‘तुइन जिन्दगी’ आम महिला वर्गको मात्र नभई तत्कालीन समयको सिङ्गो नेपाली समाजको चित्रण हो। यस पुस्तकमा नेपाली समाज कुन ढंगबाट अगाडि बढ्दै यहाँसम्म आइपुगेको छ भन्ने कुराको यथार्थ नालीबेली पाउन सकिन्छ। आजभन्दा करिब ५०/६०वर्ष अगाडि पनि नेपाली समाजमा महिलाको अवस्था कति अत्यासलाग्दो ढंगबाट गुज्रिरहेको थियो भन्ने विषयको यथार्थ विश्लेषण यसभित्र समावेश गरिएको संस्मरणात्मक निबन्धवाट गरिएको छ।
आफ्नै घर, परिवार, समाज र राष्ट्रमा दोस्राे दर्जाको नागरिक भएर बाँच्न विवश नेपाली महिलाको आत्मकथाका रूपमा पनि यो पुस्तकलाई लिन सकिन्छ। यसै त पुरूष प्रधान समाजको महिला त्यसमाथि पनि विकट भेग- ती ठाउँका महिलाहरू झन् कति अत्यासलाग्दो भूगोल छिचोलेर आफ्नो जिन्दगी राजमार्गसम्म ल्याउन सफल भए भन्ने कुराको कथा र इतिहास पनि यसमा समेटिएको छ।
त्यतिबेलाको हदैसम्मको पुरातनवादी सोच र संस्कारलाई चुनौती दिँदै हिँडेको सोलुको यो संस्मरणले दृढ इच्छाशक्ति भयो भने एक्लो प्रयासमा मात्र पनि धेरै थोक गर्न सकिँदो रहेछ भन्ने ज्ञान दिइरहेको छ।
परिवारले र समाजले आफ्नो काबुमा राख्न खोज्ने र विवाहका कुरा उठिरहेकी छोरी एसएलसी पास गर्न घर छोडेर हिँड्न पनि चानचुने हिम्मतले सम्भव थिएन। त्यसमाथि पनि समाजमा भइरहेका छोरी चेलीका भन्दा फरक सोच सानै उमेरदेखि सोलुमा विकास हुनु अझै सकारात्मक पक्ष देखिन्छ।
लगाउने पहिरनका सवालदेखि हिँडडुल, यात्रा लगायतका विषयमा सोलुको छुट्टै विकासात्मक सोच देखिन्छ र त्यो सोच, चिन्तन र सोहीअनुरूपको व्यवहार आजसम्म पनि उनीभित्र विद्यमान रहेको पाउन सकिन्छ- बुहारीलाई सामान्यतया आम पुरूषप्रधान समाजले गर्ने व्यवहार र दृष्टिकोणमा परिवर्तन गरी घर सुन्दर बनाउनका लागि उनले खेलेको भूमिका र उनले निबन्धमार्फत् दिएको सन्देश पनि आफैँमा विकासात्मक छ, परिवर्तनकामी छ, न्यायपूर्ण छ र आजको समाजले भनेको जस्तो समतामूलक समाजको विकासमा कोसेढुंगा सावित हुने खालको छ।
’तुइन जिन्दगी’ भित्र समेटिएका अठार संस्मरणात्मक निबन्ध पढिसकेपछि दावाका साथ भन्न सकिन्छ समाज परिवर्तनका लागि नेपाली समाजका हरेक मान्छे रेणुका सोलु बन्न सक्नुपर्छ।
हरेक सासूको सोच ’सोलु’ को जस्तो हुनुपर्छ, हरेक छोरीको आँट ’सोलु’ को जस्तो हुनुपर्छ जसले समयको सही पहिचान गरेर घरबाट भागेर एसएलसी पास गरेर आफ्नो अध्ययनलाई निरन्तरता दिइन् र त्यही आँटबाटै सुरू भएको त्यो यात्रा पीएचडीसम्मको शिक्षा हासिल गरी आज राजधानीको चर्चित क्याम्पसको प्रशासन प्रमुख भएर जिम्मेवारी सम्हालिरहेको छ।
त्यही छोराजस्तै लाहुरे भएर घर फर्कने र घरको सारा आवश्यकता क्रमशः पूरा गर्ने अठोट त्यो एसएलसी ट्युसन पढेर घर फर्कँदा गुन्टासहित घर फर्केदेखि आज घरको सारा अभाव हटाएर राजधानीको आफ्नै महलमा परिवारसहित मुस्कुराउन सफल भएको छ।
आमाबाबुलाई सुख दिने त्यही सपना र आफू छोरा वा छोरीभन्दा असल सन्तान भएर आमाबुबाको स्याहार गर्ने त्यही दृढ इच्छा बुबाको ओैषधोपचारदेखि अन्तिम संस्कारसम्म सम्पन्न गरेर सन्तान हुनुको कर्तव्य पूरा गर्न सफल भयो। अनि त्यही पुरूषवादी समाजको सोचको नामोनिसान मेटेर नारीपुरूष समान ढंगले अगाडि बढेको हेर्न चाहने र त्यसकै लागि मरिमेट्ने सोलु आज आफ्नै घरलाई समतामूलक र उदाहरणीय परिवारको रूपमा स्थापित गर्न सफल भइन्।
उदाहरणीय सासूको रूपमा उदाउन सफल भइन्। त्यति मात्र होइन ‘तुइन जिन्दगी’ले रेणुका सोलु कति स्पष्ट वक्ता हुन् भन्ने पनि पुष्टि गर्छ। उनले यसमा समावेश गरिएको कुमारीको भुँडी शीर्षकको निबन्धबाट बुझ्न सकिन्छ। त्यो पाटो उनले चाहेको भए यहाँ समावेश नगर्न पनि सक्थिन् तर उनले यो सबै लेख्ने अठोट गरेर अगाडि बढ्नु पनि सामान्य कुरा पक्कै हुन सक्दैन।
समग्रमा तुइन जिन्दगी पढ्दै जाँदा लेखनकला साधारण जस्तै लाग्ने तर पढ्दै जाँदा बृहत् विषयको वकालत, कलात्मक, मानवीय स्वरहरू मुखरित भएको, समाजको कुरूप रूपको यथार्थ चित्रण, व्यावहारिकपन र खबरदारी बेजोड रहेको पाइन्छ।
रेणुका सोलु यो उमेरसम्म आइपुग्दा भोगेका प्रतिनिधि कुरालाई मात्र पुस्तकमा उनिरहँदा उनी निकै भव्य आकृति बनेर खडा हुन्छिन् मानसपटलमा। अनुभवी मान्छे बनेर देखिन्छिन्, देश खाएर शेष भएको मान्छे भन्न मिल्ने छाप छोड्छिन् पुस्तकका माध्यमबाट अनि संघर्षशील नारीहरूमध्येमा कति नम्बरमा पर्छिन् होला उनी भन्ने प्रश्नले डेरा जमाउँछ मष्तिस्कमा।
यसमा समेटिएका व्यङ्ग्यका कुरा, अनुकरणीय कार्य, पितामाताका लागि अत्यन्तै गर्व गर्ने ठाउँ दिने सन्तान, केही अपमानका बाछिटा उठान र नडराउने हक्की स्वभाव आदिले लेखकप्रति अत्यन्तै स्नेह पैदा हुन्छ, श्रद्धा जागेर आउँछ, सम्मानले हृदय भरिन्छ, विद्रोहले नसा फुलेर आउँछ।
- भैरवी भूगोल
प्रकाशित: १२ माघ २०८१ ११:२२ शनिबार



