अपराध

रकम अपचलन आरोपमा बैंकका कर्मचारी पक्राउ

उदयपुरस्थित एक वाणिज्य बैंकमा कार्यरत एक जना महिला कर्मचारी रकम अपचलन आरोपमा पक्राउ परेकी छिन्। बैंक खाताको रकम नियमविपरीत हिनामिना गरेको आरोपमा सदरमुकाम गाईघाटस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी सुनिता बानिया पक्राउ परेकी हुन्।

बैंककै उजुरीका आधारमा केही दिनअघि नै पक्राउ परेकी त्रियुगा नगरपालिका ५ बगाहाकी बानियालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले २८ वर्षीया बानियालाई बैंककै आग्रहमा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताए।

चापागाईका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ। सोही अनुसार बानियामाथि अनुसन्धान भइरहेको तर बैंकले पनि आन्तरिक अनुसन्धान गरिरहेकाले दुवैको रिपोर्ट आएपछि कारबाही किनारा लाग्ने उनले बताए।

बैंकको रकम अपचलन गरेको उजुरी आए पनि कति रकम बानियाले हिनामिना गरिन् भन्ने यकिन भने प्रहरीले गरेको छैन। ‘यत्तिउत्ति हिनामिना गरेको ठोस केही आएको छैन, बैंक आफैँले यसबारे आन्तरिक छानबिन पनि गरिरहेको जनाएको छ,’ एसपी चापागाईले भने, ‘बैंकले रकम हिनामिना गरेको हुनाले बैंकिङ कसुर ऐन आकर्षित भएकाले त्यही अनुसार कारबाही गर्न अनुसन्धान गरिरहेका छौँ।’  

रकम हिनामिना कार्यमा बानिया एक्लै वा अन्यको सहभागिता छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। यसबारे बैंक र प्रहरी दुवै तर्फबाट सूक्ष्म अनुसन्धान भइरहेको र रिपोर्ट आउन केही समय लाग्नसक्ने प्रहरीले जनाएको छ।

केही महिनाअघि जिल्ला अस्पताल उदयपुरका ४ जना कर्मचारी यसरी नै राजश्ववापतको रकम हिनामिना आरोपमा बर्खास्तीमा परेका थिए। टिकट काउन्टरमा कार्यरत एक महिलासहित ४ जना करार कर्मचारीबाट २८ लाख रुपैयाँ हिनामिना भएको सार्वजनिक भएपछि उनीहरू बर्खास्तीमा परेका थिए।

अस्पतालमा उपचारार्थ आउने बिरामीको नयाँ पुर्जा वितरणदेखि स्वास्थ्य परीक्षणलगायत उपचारका लागि अस्पताल विकास समितिले तोकेको शूल्कवापत जम्मा भएको रकम खाईमासेको ठहर भएको थियो।

अघिल्लो आर्थिक वर्षदेखिकै रकम खाईमासेको कुरा महालेखा परीक्षणबाट कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रमाणित भएपछि घट्ना सार्वजनिक भएको थियो। उनीहरू ४ मध्ये एक जनाले २ लाखदेखि १६ लाखसम्म हिनामिना गरेको प्रमाणित भएपछि खाईमासेको रकम भरणपोषण गराई जागीरबाट बर्खास्त गरिएको थियो।

प्रकाशित: १७ चैत्र २०८२ १९:३२ मंगलबार