सम्पूर्ण मिथिलाञ्चलमा विवाहपञ्चमी, रामनवमी र जानकीनवमी महोत्सव प्रतिवर्ष उल्लास एवं उमङ्गपूर्वक मनाउने लामो परम्परा अद्यावधि प्रचलित छ। विवाहपञ्चमी मङ्सिर महिनाको शुक्लपक्षको पञ्चमीतिथिका दिन धुमधामसित मनाइन्छ। यस शुभअवसरमा मर्यादापुरुषोत्तम रामचन्द्र र जगज्जननी जानकीको शुभविवाह मिथिलाको प्रचीन राजधानी जनकपुरमा सुसम्पन्न भएको थियो। अतः आज पनि विवाहपञ्चमी जनकपुरधाममा उल्लासपूर्ण वातावरणमा मनाइन्छ। जानकीनवमीको सुखद मुहूर्तमा राजर्षि जनककी आत्मजाका रूपमा जगज्जननी जानकीको प्रदुर्भाव भएको कुरा पनि सारप्रसिद्ध नै छ। यी तीनवटै महोत्सव अध्यापि जनकपुरमा बडो उत्साह र उमङ्गसाथ मनाइन्छन्। यसमा हिन्दु धर्मावलम्बीहरू अत्यधिक सङ्ख्यामा सहभागी हुनु सर्वथा स्वाभाविक हो किनभने रामचन्द्र हिन्दुहरूका आराध्यदेव र इष्टदेव हुन् भने सतीशिरोमणि सीता इष्टदेवी।
राजर्षि जनकको गृहनगरी जनकपुरमा माता जानकीको जन्म जेठ सुदी नवमी तिथिमा भएको थियो। उनलाई अयोनिजा पनि भनिन्छ किनभने उनको जन्म आमाको कोखबाट नभएर धरती माताको कोखबाट भएको थियो। तसर्थ उनलाई भूमिजा भनिन्छ। जानकीको अर्को नाम मैथिली पनि हो किनभने मिथिलामा उनको जन्म भएको थियो। विदेह राजर्षि जनकका दरबारमा सीताको जन्म भएकाले उनलाई वैदेही पनि भन्ने गरिन्छ। राजा नजककी सुपुत्री भएकाले उनलाई जानकी भनिन्छ भने हलो जोत्दा भेटिएकीले उनलाई सीता पनि भनिन्छ।
एकचोटि राजा जनकको राज्य मिथिलामा भयङ्कर अनिकाल परेको थियो। राजा र प्रजा दुवैलाई घोर विपत्तिको सामना गर्नुपरेकाले राजालाई ऋषिमुनिहरूले के सल्लाह दिए भने यदि राजा जनकले आफ्ना हातले हलो जोत्नुभयो भने यस अनिकालबाट राजा र प्रजा दुवैलाई त्राण मिल्नेछ। अर्थात् वर्षा हुनेछ र जग्गाजमिन बन्जर भइसकेका अवस्थामा तिनमा उब्जनी हुन थाल्नेछ र चारैतिर हरियालीयुक्त वातावरण व्याप्त हुनेछ। यही सल्लाहअनुसार राजा जनकले भूमिपूजा गरेर हलेष्टि यज्ञको अनुष्ठान गर्नुभयो। राजा जनकले आफ्ना हातले हलो जोत्दा धरती माताका गर्भबाट एउटी सुन्दरी कन्या प्रकट भइन्। राजा जनकले ती कन्यालाई राजदरबारमा ल्याएर पालन–पोषण गर्न थाल्नु भयो। जानकीको यो जन्मकथा आज पनि मिथिलावासीहरूका जनजिब्रोमा जीवित छ।
जानकीलाई पाएर राजा जनक साह्रै खुसी हुनु स्वाभाविकै थियो। प्रजाको रक्षाका लागि हलो जोत्नेजस्तो प्रजातन्त्रको अनुपम उदाहरण राजा जनकले पेस गर्नुभयो। संसारमा प्रजातन्त्रको यस्तो उत्कृष्ट उदाहरण विरलै पाइन्छ। सम्पूर्ण मिथिलाञ्चल पूर्ण प्रजातान्त्रिक वातावरण पुरातनकालदेखि या भनूँ पौराणिक कालदेखि नै प्रचलित रहेको प्रत्यक्ष प्रमाण यसबाट प्राप्त हुन्छ। प्रजाको कल्याणार्थ राजाले जस्तोसुकै कष्ट पनि सहन सक्ने स्थिति स्वतः सृजित हुनु सर्वथा सराहनीय कुरो हो।
