खेल

जुरेलीद्वारा अमेरिकी रेस्लर स्ट्रोम पराजित

नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन्। प्रतियोगिताकै मुख्य प्रतिस्पधीका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई पराजित गरेकी हुन्।

भृकुटिमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ बधाइ दिएका थिए।

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए। पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे। जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडेका थिए।

यस्तै, नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन्। सपनाले जमुना तामाङलाई पराजित गरिन्। पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले बेल्ट र पुरस्कार वितरण गरे। एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए।

प्रकाशित: १९ मंसिर २०७८ ०७:४२ आइतबार

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता नेपाली रेस्लर अस्मिता जुरेली अमेरिकाकी जेसी स्ट्रोम