खेल

एकदिवसीयमा इङ्ल्यान्डको कीर्तिमान

एकदिवसीय क्रिकेटमा कीर्तिमान ४ सय ९९ रनको लक्ष्य दिएको इङ्ल्यान्डले शुक्रबार नेदरल्यान्ड्समाथि २ सय ३२ रनको फराकिलो जित निकालेको छ।

यसअघि एकदिवसीय खेलमा सर्वाधिक ठूलो स्कोर सन् २०१८ मा इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ६ विकेट गुमाउँदै ४ सय ८१ रन बनाएको थियो। शुक्रबार भने इङ्ल्यान्डले आफैंले बनाएको कीर्तिमान नेदरल्यान्ड्विरुद्ध तोड्यो। निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ४ सय ९८ रनको योगफल बनाउँदा तीन इङ्लिस खेलाडीले सतक बनाए।

इङ्ल्यान्डका ओपनर फिल साल्टले १ सय २२ रन बनाउँदा तेस्रो नम्बरका ब्याट्सम्यान डेविड मलानले १ सय २५ र चौथो नम्बरमा ब्याटिङमा आएका जोश बटलरले अविजित १ सय ६२ रन बनाए।

यसबाहेक लियम लिभिङ्स्टोन ६६ रनमा नटआउट रहे। ओपनर जसन रोय र कप्तान इयोन मोर्गन क्रमशः १ रन र शून्यमा पवेलियन फर्किए। सतकधारी साल्टले सतकीय पारी खेल्ने क्रममा ९३ बलको सामना गर्दा १४ चौका र ३ छक्का प्रहार गरे। मलानले १ सय ९ बलमा ९ चौका र तीन छक्का हिर्काए।

बटलरले ७० बलमा १ सय ६२ रन जोडे। उनले सात चौका र १४ छक्का हिर्काए। लिभिङ्स्टोनले २२ बलमा समान ६ छक्का र छौका प्रहार गरे। बलिङतर्फ नेदरल्यान्ड्सका पिटर सिलरले दुई विकेट लिँदा लोगन भान बिक र सेन स्नाटरले समान १/१ विकेट लिए।

म्यान अफ दी म्याच घोषित बटलरले नेदरल्यान्ड्स भ्रमण निकै रोमाञ्चक र ऐतिहासिक भएको बताए। ‘नेदरल्यान्ड्स भ्रमण हाम्रो लागि निकै रोमाञ्चक बन्यो,’बटलरले भने, ‘अघिल्लो वर्षभन्दा धेरै छक्का प्रहार गर्न कोसिस गरेँ। धेरैभन्दा धेरै छक्का प्रहार गर्ने लक्ष्यमा थिएँ।’ विशाल लक्ष्यसहित ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभर सकिन २ बल बाँकी रहँदै समेटियो। नेदरल्यान्ड्सले सबै विकेट गुमाउँदै २ सय ६६ रन जोड्यो। नेदरल्यान्ड्सका स्कट एडवार्डले सर्वाधिक ७२ रन बनाए। म्याक्स ओडोवाडले ५५ रन, पिटर सिलरले २५ र टिम कुपरले २३ रन बनाए।

इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक तीन विकेट लिए। डेविड विले, रिसे टोप्ले र साम करनले समान दुई विकेट निकाले। डेविड मलानको नाममा एक विकेट रह्यो। नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले केही क्याच छुटाउँदा बलियो टोली हाबी भएको स्वीकार गरे। जितसँगै तीन खेलको एकदिवसीय शृंखला इङ्ल्यान्डले १–० ले अग्रता लिएको छ। दोस्रो खेल आइतबार हुनेछ। 

प्रकाशित: ५ असार २०७९ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App