धर्म/संस्कृति

तिहारलाई साढे ६४ करोडको झिलिमिली बत्ती आयात

तिहार विशेष

उज्यालो र फूलहरूको पर्वका रूपमा परिचित तिहार सुरु भएसँगै बजारमा अहिले झिलिमिली बत्तीको कारोबारले गति लिन थालेको छ। कात्तिक २१ गतेदेखि तिहार (यमपञ्चक) सुरु हुँदै गर्दा घर, पसल, व्यापारिक प्रतिष्ठान, होटल तथा रेस्टुरेन्ट सजाउने विद्युतीय झिलिमिली बत्तीको माग बढ्न थालेको हो।

नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) सुरु भएपछि बजारमा झिलिमिली उज्यालो र मिठाइको रौनक बढेको छ। प्रकाशको पर्वका रूपमा मनाइने तिहारलाई लक्षित गर्दै यस वर्षको बजारमा झिलिमिली बत्ती तथा मिठाइको व्यापारले गति लिएको सम्बन्धित व्यवसायीको भनाइ छ।

भन्सार विभाग र बजारको प्रारम्भिक विवरणअनुसार तिहारलाई सिँगार्ने विद्युतीय सामग्री र भाइ मसलासहित मिठाइको कारोबारमा विगत वर्षको तुलनामा यसपालि केही फेरबदल र मूल्यवृद्धिसहित उच्च चहलपहल देखिएको छ।

तिहारलाई लक्षित गरेर व्यवसायीले ठूलो परिमाणमा झिलिमिली बत्ती आयात गरेका छन्। यसवर्ष आयात गरिएका सामानको मूल्य बढे पनि परिमाण भने घटेको छ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ६४ करोड ५२ लाख रुपैयाँ बराबरका झिलिमिली बत्ती आयात भएका छन्। साउनदेखि असोज मसान्तसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान झिलिमिली बत्ती आयात भएका थिए। यसरी गत वर्षको तुलनामा यसवर्ष आयातको मूल्य करिब आठ प्रतिशतले बढेको छ भने आयातित परिमाण करिब २७ प्रतिशतले घटेको छ। यसले बजारमा झिलिमिली बत्तीको आयात लागत बढेको र कम परिमाणका सामग्री भित्र्याउन पनि व्यवसायीले बढी रकम खर्च गर्नुपरेको छ। तिहारको मुख्य बिक्री सिजन सुरु हुँदा आयात मूल्य र बजारको वास्तविक मागबिचको अन्तरले व्यवसायीलाई थप चुनौती दिएको छ।

यस वर्ष २१ कात्तिकदेखि काग तिहारसँगै यमपञ्चक सुरु हुँदैछ। २२ कात्तिकमा कुकुर तिहार तथा लक्ष्मीपूजा, २३ कात्तिकमा गाईपूजा, २४ कात्तिकमा गोवद्र्धन पूजा तथा म्हःपूजा र २५ कात्तिकमा भाइटीका मनाइनेछ। यससँगै बजारमा बत्तीको बिक्री र सजावटको गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ।

यस वर्ष झिलिमिली बत्तीको मूल्य गत वर्षको तुलनामा १५ देखि २५ प्रतिशतसम्म बढेको सम्बन्धित व्यवसायीले बताएका छन्। कच्चा पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि र अन्तर्राष्ट्रिय ढुवानी खर्च महँगिएका कारण आयातित विद्युतीय सामग्रीको मूल्य बढेको व्यवसायीको भनाइ छ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष दिलिपकुमार आग्रवालले चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान आयात गर्न नसक्दा ढुवानी लागत थप बढेको जानकारी गराउँदै उनले यसपाली गत भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भिषण बाढी, त्यसपछि कालीगण्डकी र बुढीगण्डकीमा आएको बाढीको प्रभाव तिहार बजारमा परेको बताए। उनले बाढीपहिरोले धेरै मानवीय र धनजनको क्षति भएकाले यसपालिको तिहारमा विगतका वर्षहरूमा जस्तो रौनक नभएको बताए।

व्यापार पनि विगतका वर्षहरूमा भन्दा निकै कम रहेको बताउँदै अग्रवालले भने, ‘यसवर्षको तिहारमा अधिकांश ग्राहक खासै उत्साहित छैनन्।’ विद्युतीय सामाग्री लिन पसलमा आइपुग्ने धेरैले यस्तो पीडामा तिहार मनाउने रौनक नै नभएको बताए।