जगज्जननी जानकीको जन्मस्थल भएकाले जनकपुर संसारप्रसिद्ध तीर्थस्थल हुन पुगेको छ। तदुपरान्त राम र सीताको सम्पूर्ण वैवाहिक कार्यक्रम यहाँ सम्पन्न भएकाले जनकपुर आज संसारमा प्रसिद्ध पावन तीर्थधामका रूपमा पूजित एवं सम्मानित भएको छ। सीताको स्वयंवर पनि यहाँस्थित वरबिघा मैदामा सम्पन्न भएको थियो भने धनुषयज्ञसमेत यहीं सम्पन्न भएको थियो।
मिथिलानरेश जनक तथा कोशलनरेश दशरथका बिचमा सम्धीमिलन स्थलका रूपमा पनि जनकपुरले नै सौभाग्य प्राप्त गरेको थियो। राम र सीताको विवाहस्थल जनकपुर भएकाले यो ठाउँ नेपाल र भारतका बिच घनिष्ठ मित्रताको सेतुका रूपमा आज पनि सुपरिचित छ। यति मात्र होइन, राजर्षि जनकका चार सुपुत्रीहरूको शुभ विवाह राजा दशरथका चार भाइ सुपुत्रहरूसँग यहीं सम्पन्न भएको थियो। यो वैवाहिक सम्बन्ध संसारप्रसिद्ध छ। कविवर माधव घिमिरेले राम र सीताको वैवाहिक सम्बन्धलाई आफ्नो काव्यमय भाषाशैलीमा लिपिबद्ध गरेर मिथिलाको प्राचीन महत्त्वको लोभलाग्दो वर्णन यसरी गर्नुभएको छ–
जन्मिन् यहीं जानकी
मञ्जरीजस्तै धानकी
माण्डवी, कीर्ति, उर्मिला
बहिनी बालचञ्चला
लावण्यमयी जानकी
गहुँ र गोरी ज्यानकी
अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला।
भक्तहरू जानकीनवमीका शुभअवसरमा जनकपुरमा अवस्थित सरोवरमा एकाबिहानैदेखि स्नान गरी माता जानकीको पूजाआजा एवं शुभदर्शन गरेर आफूलाई धन्य ठान्छन्। जानकीको पावन स्मृतिमा निर्मित जानकी मन्दिरमा दर्शनार्थीहरू जगज्जननी जानकीको दर्शन गर्न आउँछन्। त्यहाँ पूजाआजा गरेर आफ्नो मनोवञ्छित फल प्राप्तिहेतु भाकल गर्छन्। यस अवसरमा विशेष रूपमा जानकी मन्दिरको परिसरलाई सजाइएको हुन्छ। यहाँ प्रसादका लागि फलफूल र मिठाईका पसलहरू पङ्क्तिबद्ध रूपमा राखिएका हुन्छन्।
व्रतालुहरू विशेष गरेर महिला दर्शनार्थीहरूको सहभागिता सराहनीय ढङ्गबाट भएको देखिन्छ। माता जानकी शक्तिको केन्द्रका रूपमा पूजित भएकाले निःसन्तान महिलाहरू सन्तानप्राप्तिका लागि यस अवसरमा विशेष उत्साहित र उमङ्गित देखिन्छन्। जानकीको दर्शनपछि सन्तान प्राप्त गरेका धेरै उदाहरण छन्। भारतको टिकमगढकी महारानीलाई पनि सन्तानप्राप्ति भएकाले नै उनले नौ लाख भारतीय रुपियाँ खर्च गरेर यस मन्दिरको निर्माण गराएकी थिइन्। तसर्थ यस मन्दिरको नाम नै नौलखा मन्दिर हुन गएको छ। यसलाई शीशमहल पनि भनिन्छ।
