अपराध

सुर्खेत किशोरी हत्या प्रकरणका दोषीलाई कडा कारबाही गर्न माग

नेपाल दलित मुक्ति मोर्चा जुम्लाले सुर्खेत मा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मोर्चाले सोमबार जारी गरेको विज्ञप्तिमा फागुन २३ गते भेरीगंगा नगरपालिका–१ की किशोरीलाई भेरीगंगा–४ स्थित शहीद पार्क नजिकको जंगलमा लगेर बलात्कार गरी विभत्स हत्या गरिएको उल्लेख गरेको छ।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुर्खेत मा सामूहिक बलात्कार र हत्या सम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन्। जाहेरीका आधारमा प्रहरीले अनमोल गौली, विपेश ढकाल, आशिष ढकाल र गोविन्द ढकाललाई नियन्त्रणमा लिएको छ।

तर मोर्चाले दोषीलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग गरेको छ। “बालिका र किशोरीको जीवनमाथि भएको यस विभत्स अपराधमा दोषीलाई छुट दिन खोजिए समाजमा असुरक्षा र डर झनै बढ्नेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

मोर्चाका जुम्ला अध्यक्ष चन्द्रबहादुर नेपालीले निष्पक्ष छानबिन र कडा कारबाही बाहेक पीडितलाई न्याय दिलाउने अन्य विकल्प नरहेको बताए।

उनका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा हुने यस्ता घटनामा प्रमाण संकलन, अनुसन्धान प्रक्रिया र पीडितको सुरक्षामा चुनौती हुने गरेको छ। घटनास्थलको दुर्गमता, अनुसन्धानमा ढिलाइ तथा सामाजिक दबाबका कारण कानुनी प्रक्रिया प्रभावित हुन सक्ने भन्दै मोर्चाले चिन्ता व्यक्त गरेको छ।

मोर्चाले किशोरी हत्या प्रकरणलाई केवल व्यक्तिगत पीडा नभई समाजमा फैलिएको असुरक्षा र डरको प्रतीकका रूपमा लिएको छ। यस्ता घटनाले महिला तथा बालिकाको स्वतन्त्रता, शिक्षा र सामाजिक सहभागितामा गम्भीर असर पर्ने उल्लेख गरिएको छ।

नेपाल दलित मुक्ति मोर्चा जुम्लाले सरकारसँग पीडित परिवारलाई न्याय दिलाउन, दोषीमाथि कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना रोक्न प्रभावकारी नीति तथा सुरक्षा संयन्त्र निर्माण गर्न माग गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८२ २०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App