कपिलवस्तु र भक्तपुरका दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ।
शनिबार साँझ गरिएको विशेष कारबाहीका क्रममा उनीहरूको साथबाट कुल ९ लाख २९ हजार रुपैयाँ नगद र २८ बुक तास बरामद भएको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ स्थित ३२ वर्षीय बिनोद हेलाको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको संयुक्त टोलीले घरधनी बिनोदसहित १५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद ४ लाख ७५ हजार रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।
यसैगरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे डायमण्ड चोकबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भई हाल बोडेमा डेरा गरी बस्ने ४६ वर्षीय ढकल बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त ठिमीको टोलीले छापा मारेको थियो।
प्रहरीले तामाङसहित ११ जनालाई नियन्त्रणमा लिनुका साथै घटनास्थलबाट नगद ४ लाख ५४ हजार रुपैयाँ र २५ बुक तास बरामद गरेको छ।
पक्राउ परेका दुवै समूहमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप आवश्यक अनुसन्धान अघि बढाएका छन्।
प्रकाशित: ३१ श्रावण २०८३ १७:४५ आइतबार
-600x400.jpg)

-600x400.jpg)