जानकीनवमीको अवसरमा विशेषतः माता जानकीको पूजाआराधना हुने भएकाले यस दिनमा महिलाहरू दिनभरि उपवास बसी यथासम्भव पूजनसामग्री लिएर जानकी मन्दिरमा पूजाआजा गर्छन्। जानकी मन्दिर परिसरमा महिलाहरूको विशेष भिड हुन्छ। यिनीहरू जानकीप्रति असीम श्रद्धा र अनुपम प्रेम सहज रूपमा प्रकट गर्छन्। यहाँ महिलाहरू आफ्नो अटल सौभाग्यप्राप्तिका लागि पनि वरदान मान्छन्। महिलाका निम्ति आदर्श र अनुकरणीय माता जानकीको श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गर्दा उनीहरूको मनोकाङ्क्षा पूरा नहुने कुरै छैन। आदिशक्ति र भक्तिकी साक्षात् प्रतिमूर्ति जानकी सधैं पूजनीय अनुकरणीय रहँदै आएकाले उहाँको शक्ति र भक्तिमा सम्पूर्ण मिथिलाञ्चलाका महिलाहरू अटल विश्वास राख्छन् र आफ्नो सौभाग्य, सुखसमृद्धि र उन्नतिका लागि अहर्निश जानकनन्दिनी जानकीको भक्ति आराधना गर्छन्।
सीताको अविर्भाव र अवसान
सीता अयोनिजा हुन्, भूमिजा हुन् र कृषिकी देवी हुन्। वैदिक साहित्यमा जुन देवताहरूको उल्लेख पाइन्छ, तिनीहरू प्रकृतिका देवता हुन्। त्यहाँ सीता र उर्वराको उल्लेख पाइन्छ। तैत्तरीय उपनिषद्मा सीता–सावित्री, सूर्यकी सुपुत्री र सोम राजाको उल्लेख गरिएको छ। वैदिक साहित्यमा सीताका दुइटा भिन्नाभिन्नै रूपको उल्लेख भएको पाइन्छ। पहिलो कृषिकी अधिष्ठात्री देवी र दोस्रो राजा सोमसँगको सम्बद्धता। ऋग्वेद (मण्डल–१) मा सीता शब्द अग्नि शिखाको गुणको द्योतकका रूपमा प्रयुक्त छ। ऋग्वेददेखि गुह्य–सूत्रसम्म सीताको वर्णन आर्यजातिमा सीमित रहेको छ। सीताको मानवीकरण कहीं पनि गरिएको छैन। उनमा व्यक्तित्वको आरोपण असम्भव छ। सीता अयोनिजा र भूमिजा तथा कृषिकी देवीका रूपमा पूजित सम्मानित रहेको तथ्य स्वयम्सिद्ध छ।
सीताको लौकिक जन्म र व्यक्तित्वसित सम्बन्धित एउटा तालिका फादर कामिल बुल्केले आफ्नो रामकथामा प्रस्तुत गर्नुभएको छ:
क) जनकात्मजा
महाभारत, हरिवंश, कूर्मपुराण, पउमचरित्रम्, बाल्मीकि रामायण आदि।
ख) भूमिजा
१. प्रचलित वाल्मीकि रामायण तथा अधिकांश रामकथाहरू
२. दशरथ र मेनकाकी मानसपुत्री वाल्मीकीय रामायण
३. देववती अथवा लक्ष्मीकी अवतार
ग) सीता र लङ्का
रावणात्मजा
१. वसुदेव हिन्डी, गुणभद्रकृत उत्तरपुराण, महाभागवत पुराण
२. काश्मीरी रामायण, पाश्चात्य वृत्तान्त नं. १६१
३. तिब्बती तथा खोतानी रामायण
४. सेरत काण्ड, सेरीरामको पातानी पाठ
५. रामकियेन
६. रामजातक, पालक पालाम
पद्मजा
१. दशावतार चरित (११ औं शताब्दी ई.), तोखे रामायण
२. गोविन्दराजको वाल्मीकि रामायण
रत्क्लजा
१. अद्भुत रामायण (१५ औं शताब्दी ई.)
