खेल

राष्ट्रिय महिला कबड्डीमा कर्णालीको दुई जित, विनिता बनिन् प्लेयर अफ द म्याच

कर्णाली प्रदेशले २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो दिन दुई खेलमा विजय हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सुरु भएको प्रतियोगितामा कर्णालीले गण्डकी र कोशी प्रदेशलाई पराजित गरेको हो। पहिलो खेलमा कर्णालीले गण्डकीलाई ५१-२६ को स्कोरमा हरायो, जसमा कर्णालीकी विनिता पण्डित प्लेयर अफ द म्याच चुनिइन्। दोस्रो खेलमा कर्णालीले कोशीलाई ५९-२९ ले पाखा लगायो, जहाँ पनि विनिता नै प्लेयर अफ द म्याच बनिन्।

विभागीय टोलीबीचको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २७-२१ को साँघुरो अन्तरले हरायो। उक्त खेलमा आर्मीकी गंगा घिमिरेले उत्कृष्ट प्रदर्शन गरिन्। तर, दोस्रो खेलमा पुलिसले कोशीलाई ५८-२७ ले हराउँदै जित हासिल गर्‍यो। मानमति बिष्टको कप्तानीमा रहेको पुलिस टोलीकी मानमति नै उक्त खेलको प्लेयर अफ द म्याच बनिन्। अर्को विभागीय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई ६५–२४ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत गर्‍यो।

अन्य खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ४२-३२, सुदूरपश्चिमले वागमतीलाई ३३-२९ र वागमतीले लुम्बिनीलाई ४२-३४ को स्कोरमा हराए। १० टोली सहभागी यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ। अखिल नेपाल कबड्डी संघका अनुसार विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १ चैत्र २०८१ २१:१० शुक्रबार