खेल

इङ्ल्यान्डको शताब्दीकै फराकिलो हार

ग्यारेथ साउथगेटको इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा मंगलबार हंगेरीसँग ४–० को नतिजा बेहोरेसँगै घरेलु भूमिमा शताब्दीकै फराकिलो हार सामना गर्नुपरेको छ। घरेलु भूमिमा इङ्ल्यान्ड शताब्दीकै फराकिलो हार बेहोरेकै दिन इटाली पनि जर्मनीसँग उसकै मैदानमा ५–२ को लज्जापूर्ण हार बेहोर्न बाध्य भयो।

इङ्ल्यान्डले पछिल्लो पटक सन् १९२८ मा स्कटल्यान्डसँग वेम्बलीमा ५–१ को हार बेहोरेको थियो। तर, मंगलबार पनि इङ्ल्यान्डले उल्भरह्याम्पटनमा हंगेरीसँग फराकिलो हार सामना गर्दा लिग ‘ए’ बाट घटुवा हुँदै युरोपियन फुटबल छनोटको दोस्रो चरणमा झर्ने खतरा बढेको छ। १५ दिनअगाडि मात्र इङ्ल्यान्ड बुढापेस्टमा हंगेरीसँग १–० ले स्तब्ध भएको थियो।

यस पटक घरेलु भूमिमा पनि इङ्लिस टोलीले त्यसको बदला लिन सकेन र खेलको १६औं मिनेटमा नै पछि पर्‍यो। रोलान्ड सालईले घुँडाले बल नियन्त्रणमा लिँदै भली प्रहार मार्फत गोल गरे। उनले खेलको ७०औं मिनेट अर्को गोल थप्दै घरेलु टोलीमाथि थप दबाब सिर्जना गरे। सोल्ट नेगीले खेल सकिन २० मिनेट बाँकी छँदा गोल गर्दै हंगेरीको अग्रता ३–० मा पुर्‍याए।

दोस्रो रोजाइका खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका ड्यानिल गाजडागले हंगेरीको चौथो गोल गरेपछि इङ्ल्यान्डले लज्जापूर्ण हार बेहोर्‍यो। साथै हंगेरीले पहिलो पटक इङ्ल्यान्ड भूमिमा घरेलु टोलीमाथि चार गोल गर्न सफल भयो। यसअघि सन् १९५३ मा वेम्बलीमा हंगेरीले ६–३ को हार बेहोरेको थियो। यो हारसँगै इङ्ल्यान्डले चार खेलबाट दुई अंक मात्र बटुलेको छ।

आगामी सेप्टेम्बरमा इटालीमा हार बेहोरे इङ्ल्यान्ड लिग ‘बी’ मा घटुवा हुनेछ। ‘आज हाम्रा लागि बिर्सनलायक दिन रह्यो। तथापि, अब हामी यो सबै बिर्सेर अगाडि बढ्नुपर्छ,’ इङ्ल्यान्डका कप्तान ह्यारी केनले भने, ‘आजको हारबाट हामीले धेरै कुरा सिक्नुपर्छ।’ यता हंगेरी भने समूहको शीर्ष स्थानमा छ। हंगेरीले दोस्रो स्थानको जर्मनीसँग एक अंकको अग्रता बनाएको छ।

जर्मनीले रोबेर्टो मानसिनीको इटालीलाई फराकिलो हार चखाउँदै हंगेरीसँगको अंकदूरी घटाएको हो। जुसुआ किमिचले खेलको सुरुआतमा गोल गर्दै अग्रता बनाए। पहिलो हाफको थप गरिएको समयमा इल्के गुन्डोगानको पेनाल्टीबाट जर्मनीले अग्रता दोब्बर बनायो। दोस्रो हाफ सुरु भएलगत्तै थोमस मुलरले तेस्रो गोल गरे। टिमो वेर्नेरको गोलबाट जर्मनीले इटालीमाथि फराकिलो जित रच्यो।

वेर्नेरले जर्मनीका लागि दुई गोल गरेका थिए। इटालीले सन् १९५७ यता कुनै पनि खेलमा पाँच गोलभन्दा बढी बेहोरेको थिएन। त्यति बेला इटाली युगोस्लाभियासँग ६–१ ले स्तब्ध भएको थियो। समूह चारको खेलमा नेदरल्यान्ड्सले वेल्समाथि ३–२ को जित निकाल्यो। त्यो जितपछि डच टोलीले समूहको शीर्ष स्थान कायमै राख्यो।

त्यो जितपछि डच टोली बेल्जियमभन्दा तीन अंकले अगाडि छ। बेल्जियमले भने पोल्यान्डमाथि उसैको मैदानमा १–० को साँघुरो जित निकालेको थियो। एक अंक मात्र जोडेको वेल्स अंकतालिकाको पुछारमा छ। विश्वकपमा छनोट हुने लक्ष्य राखेको वेल्सले यसै महिना मात्र चार खेल खेलेको थियो। लिग ‘बी’ मा युक्रेन खेलमा फर्किंदै रिपब्लिक अफ आयरल्यान्डसँग १–१ को बराबरी गर्‍यो। युक्रेन ग्रुप–१ मा स्कटल्यान्डभन्दा एक अंकले अगाडि छ। स्कटल्यान्डले पनि मंगलबार आर्मेनियालाई ४–१ ले हराएको थियो।

प्रकाशित: २ असार २०७९ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App