‘म बुढी भएँ, भोलिदेखि गाई चराम्न तँ जा’ हजुरआमाले बाल्यकालमा भन्नुभएको यो वाक्य आज अचानक सम्झिएँ। गाई चराउन मलाई खुब मनपर्थ्याे तर एक्लै जङ्गलको बाटो जानुपर्ने भएकाले डरले थुरथुर हुन्थेँ। अनि मैले भन्थेँ, ‘एक्लै त जान्नँ।’ उहाँले फेरि जवाफ दिनुहुन्थ्यो, ‘तँ कहाँ एक्लै छस् र? माथि सुर्जे भगवान् देखिनस्।’
बिहानै धोबिनी चरीले चिरबिरको सङ्गीत बजाउना साथ हजुरआमा उठ्नुहुन्थ्यो। तुलसीको मोठमा सूर्यनारायणलाई जल चढाउँदै भन्नुहुन्थ्यो– ‘पाप नाशं, दुःख नाशं’। यस्तै केके नबुझिने अन्य मन्त्र पनि भटभट्याउनुहुन्थ्यो। म उहाँको यो गतिविधि झ्यालबाट नियालिरहन्थेँ। मनमा जिज्ञासा पलाउँथ्यो– के साँच्चै सूर्यले मान्छेको दुःख नाश गर्छन् त?
जब शनिबार स्कुल बिदा हुन्थ्यो, हामी गाई चराउन हुँडिकोट जान्थ्यौं। हामी हरियो र भव्य चउरको मजा लिन्थ्यौं र उत्तिकै वस्तुले पनि लिन्थे। लाग्थ्यो, प्रकृतिले हरियो डसना बिच्छ्याइदिएको छ चउरभरि। जब गाईगोरुले ढुक्कले भुइँ कोपर्न थाल्थे, हामी एउटा खेल खेल्थ्यौं नाङ्गो आँखाले सूर्यलाई हेर्ने। जसले धेरै बेर घामलाई हेर्न सक्यो, त्यो राजा ! जब आँखाले थाम्न सक्दैनथ्यो, हामीले हत्केलाले सूर्यलाई छेक्थ्यौं– कहाँ हत्केलाले सूर्यलाई छेक्न सक्थ्यो त? तर हामी त्यही प्रयास गर्थ्याैं हाँस्दै, मुस्कुराउँदै। घाम चिहाउने खेलमा धेरैजस्तो डल्लेले बाजी माथ्र्यो र वीरेन्द्र राजा बनिरहन्थ्यो।
बादलले घाम छेकेको दिन हामी चउरमा गोरुजुधाइ खेल्थ्यौं। कहिले त सिङ भएका गोरु र नभएका गोठालाको भिडन्त सँगसँगै जस्तो हुन्थ्यो। एउटाको टाउको अर्कोले उधिन्दा कपाल तातेर आगो हुन्थ्यो। कहिले त टाउको चिप्लिएर प्रतिद्वन्द्वीको नाक थेप्चिन्थ्यो।
जब घाम पश्चिम लत्रन थाल्थ्यो, गाईको पेट माथि चुलिन थाल्थ्यो। तर हामी गोठालाका पेटमा रिक्तताको घण्टी बज्न थाल्थ्यो। छिमेकीका बगैंचामा चोर्नका लागि सधैं आलुबखडा र आरु पाक्थेनन्। केयरसिंहको नास्पाती पनि सधैं पाक्थेन।
हामीलाई अलमल्याउन हजुरआमाले कहिले सिलोक त कहिले गाउँखाने कथा भन्नुहुन्थ्यो। ‘खाम् खाम् रोटी खान सकिँदैन के हो?’ हामी अलमल्ल परेर उहाँको चाउरिएको अनुहार हेथ्र्यौं। केही समयपछि उहाँले आफैं उत्तर भन्नुहुन्थ्यो– ‘सुर्जे’। त्यतिखेर कस्तो भुङ्ग्रेरोटी खान म लाग्थ्यो हामीलाई। आफैंले पूजा गर्ने भगवान्लाई उहाँले किन रोटीसँग तुलना गर्नुभएको हो? त्यो त हामी बुझ्थेनौं। जब गाई भकारामा आउँथे, घाम डुब्न डाँडामाथि बस्थ्यो। डुब्न लागेको बेला घाम पाकेको सुन्तलाजस्तै देखिन्थ्यो। हामी हात उठाएर सुन्तला टिपेको नाटक गथ्र्यौं र एकएक दाना खान्थ्यौं। यो त एउटा बालसुलभ कल्पनाको झोलुङ्गो मात्र हुन्थ्यो।
कुनैकुनै शनिबार हामी आमासँग खेतमा जान्थ्यौं। सकेको जति सघाउँथ्यौं। हुडिकोट डाँडामा भन्दा बेसीमा घाम झन् ज्वालामुखीजस्तै चर्का हुन्थे। यति तिखा हुन्थे कि छाला त एकै क्षणमा सेकुवा बनाउँथ्यो। आइतबार स्कुल जाँदा साथीहरूले सोध्थे– ‘ओइ, तँ त कालो भएछस् !’ घामले पोतेको त्यो रङ हाम्रो बाल्यकालको कागजमा सूर्यले कोरेको हस्ताक्षरजस्तै लाग्थ्यो। मनमनै हामी गुनगुनाउँथ्यौं, ‘घामजस्तो चम्किलो जून हुँदैन’। खासमा घामसँग रमाएर, खेलेर अनि गीत गाएर हाम्रो बाल्यकाल बित्यो। समय बित्दै गयो। विश्वविद्यालयमा प्राध्यापक दयाराम सरले पढाउनुभयो– ‘जिन्दगी घाम र छाया हो।’
त्यतिबेला म सम्झिन्थेँ त्यही हुँडिकोटको घाम, त्यही हामीलाई खेतमा सेकुवा बनाउने घाम। त्यही हत्केलाले छेक्न नसकिने घाम? प्रश्नमाथि प्रश्नले थिच्थ्यो। घाम त बुझ्थेँ, छायाको दर्शन अझै मेलो पाएको छैन। खै के? खै के?
