खेल

अस्ट्रेलियन ओपनः कोलिन्स र सियाटेक अन्तिम चारमा

अमेरिकी स्टार ड्यानिएल कोलिन्स र पोल्यान्डकी इगा सियाटेक वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको अन्तिम चारमा भिड्ने भएका छन्।

कोलिन्सले बुधबार गैरवरीयताकी फ्रेन्च स्टार एलिजे कर्नेटलाई सहजै हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन्। सन् २०१९ मा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी कोलिन्सले यस पटक क्वार्टरफाइनलमा कर्नेटलाई ८८ मिनेटमै हार चखाइन्।

विश्व नम्बर सात सियाटेकले पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधियात्रा कायमै राखिन्। इस्टोनियाकी काइया कानेपीले पहिलो सेट ६–४ ले आफ्नो बनाउँदै माथिल्लो वरीयताकी सियाटेकमाथि दबाब बनाइन्। यद्यपि, युवा खेलाडी सियाटेकले ३६ वर्षीया गैरवरीयताकी खेलाडी काइयाविरुद्ध पुनरागमन गरिन्।

सियाटेकले दोस्रो सेट ७–६ (७–२) र तेस्रो सेटमा ६–३ ले हराउँदै पुनरागमन गरिन्। अनुभवी खेलाडी काइयाले ३ घन्टा १ मिनेटसम्म संघर्ष गरे पनि पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा पुग्ने सफलता पाउन सकिनन्। कोलिन्सले पनि फ्रेन्च भेट्रान कर्नेटको पहिलो पटक ग्रान्ड स्लाममा पुग्ने लक्ष्य पूरा हुन दिइनन्।

गत वर्ष सर्जरीबाट फर्किएकी २८ वर्षीया कोलिन्सले कर्नेटलाई ७–५ र ६–१ ले हराइन्। ‘मैले शारीरिक रूपमा जुन संघर्ष भोगेर आएँ, त्यहाँबाट यो सफलता पाउँदा निकै खुसी छु,’ २७औं वरीयताकी कोलिन्सले भनिन्। गत वर्ष मार्चमा सर्जरीपश्चात् खेलमा फर्किएकी उनी यस वर्ष राम्रो लयमा देखिएकी छन्।

‘यो स्थितिसम्म फर्कन सफल भएकी छु। शारीरिक रूपमा पनि राम्रो गर्न सक्ने अवस्थामा छु,’ उनले भनेकी छन्। स्वस्थ भएपछि उनले सान जोस र पालेर्मोमा डब्लुटिए उपाधि पनि जितेकी थिइन्। अहिले दोस्रो पटक मेलबर्नको ग्रान्ड स्लामको सेमिफाइनलमा पुगिन्।

अब उनको चुनौती २० वर्षीया सियाटेक हुनेछिन्, जसले आफूभन्दा १६ वर्ष जेठी काइयालाई स्तब्ध बनाएकी थिइन्। अर्को सेमिफाइनलमा बिहीबार विश्व नम्बर एक एस्लेघ बार्टीले गैरवरीयता प्राप्त मेडिसन केजविरुद्ध खेल्नेछिन्। बार्टी पहिलो पटक घरेलु भूमिमा ग्रान्ड स्लाम जित्ने अभियानमा छिन्।  

सितसिपास अन्तिम चारमा

विश्व नम्बर चारका स्टेफानोस सितसिपासले दशौं वरीयताका जानिक सिनरमाथि सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका छन्। ग्रिसका स्टेफानोसले इटालियन सिनरलाई ६–३, ६–४ र ६–२ ले सहजै हराए। यो सफलतापछि उनले आफू आफ्नो सुरक्षित क्षेत्रसम्म पुगेको बताए। उनी तेस्रो पटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका हुन्। रड लाभेर एरिनामा यो सफलता पाउन उनले दुई घन्टा ६ मिनेटसम्म प्रतिस्पर्धा गरेका थिए।

अब उनले सेमिफाइनलमा उपाधिका दाबेदार मानिएका ड्यानिल मेदभेदेभ र फेलिक्स अगरबीचको विजेतासँग खेल्नेछन्। लाभेर एरिनामा सितसिपासले इटालियन प्रतिद्वन्द्वीको सर्भिस सफल हुन दिएनन्। उनले अस्ट्रेलियन ओपनमा आफ्ना पछिल्ला खेलभन्दा आज राम्रो प्रदर्शन गर्न सकेको बताए। ‘यस प्रतियोगिताकै राम्रो प्रदर्शन आज गर्न सकेँ,’ उनले भने, ‘म मेरो क्षेत्रमा आइपुगेँ जस्तो महसुस भएको छ। यहाँबाट माथि उठ्न खासै योजना  बनाएको छैन।’

प्रकाशित: १३ माघ २०७८ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App