धर्म/संस्कृति

राउटे समुदायमा यसरी मनाइन्छ दसैँ

नेपालकै एक मात्रै फिरन्ते जाती राउटेले दसैँलाई कसरी मनाउँछ भन्ने धेरैको चासो र जिज्ञासा हुनसक्छ। एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने यो समुदाय अहिले सुर्खेतको लेकवेशी नगरपालिका–१० मा बसोबास गरिरहेको छ। राउटे समुदायले महानवमी र विजयादशमी गरेर दुई दिनलाई उत्सवको रूपमा मनाउँछ। 

महिला पूजा

महानवमीको बिहानै बस्तीभरिका महिलाहरूलाई बस्तीको बिच भागमा बोलाइन्छ। पुजारीले मन्त्रोच्चारण सुरु गर्छन्। महिलाहरूको वरिपरि प्रत्येक घरबाट एक–एक वटा खसी/बाख्रा घुमाइन्छ। अक्षता र जल (पानी) छर्किएर पूजा सम्पन्न गरिन्छ। ‘हामीलाई रोग नलागोस्, भूतप्रेत नलागोस् भनेर पूजा गरिन्छ,’ राउटे युवती गाजुली शाहीले भनिन्, ‘हाम्रो (महिला)को पूजा गरेपछि मात्रै अरू पूजा सुरु हुन्छ ।’ 

राउटे समुदाय महिला प्रधान समाज हो। यहाँ महिला तथा बालबालिकामाथि हुने हिंसा शून्य छ। महिला पूजा हुँदा बस्तीमा बाह्य मानिसको प्रवेशलाई निषेध गरिएको हुन्छ। 

वन देवताको पूजा

महानवमीको दिन सुरुमा महिला पूजा गरिसकेपछि वन देवताको पूजा हुन्छ। जंगलमै बस्ने, जंगली जनावर बाँदरको सिकार गर्ने यो समुदायका प्रत्येक घरबाट एक–एक खसी/बाख्रा जंगलमा लगेर वन देवताका नाममा काट्ने गर्छन्। राउटे बस्तीमा अहिले ४० घर छन् । त्यसैले यो वर्ष बस्तीमा ४० वटा खसी/बाख्रा वन देवताका नाममा वनमै महानवमीमा काटिए । 

‘हामी जंगलमा बस्ने, बाँदर/गुनाको सिकार गर्ने, जंगली काठ काटेर भाँडाकुँडा बनाएर विक्री–वितरण गर्ने भएकाले बन देवताको पूजा गछौं,’ उनले भने, ‘सिकार मरोस्, घाउ चोट नलागोस्, भूतप्रेत नलागोस् भनेर प्रत्येक घरबाट एक–एक खसी/बाख्रा वन देवताका नाममा काट्ने गरेका हौँ ।’ यो वर्ष राउटे समुदायले सरकारले दिने सामाजिक सुरक्षा भत्ता नपाएकाले गाउँबाट उधारोमा खसी/बाख्रा ल्याएका छन्।

जंगलमै खसी काटेपछि त्यहीँ पोल्ने र मुखियाहरूले भाग छुट्टाउने चलन राउटे समुदायमा छ। खसी/बाख्रा काट्न खटिएका पुरुषहरूलाई प्रत्येकबाट थोरै थोरै भाग दिने गरिन्छ। ‘दुःख गर्नेले अरूको भन्दा धेरै खानुपर्छ त्यहीँ भएर काटिएका प्रत्येक खसी/बाख्राबाट थोरै थोरै भाग छुट्टाएर दिने चलन छ,’ मुखिया वीरबहादुर शाहीले भने, ‘त्यसपछि मात्रै मासु घरमा भित्र्याउँछौ ।’

विजयादशमीमा घर पूजा 

विजया दशमीको दिन सुरुमा खसी काट्ने चलन छ। घर पूजा भएकाले विजयादशमीको दिन घरभित्रै खसी काटिन्छ । खसी काटेपछिको पहिलो रगत पाँच दिनअघि राखिएको जमरालाई चढाउने गरिन्छ। ‘रगतले शुद्ध भएको जमरा मात्रै लगाउने चलन छ,’ मुखिया वीरबहादुरले भने, ‘रगत चढाएपछि नयाँ लुगा लगाएर जमरा र टीका लगाउँछौँ।’ राउटे बस्तीमै मुखिया, वैद्य, धामी, पण्डित हुन्छन्।

उनीहरूकै सल्लाह र निर्णयका आधारमा कति बेला कुन पूजा गर्ने, कति बेला टीका र जमरा चलाउने भन्ने साइत जुराइन्छ।

प्रकाशित: १६ आश्विन २०८२ १८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App