वि.सं. २०४८ यताका सबै प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा निर्वाचन क्षेत्र संख्या परिवर्तन भएन-एउटै क्षेत्र, एउटै प्रतिनिधि। सात पटक सम्पन्न निर्वाचनमा निरन्तर विजय हासिल गर्दै शेरबहादुर देउवा डडेल्धुराबाट अविजित रहे। साढे तीन दशकसम्म उनले पराजयको स्वाद चाख्नुपरेन। डडेल्धुराबाट लगातार निर्वाचित हुँदै उनी पाँच पटक मुलुकको प्रधानमन्त्रीसमेत बने।
२०६२/०६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको नेकपा माओवादी को प्रभावशाली समयमै २०६४ सालको संविधानसभा निर्वाचनमा पनि देउवाले जित हात पारे।
तर पछिल्लो समय राजनीतिक उतारचढावले परिस्थिति फेरिएको छ। सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल स्वतन्त्रताको नारासहित युवापुस्ताले गरेको आन्दोलन हिंसात्मक बन्दा भदौ २४ गते देउवामाथि मरणासन्न हुनेगरी कुटपिट भयो र उनको घरमा आगजनीसमेत भयो।
अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्ने इच्छा देखाएका देउवाको एकल नाम सिफारिस गरिएको थियो। तर नेपाली कांग्रेस को विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवाले टिकट पाएनन्। गगनकै हस्ताक्षरको टिकट लिएर भए पनि ‘रुख’ चिन्हबाट अन्तिम पटक चुनाव लड्ने चाहना राखेका देउवाले टिकट नपाएपछि असन्तुष्टि जनाएका छन्। उनी यसपटक डडेल्धुराको चुनावी मैदानमा छैनन्।
प्रजातन्त्र पुनर्स्थापनापछि संसदीय यात्रामा अविजित रहेका देउवा चुनाव नलडेकाले आगामी फागुन २१ गते डडेल्धुराले नयाँ जनप्रतिनिधि पाउने निश्चित भएको छ। साढे तीन दशकपछि यहाँ नयाँ अनुहार चयन हुने भएकाले सर्वत्र चासो छ-देउवाको विरासत कसले थाम्ने?
मुख्य प्रतिस्पर्धी को-को?
नेपाली कांग्रेसबाट पत्रकार पृष्ठभूमिका, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य ५१ वर्षीय नैनसिंह महर चुनावी मैदानमा छन्।
नेकपा एमाले बाट पूर्व राष्ट्रियसभा सदस्य चक्रबहादुर स्नेही उम्मेदवार छन्।
नेकपा (माओवादी केन्द्र) बाट मान सिंह माल मैदानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट डा. तारा जोशी उम्मेदवार छन्। २०७९ मा स्वतन्त्र रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका जोशीले राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लडेका हुन्।
यसैगरी राप्रपा बाट गोविन्द कठायत उम्मेदवार छन् भने युवा उम्मेदवार गौरव ऐर पनि सक्रिय प्रचारमा छन्। राजनीतिक दल र स्वतन्त्र गरी कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
स्थानीय विश्लेषणअनुसार मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका महर र रास्वपाका जोशीबीच हुने देखिएको छ।
कांग्रेसको गढमा चुनौती
२०१५ सालमै डडेल्धुराबाट द्वारिका देवी ठकुरानी विजयी भएकी थिइन्। २०३६ सालको जनमत संग्रहमा बहुदल पक्षमा भूमिका खेलेको र सात पटक देउवा विजयी भएको इतिहासले डडेल्धुरालाई कांग्रेसको गढका रूपमा चिनाउँछ।
महरले कांग्रेसको बलियो संगठन र ऐतिहासिक विरासतका कारण आफू जित्नेमा ढुक्क रहेको बताएका छन्। आफूलाई देउवाको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्दै उनले संगठनात्मक बलमा भरोसा व्यक्त गरेका छन्।
यता रास्वपाको ‘लहर’ का कारण डा. जोशी पनि बलियो प्रतिस्पर्धी देखिएका छन्। जनताको चाहनाअनुसार प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेको उल्लेख गर्दै उनले जित सुनिश्चित हुने दाबी गरेका छन्।
माओवादी केन्द्रका मान सिंह मालले पार्टी एकीकरणपछि संगठन बलियो बनेको र मतदाता परिवर्तनको पक्षमा रहेको दाबी गरेका छन्। एमालेका स्नेहीले दलित समुदायसहित विभिन्न वर्गको समर्थन आफूलाई रहेको बताएका छन्।
अघिल्ला निर्वाचनका तथ्याङ्क
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा देउवाले २५ हजार ५ सय ३४ मत ल्याएर विजय हासिल गरेका थिए। स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए।
डडेल्धुरामा २०४६, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ का निर्वाचनमा देउवा विजयी भएका थिए।
२०७९ को समानुपातिकतर्फको मत परिणाम
नेपाली कांग्रेस : १८ हजार ५ सय ६२
नेकपा एमाले : ९ हजार २ सय १४
माओवादी केन्द्र : ८ हजार ७ सय ११
नेपाली कांग्रेस (बीपी) : ४ हजार ५ सय १४
राष्ट्रिय स्वतन्त्र पार्टी : ३ हजार ६ सय ५०
देउवाविहीन चुनावले डडेल्धुरामा ऐतिहासिक मोड ल्याएको छ। कांग्रेसको परम्परागत आधार र रास्वपाको उदीयमान प्रभावबीचको टक्करले यसपटकको निर्वाचनलाई अझ रोचक बनाएको छ। अब प्रश्न एउटै छ-साढे तीन दशकपछि डडेल्धुराले कस्तो नेतृत्व रोज्ने?
प्रकाशित: १७ फाल्गुन २०८२ २१:१७ आइतबार