उनले यस वर्ष व्यापारीलाई पनि आफ्नो व्यवसाय सञ्चालनमा निकै कठिनाइ भएको बताए। बाढीले सडक र पुल भत्काएको हुँदा उत्तरी नाकाबाट आउने समान अर्को लामो बाटोबाट ल्याउँदा ढुवानी लागत थप बढेको जानकारी उनले दिए। उनले केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा सस्तो पर्ने भए पनि नाका तथा ढुवानी मार्गमा देखिएको अवरोधका कारण वीरगन्जलगायत अन्य नाकाबाट सामान ल्याउनुपर्ने बाध्यता रहेको बताए।

महासंघकाअनुसार यसपालि गत भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढी, त्यसपछि कालीगण्डकी र बुढीगण्डकीमा आएको बाढीले सडक र पुल भत्काएको हुँदा उत्तरी नाकाबाट ल्याउने गरिएका समान अर्को लामो बाटोबाट ल्याउँदा ढुवानी लागत थपिएको छ। लामो समय चीनतर्फका व्यापारिक नाका ठप्प छन्। विस्तारै सो नाकामा यातायातका साधन सञ्चालन गर्न अस्थायी रूपमा अबरोध हटाउने र बेलिब्रिज राख्ने काम भइरहेको छ।

चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान आयात गर्न नसक्दा ढुवानी लागत थप बढेको अधिकांश व्यवसायीको गुनासो छ। महासंघ नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक सामग्रीका उत्पादक, बिक्रेता एवं व्यवसायीहरूको अधिकार र पेशागत हित संरक्षण गर्ने राष्ट्रियस्तरको छाता संस्था हो।

व्यवसायीकाअनुसार मूल्य बढे पनि बजारमा उपभोक्ताको माग भने कायमै छ तर आयातित सामग्रीको मूल्य बढ्नु र उपभोक्ताको क्रयशक्ति कमजोर हुनुका कारण कारोबार अपेक्षाअनुसार विस्तार हुन सकेको छैन।

यस वर्ष झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तारदेखि बाहिरी आवरणमा प्रयोग हुने प्लास्टिकसम्मका कच्चा पदार्थको मूल्य बढेको व्यवसायीको दाबी छ। व्यवसायीले कच्चा पदार्थको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर बढेकाले पनि आयात लागत वृद्धि भएको बताएका छन्।  

व्यवसायीकाअनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलर थियो। अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन नसकिने अवस्था छ। ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्ताले खरिद गर्ने सामग्रीको मूल्यमा पर्ने उनले बताए।

चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित तवरले सामग्री ल्याउन नसक्दा पनि आयात लागत बढेको उनीहरूको भनाइ छ।

चीन र भारतमा निर्भर बजार

महासंघका अनुसार नेपालको झिलिमिली बत्तीको बजार विशेषगरी आयातमा निर्भर छ। तिहारका लागि बजारमा बिक्री हुने अधिकांश विद्युतीय सजावटका बत्ती चीन र भारतबाट आयात गरिन्छन्।

विशेषगरी चीनबाट आउने एलइडी बत्ती, विभिन्न डिजाइनका झालर, रोप लाइट, वाटरफल लाइट, स्ट्रिप लाइट तथा अन्य सजावटका सामग्रीको बजारमा ठूलो हिस्सा छ। नेपालमा यस्ता सामग्रीको व्यावसायिक उत्पादन न्यून रहेकाले तिहारको माग पूरा गर्न व्यवसायीहरू विदेशी बजारमै निर्भर हुनुपर्ने अवस्था छ। यसले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यवृद्धि, ढुवानी समस्या र विनिमय दरको उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने गरेको छ।

यस वर्ष चीनतर्फका ढुवानी मार्गमा देखिएको अवरोध, कन्टेनर अभाव तथा बाढीपहिरोका कारण आयात प्रभावित भएको सम्बन्धित व्यवसायीको भनाइ छ।

भदौ र असोजको दोस्रो सातासम्म आएको बाढीपहिरोका कारण चीनबाट आयात हुने क्रममा भोटेकोसी क्षेत्रमा करिब दुई करोड रुपैयाँ बराबरका विद्युतीय बत्ती तथा सजावटका सामग्रीमा क्षति पुगेको प्रारम्भिक अनुमान व्यवसायीले गरेका छन्। अझै क्षतिको एकिन विवरण प्राप्त नभएको महासंघले जनाएको छ।

