सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको यो स्कुटर कम्पनीको विद्युतीय मोबिलिटी विकास यात्राको अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ।
नेपालका विविध तथा चुनौतीपूर्ण सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर पी२ को विकास गरिएको कम्पनीको भनाइ छ। उकालो बाटो, घुम्ती सडक, दैनिक सहरी ट्राफिकदेखि लामो दूरीको यात्रासम्मलाई लक्षित गर्दै पी२ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ।
पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ। ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रंग, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्ने कम्पनीले जनाएको छ।
नेपाली सडकका लागि इन्जिनियरिङ
पी२ मा पीएमएसएम मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ। विभिन्न सडक तथा ड्राइभिङ अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता दिने गरी मोटर डिजाइन गरिएको कम्पनीको दाबी छ। यसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ।
एक्टिभली कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
स्कुटरमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ। यसले विभिन्न प्रकारका नेपाली सडकमा स्थिरता र नियन्त्रण कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्ने कम्पनीले जनाएको छ।
तीन ब्याट्री विकल्प
पी२ मा ग्राहकको दैनिक यात्राको आवश्यकताअनुसार तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्।
३.० केडब्लुएच ब्याट्री — सहरी एवं सामान्य अवस्थामासम्म ९० किलोमिटरसम्म रेन्ज
३.७ केडब्लुएच ब्याट्री — सहरी एवं सामान्य अवस्थामासम्म ११२ किलोमिटरसम्म रेन्ज
५.२ केडब्लुएच ब्याट्री — सहरी एवं सामान्य अवस्थामासम्म १५७ किलोमिटरसम्म रेन्ज
थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्सटेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
पी२ का ब्याट्री सिस्टमहरू नेपाली प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएको र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको कम्पनीको भनाइ छ। कम्पनीले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ।
दैनिक प्रयोगलाई ध्यानमा राखेर चार्जिङ
पी२ मा इन–बिल्ट अनबोर्ड चार्जर रहेको छ। यसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकेर हिँड्नुपर्ने आवश्यकता नपर्ने कम्पनीले जनाएको छ।
ब्याट्रीको कन्फिगरेसनअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने जनाइएको छ। लामो यात्रा वा छिटो चार्ज आवश्यक पर्ने अवस्थामा पी२ ले डीसी फास्ट चार्जिङसमेत सपोर्ट गर्छ। तोकिएको चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
शहरबाहिर यात्रा गर्ने पी२ प्रयोगकर्तालाई समेत सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गर्दै आएको जनाएको छ।
राइडर र कनेक्टेड राइडिङ प्रविधि
पी२ मा ७–इन्च टीएफटी डिस्प्ले उपलब्ध छ, जसमा एप्पल कारप्ले र एन्ड्रोएड अटो को सुविधा पनि समावेश गरिएको छ। डिस्प्लेमार्फत नेभिगेसन तथा आवश्यक राइडिङसम्बन्धी जानकारी हेर्न सकिन्छ।
इन्टिग्रेटेड सेन्सरहरूले कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल टाइममा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
पी२ को कनेक्टेड आर्किटेक्चरमार्फत स्कुटरलाई फोरजी कनेक्टिभिटी प्रयोग गरी प्रयोगकर्ताको नेटवर्कसँग जोड्न सकिन्छ। मोबाइल एपमार्फत लाइभ भेहिकल ट्र्याकिङ, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ र सर्भिस अपोइन्टमेन्टलगायतका सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
स्कुटरमा प्रोक्सिमिटी डिटेक्सन प्रविधिसमेत रहेको छ, जसले चाबीबिना स्कुटर चलाउन सकिने सुविधा प्रदान गर्छ।
सहज र आरामदायी राइडिङ
विभिन्न सडक तथा राइडिङ अवस्थाअनुसार स्कुटरको अनुभवलाई आफूअनुकूल बनाउन पी२ मा मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड र मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन्।
बारम्बार रोकिनुपर्ने सहरी ट्राफिक तथा लामो यात्रालाई ध्यानमा राखेर हिल होल्ड र क्रुज कन्ट्रोलजस्ता सुविधा पनि राखिएको कम्पनीले जनाएको छ। रिजेनेरेटिभ ब्रेकिङले गति घटाउँदा केही ऊर्जा पुनः विद्युत ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग गर्नेछ।
सुरक्षालाई प्राथमिकता
पी२ मा क्लास-डी हेडलाम्पलगायतका सुरक्षा तथा प्रकाशसम्बन्धी सुविधा छन्। रिजन–रिस्पोन्स टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई त्यसको संकेत दिने कम्पनीले जनाएको छ।
कनेक्टेड प्लेटफर्ममार्फत एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लकजस्ता सुविधा पनि उपलब्ध छन्। यसले स्कुटर पार्क गरेर राखिएको अवस्थामा थप सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ।
आफूअनुकूल बनाउन सकिने
पी२ लाई ग्राहकको आवश्यकता र रुचिअनुसार आफूअनुकूल बनाउन सकिने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। अनलाइन कन्फिगुरेटरमार्फत ग्राहकले स्कुटरको रंग, ब्याट्री क्षमता, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन्।
कन्फिगुरेटरमार्फत ग्राहकले आफूलाई मनपर्ने पी२ को कन्फिगरेसन तयार गरी अर्डर गर्नुअघि नै त्यसको अनुभव र उपलब्ध विकल्प हेर्न सक्ने कम्पनीले जनाएको छ।
अक्टोबरदेखि एक्सपेरियन्स सेन्टर र डेलिभरी
काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ एक्सपिरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्यहाँ ग्राहकले पी२ लाई प्रत्यक्ष अनुभव गर्न, टेस्ट राइड लिन तथा बुकिङ गर्न सक्नेछन्।
नाडा अटो शो का क्रममा पी२ बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएपछि स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
३.७ केडब्लुएच र ५.२ केडब्लुएच भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुने तय गरिएको छ भने अन्य सबै भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ।
'बोर्न हियर, बिल्ट फर द वर्ल्ड'
पी२ सिप्रदी यात्रीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम भएको कम्पनीले जनाएको छ। यसमा भेहिकल इन्जिनियरिङ, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा एकीकृत गरिएको छ।
पी२ मार्फत नेपालमा विकास गरिएको विद्युतीय मोबिलिटीलाई स्थानीय सडक तथा परिस्थितिअनुकूल इन्जिनियरिङ गर्न सकिने देखाउँदै विश्व बजारका लागि आवश्यक प्रविधि र कार्यक्षमता समेट्ने कम्पनीको उद्देश्य रहेको जनाएको छ।
प्रकाशित: २ आश्विन २०८३ ११:५६ शुक्रबार



