नेपालबाट भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणमा खरबुजाको बिउ बरामद भएको छ।
गुलरिया नगरपालिका–१० पर्सियास्थित सिमावर्ती क्षेत्रबाट बुधबार राति ११ बजे खरबुजाको बिउ बरामद भएको हो।
ना ५ ख ३४५४ नम्बरको ट्रकमा ५ सय १४ बोरामा २ सय ५ दशमलव ६ क्विन्टल खरबुजाको बिउ लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा भन्सार कर्मचारीले ट्रकलाई नियन्त्रणमा लिएका थिए।
विशेष सूचनाको आधारमा खटिएको टोलीले ठुलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको राजापुर भन्सार कार्यालयकी प्रमुख अनिता पौडेलले बताइन्।
‘भन्सारको टोली पुग्दा व्यक्तिहरू भागिसकेका थिए,’उनले भनिन्,‘जसकारण बरामद खरबुजाको बिउ कसको र कहाँबाट ल्याइएको खुलेको छैन।’
बरामद खरबुजाको अन्दाजी मूल्य रु ४२ लाख बराबर रहेको उनले जनाइन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १० मंसिर २०८३ १८:१० बिहीबार