२. सिंहल द्वीपको रामकथा, विविध भारतीय वृत्तान्त
अग्निजा
१. आनन्द रामायण (१५ औं शताब्दी ई., भावार्थ रामायण)
फल अथवा वृक्षबाट उत्पन्न
१. पाश्चात्य वृत्तान्त नं. १९१
२. पाश्चात्य वृत्तान्त नं. ११
दशरथात्मजा
१. दशरथ जातक
२. जावाको रामकेलिंग, मलयको सेरीराम तथा हिकायत महाराज रावण, सीताको जन्मसम्बन्धी दुईवटा पुराकथा
१. भनिन्छ– एकचोटि राजर्षि जनकको राज्यमा भीषण अनिकाल प¥यो। अनावृष्टिले धरती फाट्यो। प्रजाजन त्राहि–त्राहि भए। आफ्ना ऋषिमुनि सल्लाहकारका सल्लाहअनुसार जनक आफैंले हलो चलाउनुभयो। हलो चलाउने क्रममा उहाँले एउटी अलौकिक कन्याको क्रन्दन सुन्नुभयो। जनकको वात्सल्य भावना जन्मियो। उहाँले ती कन्यालाई उठाएर कोखमा राख्नुभयो। त्यस दिनदेखि सीता जनकतनया कहलाउन थालिन्। राजर्षि जनकको राज्यमा चारैतिर राम्रो उब्जनी भयो। यो क्षेत्र मिथिलाञ्चलको नामले प्रसिद्ध भयो। राजर्षि जनकलाई मिथिलेश्वरको नामले बोलाइन्थ्यो र सीतालाई मैथिलीको नामले।
२. अर्को पुराकथाअनुसार मिथिलाञ्चल क्षेत्रका ऋषिमुनिहरूको हत्या गरी उनीहरूको रगतलाई जम्मा गरेर एउटा घैंटामा राखी त्यसलाई भुइँमा गाडिएको थियो। हलो जोत्ने क्रममा त्यो घैंटो फुट्यो र त्यसबाट एउटी अलौकिक बालिकाका रूपमा सीता जनकलाई प्राप्त भइन्।
३. संस्कृत साहित्यमा सीता: रामायण र महाभारतमा सर्वप्रथम सीताको जन्मबारे उल्लेख पाइन्छ। वाल्मीकि रामायणमा उहाँलाई ‘जनकात् जाता’ भनिएको छ तर यसबाट सीता जनककी सुपुत्री हुनुहुन्थ्यो भन्ने कुरा प्रस्ट हुँदैन। वायु र पद्मपुराणमा सीताका पिताको नाम ‘शिरध्वज’ भनिएको छ। यस पुराकथाको पुष्टि ‘सीतायन’मा यसरी गरिएको छ–
‘अब राजा लांगल्ल फिरावे, तब सुदल परजा सुख पावे
महि–पूजा अज बहु विधि करई, तबहिं प्रजा दुख संशय लरई’
–स्वामीश्री रामप्रियाशरणजी: सीतायन, पृ. ६
‘पावन भूमि सोहावन भयउ। रानी राय तहाँ तब गयउ,
भूमि पूजि बहुविधि अनुरागे। धरि लांगल्ल चलावन लागे
प्रगट भइँ सीता तेहि काला। सिया र रस मुद मंगल मला।’ –ऐजन पृ. ६
महाकवि भवभूतिले ‘उत्तररामचरित’मा शीरध्वज शब्दको प्रयोग जनकको पर्यायको रूपमा गरेका छन्। यसबाट के सिद्ध हुन्छ भने त्यस बखतसम्म सीता जनककी सुपुत्रीका रूपमा प्रसिद्ध भइसकेकी थिइन्।
वाल्मीकि रामायणमा सीता: वाल्मीकि रामायणमा सीताको चरित्राङ्कन महाकाव्यकी नायिकाका रूपमा गरिएको पाइन्छ। उनको चरित्रको गरिमाको कारणले गर्दा कदाचित् अनेक ठाउँमा लक्ष्मीका साथ उनको सौम्यको वर्णन गरिएको छ। कालान्तरमा जसरी रामको व्यक्तित्वको ईश्वरीकरण हुँदै गयो र उनी विष्णुको अवतारको रूपमा प्रसिद्ध हुँदै गए।
