पकड थियो। त्यो कुरा ती मानिसहरूलाई थाहा थियो।
”ओहो गुरु ! तपाई पनि यस्तो कुरा गर्नुहुन्छ?” पहिलेकै मानिसले हच्किँदै भन्यो।
“म सत्य र न्यायको पक्षपाती हुँ। संसारको जुनसुकै कुनामा भए पनि अन्याय, अत्याचारका घटना बढेमा त्यसको विरोध गर्दछु। नेपालमा कुनै ठाउँमा भएको घटनालाई लिएर हाम्रो ठाउँमा भएका मानिसलाई अपमान गर्नु र हिंसाजन्य बोली बोल्ने कुरा सह्य हुँदैन।” यति भन्दै गर्दा उसको आवाज चर्को भइसकेको थियो।
“अनि तराईमधेशका घटनाप्रति तपाईको दृष्टिकोण के हा?” एक जनाले सोध्यो।
“अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा मानिस स्वतस्फूर्त लागेका छन्। यसमा मलाई केही भन्नु छैन। सरकारसँग वार्ता भइरहेको छ तर फरक समूदायका मानिसमाथि हुने हिंसा गलत हो। अल्पसंख्यक समूदायमाथि हुने हिंसाको समर्थन गर्न सकिन्न।” कृष्णले आफ्नो कुरा राखे।
उसको कुरासँगै ती मानिसहरू त्यहाँबाट हिँडे।
कृष्ण र मनोहर सँगै रहेका व्यापारीका लागि यो कुरा सपना जस्तै थिए। अब उनीहरूले मनोहर पसल बन्द गरेर घर बस्नुको कारण पत्ता लगाए।
“तपाई नडराउनु होला मनोहर भाइ। हामी वर्षौंदेखि एक परिवार जस्तो भएर बसेका छौं। कसैले नचाहिने कुरा गरेर दुःख दिने काम गर्न चाह्यो भने हामी त्यसलाई तह लगाइहाल्छौं। कृष्ण भाइ मात्र होइन, सारा यो टोल तपाईको पक्षमा खडा छ।” बजारका वयस्य पसले अनमोल बोले।
“जसका तीन पुस्ता यस ठाउँमा यहाँको मानिससँग मिलेर बसेको छ। उनीहरूलाई पुरानो पृष्ठभूमिका आधारमा दुःख दिने काम राम्रो होइन्।” जवाहर बोले।
अब भने मनोहरमा एक आत्मबल आइसकेको थियो। उसलाई पहिले एक्लो भएको अनुभव हुन्थ्यो तर अब उसलाई लाग्यो, यस ठाउँमा मेरा पनि मानिस छन्।
आकाशमा बादल उघ्रिसकेको थियो। अब वातावरण स्वच्छ हुने सम्भावना बढिरहेको थियो।
प्रकाशित: ३ आश्विन २०८३ १३:१७ शनिबार



