अपराध

सिभिल मलको पाँचौं तलाबाट ६ थान नक्कली पेस्तोलसहित एक जना पक्राउ

काठमाडौंमा सक्कली जस्तै देखिने नक्कली हतियार बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छानबिन गर्दा छ थान नक्कली पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले भदौ ५ गते दिउँसो करिब १२:३० बजे काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सिभिल मलको पाँचौं तलामा रहेको द ट्वय स्टोर इन्टरप्राइजेजमा खानतलासी गरेको थियो। सो स्टोर धादिङको निलकण्ठ–३ घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठको नाममा प्रकाश श्रेष्ठले सञ्चालन गर्दै आएको खुलेको छ।

खानतलासीका क्रममा सक्कली जस्तै देखिने छ थान नक्कली मेटालिक पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद हतियारमध्ये चाइनिज ७७ मोडलको एक थानको तौल ६७५.२१ ग्राम र मेड इन जर्मन लेखिएको बेरेट्टा मोडलका पाँच थानको प्रति पेस्तोल तौल ६१५.१३० ग्राम रहेको जनाइएको छ।

सो क्रममा प्रहरीलाई अवरोध गर्दै अभद्र व्यवहार गर्ने काभ्रेको रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई नियन्त्रणमा लिइ अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको प्रहरीले जनाएको छ।

विगतमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यस्ता हतियार देखाएर चोरी, डकैती र लुटपाटका घटनाहरू भइरहेको पृष्ठभूमिमा नक्कली हतियारको बिक्री वितरण र प्रयोग नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले अभियान चलाइरहेको छ। बरामद हतियार र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०८२ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App