खेल

इङ्ल्यान्डले आक्रामक शैली परिवर्तन नगर्ने

इङ्ल्यान्डको टेस्ट कप्तान बेन स्टोक्सले बिहीबारदेखि दक्षिण अफ्रिकाविरुद्ध सुरु हुने दोस्रो टेस्टमा आफ्नो टोलीको आक्रामक शैलीमा कुनै कमी नआउने स्पष्ट पारेका छन्।

तीन खेलको शृंखलामा १-० ले पछि परेको आयोजक इङ्ल्यान्ड दोस्रो टेस्टका लागि ओन्ड ट्राफोर्ड पुगिसकेको छ। गत हप्ता घरेलु टोली लर्ड्समा तीन दिनभित्र नै दक्षिण अफ्रिकासँग इनिङ र १२ रनले स्तब्ध भएको थियो। नयाँ प्रशिक्षक ब्रेन्डन म्याकुलम र नयाँ कप्तान स्टोक्सले आफ्नो नेतृत्वमा पहिलो हारसमेत बेहोरे। लगातार चार जितपछि यी दुईले पहिलो हार आत्मसात् गरेका हुन्। यो हारअगाडि इङ्ल्यान्डले ‘बेजबल’ शैलीमा जित निकालेको हो।

इङ्ल्यान्डका समर्थक र सञ्चार माध्यमले ती जितलाई ‘बेजबल’ शैलीका रूपमा विश्लेषण गरेका हुन्।

न्युजिल्यान्डका पूर्व स्टार म्याकुलमको उपनाम बेज हो। उनको समयमा उनी आक्रामक शैलीमा ब्याटिङ गर्ने क्रिकेटरका रूपमा चिनिन्थे। अहिले इङ्ल्यान्डको प्रशिक्षकका रूपमा जिम्मेवारी लिँदा पनि उनले सोही शैली अपनाएका छन्। त्यसैले अहिले इङ्ल्यान्डको खेल्ने शैलीलाई पनि उनले आक्रामक बनाएका छन्। सोही आक्रामक शैलीको ब्याटिङका कारण इङ्ल्यान्डले पछिल्ला दुई महिना न्युजिल्यान्ड र भारतसँग पनि चौथो दिनमा जित निकालेको थियो। यद्यपि, दक्षिण अफ्रिकाको तीव्र गतिमा भने इङ्ल्यान्डले जबाफ दिन सकेन र लर्ड्समा कागिसो रबडा नेतृत्वको दक्षिण अफ्रिकासँग इङ्ल्यान्ड स्तब्ध बन्यो। इङ्ल्यान्ड दुई इनिङमा क्रमशः १६५ र १४९ रनमा नै खुम्चियो।  

भारतसँगको जितमा इङ्ल्यान्डको ‘बेजबल’ रणनीतिले काम गरेको विश्लेषण भए पनि दक्षिण अफ्रिका विरुद्ध इङ्लिस टोलीले केही आलोचना खेप्नुपरेको थियो। इङ्ल्यान्डका अलराउन्डर स्टोक्सले पहिलो हार बेहोरे पनि आफ्नो रणनीतिमा कुनै परिवर्तन नगर्ने पनि स्पष्ट पारेका छन्। ‘कुनै पनि परिवर्तन हुने छैन,’ स्टोक्सले भने, ‘जब हामीसँग क्षमता छ भने किन रणनीति परिवर्तन गर्नुपर्छ? हामी उत्कृष्ट प्रदर्शनका लागि काम गर्नेछौं। यो हारअगाडि सबैले हाम्रो प्रदर्शन देखिसकेका छन्।’ न्युजिल्यान्डका पूर्वकप्तान समेत रहेका इङ्ल्यान्डका प्रशिक्षक म्याकुलमले लर्ड्सको समस्या आवश्यक मात्रामा आक्रामक शैली रहेको बताए।

‘हामी कुन शैलीको खेल प्रदर्शन गर्छौं, त्यो स्पष्ट छ,’ म्याकुलमले भने, ‘ यद्यपि, सधैं एउटै सिद्धान्तले काम गर्छ भन्ने छैन। पछिल्लो खेल हामीले गुमायौं र पक्कै पनि त्यो हार राम्रो होइन। तथापि, हामी बलियो भएर फर्कन्छौं।’ इङ्ल्यान्डले बलिङमा म्याथ्यु पट्सको स्थानमा ओल्ली रोबिनसनलाई ल्याएको छ। लर्ड्समा म्याथ्युको बलिङ प्रभावकारी बन्न नसकेपछि रोबिनसन टोलीमा फर्काइएका हुन्। इङ्ल्यान्डसँग जित निकालेपछि दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको शीर्षमा उक्लिएको छ। त्यो खेलमा कुनै पनि ब्याट्सम्यानले शतक बनाउन नसके पनि टिम इफोर्टका कारण पाहुना टोली दक्षिण अफ्रिकाले राम्रो योगफल भने बनाएको थियो।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले गत हप्ताको जितले इङ्ल्यान्डलाई मनोवैज्ञानिक दबाब पर्ने धारणा राखे। ‘इङ्ल्यान्डले केही राम्रो क्रिकेट खेलेको छ। उनीहरू कठिन परिस्थितिमा टेस्टको खेल जितेका छन्। त्यसैले पक्कै पनि इङ्ल्यान्ड बलियो टोली हो। यद्यपि, पहिलो खेलमा हारले उनीहरू दबाबमा छन,’ उनले भनेका छन्। दक्षिण अफ्रिका कप्तान डिन इल्गरले ‘बेजबल’ शैली अझै पनि इङ्ल्यान्डकै वरपर रहनेमा आफू जानकार रहेको बताए।

प्रकाशित: ९ भाद्र २०७९ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App