यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला भएको छ। अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन्।
‘अभिमन्यु : च्याप्टर १’ ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई आफ्नो काठमाडौंका आउटलेटमा ११ शो उपलब्ध गराएको छ।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना पाँच चेनमा ११ शो दिएको छ।
वान सिनेमाजले दुई आउटलेटमा ६ शो उपलब्ध गराएको छ। विग मुभिजले २ र एफक्युबले २ शो दिएको छ। अन्य सिनेमा हलले पनि यस्तै अनुपातमा शो उपलब्ध गराएका छन्।
प्रिमियर साेमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो। चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको खुलेर तारिफ भएको थियो। विषय, प्रस्तुति र अभिनयको तारिफ गरिएको सिनेमा हेर्नै पर्ने प्रतिक्रिया आएको थियो।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। सिनेमाको लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरे सम्पादन रहेका छ।
यो चलचित्र नेपाली र हिन्दी भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ।
प्रकाशित: १७ मंसिर २०८२ १३:५२ बुधबार



