मोरङको रंगेली नगरपालिका–७ स्थित भेडुवाथानबाट ठुलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
भारतको बिहारस्थित अररिया जिल्लाको सिक्टी थाना आँपगाछी पञ्चायत–१४ का २५ वर्षीय अभिषेककुमार मण्डललाई लागुऔषधसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार शनिबार राति साढे ८ बजेतिर भारतीय नम्बरको बीआर ३८ एएच ८७९८ मोटरसाइकलमा बोरामा पोको पारी लागुऔषध लिएर नेपाल आउँदै गरेका मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गर्न लाग्दा मण्डल भाग्न खोजेका थिए। प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकलको पछाडि राखिएको बोरा खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध नियन्त्रणमा लिइएको डिएसपी मिश्रले बताए। उनले भने, ‘बोराबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल नामक लागुऔषध ३ हजार ५० पत्ता फेला परेको थियो । एउटा पत्तामा १० क्याप्सुल हुन्छ । जम्मा ३० हजार ५ सय क्याप्सुल लागुऔषध बरामद भयो।’
उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ असार २०८३ १२:४५ आइतबार


-600x400.jpg)