त्यसरी नै सीतालाई पनि विष्णु पत्नी लक्ष्मीको अभिन्न अंग सम्झिन थालियो। वाल्मीकि रामायणको प्रक्षिप्त अंशमा लक्ष्मी र सीतामा कुनै भेदभाव देखाइएको छैन। पुराणहरूमा त उनलाई साक्षात् लक्ष्मीको अवतार मानिएको छ। ‘रघुवंश’ महाकाव्यमा पनि उनको दैवी रूपको प्रतिष्ठा कायम नै छ। राम र सीताको व्यक्तित्वको दैवीकरणको क्रममा उनमा प्रकृतिको संज्ञा प्रदान गरिएको छ। स्कन्द पुराणमा बह्म विद्याको साक्षात् अवतार भनिएको छ। बौद्ध र जैन साहित्यमा सीतासम्बन्धी अनेक उल्लेख पाइन्छन्।
विदेशी रामकथाहरूमा सीता: विदेशमा प्रचलित रामकथाहरूमा पनि सीतासम्बन्धी यस्तै प्रकारको विकृत कल्पना भेटिन्छ। कहीं उनलाई मन्दोदरी पुत्री, कहीं रामकी बहिनी र कहीं माता बताइएको छ। संस्कृत काव्यमा सीता अनेक चारित्रिक विशेषतालाई चित्रित गरिएको छ। कालिदासद्वारा रघुवंशमा सीतालाई रामकी आदर्श पत्नीका रूपमा प्रस्तुत गरिएको छ। कालिदासले उनलाई अयोनिजा नै बताएका छन्।
आठौं शताब्दीमा रचित कुमारदास कृत ‘जानकीहरण काव्य’मा उनको चरित्रको करुण पक्षको चित्रण भएको छैन। अभिनवकृत रामचरित, क्षेमेन्द्रकृत ‘रामायणमञ्जरी’ आदि काव्यहरूमा सीताको चरित्रचित्रण पौराणिक परम्पारअनुरूप नै भएको छ। सीताको व्यक्तित्वमा पतिव्रता धर्मका साथसाथ उनको लक्ष्मीको अवतारको कल्पना बद्धमूल हुँदै आयो, जसबाट सबै परवर्ती काव्य अनिवार्य रूपबाट प्रभावित हुँदै गयो। सत्रौं शताब्दीको चक्रकविकृत ‘जानकी परिणय’मा पनि उनलाई अनन्त सौन्दर्यशालिनी महालक्ष्मीको स्वरूपमा चित्रण गरिएको छ।
संस्कृत नाट्य–साहित्यमा पनि रामका साथै सीताको व्यक्तित्वमा उत्तरोत्तर गौरव–गरिमाको वृद्धि र दैवी स्वरूपको प्रतिष्ठा हुँदै आएको देखिन्छ। भासकृत ‘प्रतिमा’ र ‘अभिषेक’ नाटकहरूमा सीतालाई साक्षात लक्ष्मी मानिएको छ। अग्नि परीक्षाको समयमा स्वयं अग्निदेवता प्रकट भएर सीतालाई ‘इमा भगवती लक्ष्मी’ भनेर सम्बोधित गर्छन्। सीताको करुण व्यक्तित्वको सबैभन्दा धेरै प्रभावशाली चित्र भवभूतिको ‘उत्तररामचरित’मा पाइन्छ। ‘हनुमन्नाटक’मा सीता स्वयंवर, रामसीता विवाह र सीताहरणको चित्रणमा सीताको अप्रतिभ सौन्दर्य, रतिविलास र विरह–व्याकुलताको सरस चित्रण पाइन्छ। सीतासम्बन्धी यिनै निर्देशहरू र चित्रणहरूका आधारमा हिन्दीका महाकवि तुलसीदासले उनको व्यक्तित्वको परम विकसित रूप आफ्नो ‘रामचरित मानस’मा प्रस्तुत गरे। तुलसीदासले सीताको चरित्रचित्रण गर्दा आदर्श पत्नीको रूपमा प्रस्तुत गर्दै उनलाई माता, अम्बा, जगज्जननी आदि सम्बोधनबाट विभूषित गर्दा थाक्दैनन्।
‘सीतायन’मा सीताको चरित्रकथा लिपिबद्ध गरिएको छ। यस ग्रन्थको रचना मिथिला निवासी शृङ्गारी रामोपासक रामप्रिया शरणले १७०३ मा गर्नुभएको थियो। सीताको चरित्रकथामा आधारित यो ग्रन्थ हिन्दीको एक मात्र प्रबन्ध काव्य हो भनिन्छ।
मैथिली भाषामा चन्दा झाले सीतालाई प्रमुख पात्र बनाएर रामायण लेख्नुभएको छ। यसलाई चन्दा झाको रामायण भनिन्छ। उहाँका अनुसार–