व्यवसायीका अनुसार आपूर्तिमा देखिएको समस्याले बजारमा पर्याप्त सामग्री उपलब्ध गराउन चुनौती थपेको छ। विशेषगरी तिहारको मुख्य बिक्री अवधि नजिकिँदै गर्दा मागअनुसार सामान उपलब्ध गराउन नसकिए कारोबार प्रभावित हुने व्यवसायीको चिन्ता छ।

वार्षिक कारोबारको ठूलो हिस्सा तिहारमा

नेपाल विद्युतीय व्यवसायी महासंघकाअनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये करिब ८० देखि ८५ प्रतिशत कारोबार तिहारको समयमा हुने गरेको छ। बाँकी कारोबार छठ, क्रिसमस, अंग्रेजी नयाँ वर्ष, विवाह, व्रतबन्ध, होटल तथा रेस्टुरेन्टको सजावटलगायत विभिन्न उत्सवमा हुने गरेको छ।

यस तथ्यांकले तिहार विद्युतीय सजावटका सामग्री बिक्री गर्ने व्यवसायीका लागि सबैभन्दा महत्त्वपूर्ण व्यापारिक सिजन भएको देखाउँछ। सामान्यतया तिहार आउनुभन्दा केही साताअघिदेखि बजारमा बत्तीको बिक्री सुरु हुन्छ तर वास्तविक कारोबार लक्ष्मीपूजाको आसपास बढी हुने गरेको व्यवसायीको अनुभव छ। घर तथा व्यापारिक प्रतिष्ठानमा लक्ष्मीको स्वागतका लागि आकर्षक बत्ती बाल्ने चलनले तिहारको बेला बजारको माग उच्च हुने गर्छ।

विशेषगरी काठमाडौंको भोटेबहाल, न्युरोड, असन, इन्द्रचोक, सुन्धारा तथा अन्य व्यापारिक क्षेत्रमा झिलिमिली बत्तीको बिक्री हुने गरेको छ। यस्तै, देशका प्रमुख सहर र ग्रामीण बजारमा समेत विद्युतिय सामग्रीको माग विस्तार हुँदै गएको महासंघले जनाएको छ।

रोप लाइट र वाटरफल बत्तीमा आकर्षण

विशेषगरी तिहारमा उपभोक्ताको रोजाइमा विभिन्न प्रकारका झिलिमिली बत्ती पर्ने गरेका छन्। सामान्य विद्युतीय माला, रंगीबिरंगी झालर, रोप लाइट, वाटरफल बत्ती, स्ट्रिप लाइट, पाइप लाइट तथा नेट झालर बढी बिक्री हुने सामग्री हुन्।

त्यस्तै लक्ष्मी–गणेशका विद्युतीय मूर्ति, बल्ने दियो, देवीदेवताका तस्बिरमा प्रयोग हुने बत्ती तथा विभिन्न आकारका सजावटी लाइटको माग पनि बढ्ने गरेको महासंघले जनाएको छ। पछिल्लो समय घरको छत, बरन्डा, कौसी, बगैंचा, पर्खाल र प्रवेशद्वार सजाउन फरक–फरक डिजाइनका बत्ती प्रयोग गर्ने प्रवृत्ति बढेको छ। पहिले मुख्यतः सहरका घर तथा पसलमा सीमित रहेको विद्युतीय सजावट अहिले गाउँगाउँसम्म विस्तार भएको व्यवसायीको अनुभव छ।

यसैगरी नयाँ घर निर्माण गर्ने परिवारले सुरुका वर्ष घर आकर्षक देखाउन झिलिमिली बत्तीमा बढी खर्च गर्ने गरेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण ग्रामीण क्षेत्रमा समेत यस्ता सामग्रीको खपत बढेको व्यवसायीको भनाइ छ।

झिलिमिली बत्तीको कारोबारमा अहिले पुरानालाई पनि प्रयोग गर्दा थप चुनौतीका रूपमा हेरिएको व्यवसायीले बताएका छन्। व्यवसायीका उपभोक्ताले पुराना बत्ती पुनः प्रयोग गर्ने प्रवृत्ति देखिएको छ।

