अपराध

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै ४२ लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

रामेछाप, मन्थली नगरपालिका–३ का ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा, माथागडी गाउँपालिका–४ का ३४ वर्षीय मोहन पोखरेल पक्राउ परेका छन्। 

बरुवाल हाल दक्षिणकाली नगरपालिका–१ मा र पोखरेल काठमाडौँ महानगरपालिका–२६, गङ्गबुमा बस्छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले यो जानकारी दिए।

उनले भने, ‘विदेशमा आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।’

पक्राउ परेकामध्ये बरुवालले युके पठाउने भन्दै सात जनाबाट ३२ लाख ३५ हजार र पोखरेलले एक जनालाई पोल्याण्ड पठाउने भन्दै १० लाख लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: २३ जेष्ठ २०८२ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App