चैतेदसैंका दिन बिहानै एक्लै हिँड्ने मुड आयो। बोसन डाँडातिर लिम्किएँ। सधैंझैं साथीहरूको भिड थिएन यो यात्रा आत्माको संवाद थियो, सोलो ट्रेकिङजस्तै थियो। एक्लो यात्रामा सहयात्री बनेको थियो मौनता। म डाँडामा पुग्दा घाम नगरकोटभन्दा दुई जुवामाथि उक्लेका थिए तर घाम बाल्यकालमा हुँडिकोटमा भेटेको त्यो साथीजस्तो लागेन। बेँसीमा छाला पिर्सल्ने खालको पनि थिएन। त्यो घाम उज्यालो दिने दीप नभएर आँखा पोल्ने खरानीजस्तो थियो। खासमा पाकेको सुन्तलाजस्तो थिएन, थकित आँसुजस्तो लाग्थ्यो– निलो, मौन र पूरै थाकेको प्रतीत हुन्थ्यो घाम। घाम घामजस्तै थिएन। पूरै आलो सुत्केरीको अनुहारजस्तो थियो? पूरै मुर्झाएको, बिलकुल प्रकाशहीन।
घाम सँगसँगै सम्झना आयो– उही गाईको चरन, हरियो कम्बलजस्तो चउर, तुलसीको मोठ, सोझै उदाउने भाष्कर, हत्केलाले सूर्य छेक्ने मेरो त्यो सङ्घर्षपूर्ण कर्म। खान नसकिने रोटी। पाकेको सुन्तले रङको उही घाम। साँच्चै आजका घाम पराजित सिपाहीजस्तो लाग्थ्यो। थाकेको, निराश, सान्त्वना खोजिरहेजस्तो। पहिलो पटक मैले अनुभूति गरेँ– हजुरआमाले भनेको मित्रवर सुर्जे ! मेरो साथी सुर्जे अब साथीजस्तो थिएन। खल्तीबाट फोन निकालेँ, हावाको गुणस्तर जाँचेँ। तुरुन्त सन्देश आयो– ‘काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर। मन झन् काँप्यो। दिउँसो भए पनि अँध्यारो लाग्यो। आँखा झन् पोलेजस्तो अनुभूति भयो। मैले फेसबुकमा स्टाटस लेखेँ– ‘काठमाडौंमा अब सास फेरिँदैन, हावा चपाइन्छ।’
अचानक मनमा आक्रोश मिसिएका हुरुरु प्रश्न उब्जिए। सुर्जेको हुर्मत लिने को हो? उत्तर आएन। निकै बेर घोरिएँ। बोसन डाँडाको लप्सीको फेदमा उभिएर उपत्यका हेरेँ। सूर्यलाई बिरामी बनाउने मुख्य दोषी को? अचानक उत्तरले म आफैं घेरिएँ। दोषबोधले मानस ढाक्यो। प्लास्टिकका बोतल बाटोभरि फाल्ने म, बाइक कुदाउने म, खोरियामा डोजर लगाउने म। धेरै धेरै कुकर्म गर्ने म, यानेकि थुप्रै म। अब सूर्य हामीसँग डराउनुपर्ने भएजस्तो लाग्यो।
त्यो सूर्य जो कहिल्यै डराउँदैनथ्यो, कहिल्यै सुत्दैनथ्यो, कहिल्यै थाक्दैनथ्यो। तर आज किन? कहिल्यै छुट्टी नलिने सूर्यको मुहार आज किन पिलन्धरे? हरदिन टुप्लुक्क उदाउने धुपिलो अनुहारमा बेखुसीपन किन? उसलाई रुवाउन म दोषी हो भने मैले प्रतिज्ञा गर्नुपर्दैन? मैले पुनः सपना देख्नुपर्दैन? पुनः त्यही बाल्यकालको सूर्यलाई साथी बनाउनुपर्दैन? फेरि घामलाई त्यो चमकमा फर्काउनुपर्दैन? सूर्यमाथि जल चढाउने आस्थाको पुनर्ताजगी गर्नुपर्दैन? उही मिर्मिरेको घामको लय फेरि गाउनु पर्दैन?
अनिश्चित प्रश्नले किचिएर म बोसनबाट तल झरेँ। तुरुन्त खत्रीछाप आइपुगेर पुनः घामलाई हेरेँ। थोरै आशा, भोलिको सुखद कल्पना, भूपीले भनेझैँ जहाँ प्रत्येक बिहान धरतीले एउटा लालिमा सजिएको गोरो छोरो जन्माउँछ वा जन्माउँदैन। तर भोलि बिहानै मेरो बालसखा घाम हाँसेर उदाउनुपर्छ। घामसँग नतमस्तक भएर माफी माग्नुपर्छ। पहिलोपटक रोएको मेरो मित्र सुर्जे देखेर म विचलित भएँ। पक्कै भोलि उज्यालो भोर लिएर घाम उठ्नैपर्छ? यस्तै तर्कना बोकेर म घरमा आइपुगेँ र श्रीमतीलाई भनेँ– बुढी, मैले पहिलोपटक हत्केलाले सूर्यलाई छेकेँ।
प्रकाशित: १० जेष्ठ २०८२ १०:४७ शनिबार