भूमि विशुदि यज्ञ करवाक,
नृपतिहुँ काँ भेल हर घरबाह।
देखल ततय हम जोतइत भूमि,
बहराइलि कन्या काँ धूमि।
हरक अग्र सँ उखरलि जानि,
सीतानाम अर्थसंभामि।
(महाकवि चन्दा झा, रामायण, बालकाण्ड)
नेपालीका आदिकवि भानुभक्तले वाल्मीकिकृत आध्यात्म रामायणको अनुवाद गरेर राम र सीताको अलौकिक व्यक्तित्वको निरूपण गरी एउटा उदाहरणीय काम गर्नुभएको छ। भानुभक्तले सीताको महिमामय र गरिमामय व्यक्तित्वको वर्णन भानुभक्तीय रामायणमा गर्नुभएको छ। नेपाली भाषामा रचित रामायणमा पनि उहाँले सीताको व्यक्तित्वलाई अनुकरणीय बनाउनुभएको छ।
विद्वान्हरूले ‘सीता’ शब्दको अर्थ भिन्नाभिन्नै किसिमबाट गरेका छन्–
१. सूयते (चराचरम् जगत्) इति सीता अर्थात् जसले जगत्को उत्पत्ति गर्छ, उसको नाम सीता हो।
२. सवति इति सीता अर्थात् जो ऐश्वर्ययुक्त हुन्छ, उसको नाम सीता हो।
३. स्यति इति सीता अर्थात् जो संहार गर्छ अथवा भक्तहरूको क्लेशको हरण गर्छ, उसको नाम सीता हो।
४. सयति–इति सीता अर्थात् भक्तहरूको सद्बुद्धिको प्रेरणाद्वारा कल्याण गर्ने भएकाले सीता नाम सार्थक भयो।
५. सिनोति इति सीता अर्थात् आफ्ना दिव्य गुणहरूले परापर ब्रह्म श्रीरामलाई बाँध्ने (वशमा गर्ने) भएकाले सीता नाम रहेको हो। केही विद्वान्हरूका अनुसार सीताभक्त रक्षणार्थ सर्वत्र गमन गर्छ र सर्वगत अर्थात् व्यापक छ अथवा चिन्मयी ज्ञान स्वरूपिणी छ। रामायणका प्रसिद्ध विद्वान् पं. श्रीकातशरणले ‘सीता’ शब्दको अर्थको व्याख्या गर्दै भनेका छन्– सृष्टि विस्तार रूप उत्पत्ति, स्थिति, संहारकारिणी। श्रीरामलाई जीवहरूको प्रार्थना सुनाएर रक्षा गर्नमा क्लेशहरिणी र चराचर जगत् मात्रबाट सेवित भएर जगत्को कल्याण गर्ने सर्वश्रेयस्करी।
परमात्मा श्रीरामको पराशक्तिका जति पनि नाम छन्, तिनमा सीताप्रधान नाम हो। यी भगवान् श्रीरामकी महामाया हुन्। यी ब्रह्मस्वरूपिणी एवं समस्तमायाहरूकी परम कारण हुन्। श्री रामचरितमानसमा पनि गोस्वामी श्रीतुलसीदासले सीताजीको वन्दना गर्दै भन्छन्–
‘उद्भव स्थिति संहारकारिणी कलेशहारिणीम्
सर्वश्रेयस्करी सीतां नतोऽहं रामवल्लभाम्।’
(म उत्पत्ति, पालन, संहार गर्ने, क्लेशहरूलाई हरण गर्ने र जगत्को सम्पूर्ण कल्याण गर्ने श्रीरामचन्द्रकी प्रिया सीताजीलाई प्रणाम गर्छु।)
सबै शास्त्रहरूमा के पाइन्छ भने सर्वत्र श्रीरामभन्दा पूर्व सीताजीको वन्दना गरिन्छ। यस्तै नामभेदले अन्य देव कृष्ण, विष्णु अथवा शङ्करभन्दा पहिला क्रमशः तिनका शक्ति राधा, लक्ष्मी अथवा गौरीको उपासना गरिन्छ। श्रीराम नै कृष्ण, विष्णु अथवा शङ्कर रूपमा विराजमान हुनुहुन्छ र सीताजी नै राधा, लक्ष्मी, अथवा गौरीको रूपमा प्रतिष्ठित हुनुहुन्छ।
प्रकाशित: ३० जेष्ठ २०८३ ११:१९ शनिबार