विगतमा सामान्य गुणस्तरका बत्ती छिट्टै बिग्रिने भएकाले उपभोक्ताले हरेक वर्ष नयाँ बत्ती किन्ने गरेका थिए तर अहिले तुलनात्मक रूपमा टिकाउ र गुणस्तरीय एलइडी बत्ती बजारमा उपलब्ध हुन थालेपछि एउटै बत्ती धेरै वर्षसम्म प्रयोग गर्ने प्रवृत्ति बढेको छ। यसले वातावरणीय दृष्टिले सकारात्मक प्रभाव पारे पनि बत्तीको मौसमी कारोबारमा निर्भर व्यवसायीका लागि भने बिक्री विस्तार गर्न चुनौती थपेको छ।

महासंघका अनुसार पछिल्ला वर्षमा उपभोक्ताको क्रयशक्ति, घरजग्गा कारोबारमा आएको सुस्तता र युवाहरूको विदेश पलायनले समेत बजारलाई प्रभावित पारेको छ। आर्थिक गतिविधिमा आएको सुस्तताले चाडपर्वमा हुने अतिरिक्त खर्चमा पनि असर पारेको व्यवसायीको बुझाइ छ।

परम्परागत दियोसँगै आधुनिक बत्तीको आकर्षण

तिहारको मौलिक पहिचान भने परम्परागत दियो, पाला र तेलका बत्ती हुन्। घरको मूलढोका, आँगन, झ्याल तथा तुलसीको मठमा माटोका दियो बाल्ने परम्परा अझै कायम छ। पछिल्लो समय परम्परागत दियोसँगै विद्युतीय झिलिमिली बत्ती प्रयोग गर्ने चलन पनि व्यापक बनेको छ।

 विशेषगरी लक्ष्मीपूजाको दिन घर तथा व्यापारिक प्रतिष्ठानलाई आकर्षक बनाउने उद्देश्यले विद्युतीय बत्तीको प्रयोग गरिन्छ। यसले तिहारको सांस्कृतिक र धार्मिक महत्त्वसँगै विद्युतीय सजावटको बजारलाई पनि विस्तार गरेको छ। यसपाली विगतका वर्षमा जस्तो बजारमा झिलिमिली बत्तीको रौनक नभएको व्यवसायीको भनाइ छ।

आयातको मूल्य बढ्नु, परिमाण घट्नु, ढुवानीमा समस्या आउनु र उपभोक्ताको क्रयशक्ति कमजोर हुनुले यस वर्षको झिलिमिली बत्तीको व्यापारलाई चुनौतीपूर्ण बनाएको अधिकांश व्यवसायीको गुनासो छ। यद्यपि तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण बजारमा माग रहने व्यवसायीको अपेक्षा छ।

तिहारको मुख्य बिक्री अवधि केही दिनमै सीमित हुने भएकाले आगामी दिनमा हुने कारोबारले यस वर्षको समग्र व्यापारको अवस्था निर्धारण गर्नेछ। आयात मूल्य बढे पनि उपभोक्ताको खरिद क्षमता र बजारको मागले साथ दिएमा झिलिमिली बत्तीको कारोबार सन्तोषजनक हुन सक्ने व्यवसायीको अपेक्षा छ।

आयातको परिमाण र मूल्यमा अन्तर

असोज मसान्तसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष बत्ती आयातको कुल मूल्य करिब ८ प्रतिशतले बढेको भए पनि परिमाण भने करिब २७ प्रतिशतले घटेको व्यवसायीको भनाइ छ।

माग बमोजिम सामान आयातमा भएको समास्याका बाबजुद पनि आधुनिक झिलिमिली र ‘एलइडी’ लाइटको आकर्षण बढसँगै परस्परागत माटाका दियो, माटोको पाला र हुक्कापातीको महत्त्व अझै घटेको छैन। ग्रामीण क्षेत्रका साथै सहरहरूमा समेत कुमाले समुदायले बनाएका माटोको दियो तथा स्थानीय रूपमा तयार पारिने हुक्कापातीको व्यापार पनि उत्तिकै राम्रो छ।

दसैंलगत्तै सुरु हुने तिहारले नेपालको समग्र खुद्रा व्यापार, यातायात, कृषि (फूल र माला) र विद्युतीय क्षेत्रलाई चलायमान बनाउँछ। चाडपर्वको अवसरमा व्यापारीले मूल्यमा केही छुट, आकर्षक अफर र उपहार योजनासहित उपभोक्ता आकर्षित गरिरहेका छन्। यद्यपि केही वस्तुमा देखिएको मूल्यवृद्धिका कारण मध्यम वर्गीय उपभोक्ताले बजेटको सन्तुलन मिलाएर किनमेल गरिरहेको अवस्था छ।

प्रकाशित: २० कार्तिक २०८३ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App