खेल

नेपाली फुटबलको कालो दिन !

कुनै पनि टोली सम्हाल्ने प्रस्ताव आइहाले प्रशिक्षक सुलभजंग राणलाई अब एक नतिजाले झस्काउने छ। उनले पक्कै भन्नेछन्, ‘त्यस्तै हार फेरि दोहोरिए के गर्ने? कसलाई दोष दिने? कसरी मुख देखाएर हिँड्ने?’ त्यसैले अब उनी सोचविचार गरेर मात्रै निर्णय लिने मुडमा देखिन्छन्।

उनलाई यो खराब अनुभव कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताले दिएको होइन। यो त शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उमेरसमूहको मैत्रीपूर्ण खेलको नतिजाले हो। जुन खेलमा नेपाल यु–१६ टोलीले भुटानसँग ५–१ को फराकिलो हार बेहोर्‍यो। यसलाई उनी आफ्नो प्रशिक्षण करियर र नेपाली फुटबलकै कालो दिन भन्नसमेत पछि पर्दैनन्। ‘पहिलोपल्ट भुटानसँग डाउन भएर खेल्न पर्‍यो। ठूलो टिमसँग हारेको भए कुरा बेग्लै हुन्थ्यो। तर, भुटानसँगको हार्न पर्‍यो। खेल सकिएपछि मलाई रुन मन लाग्यो, समाजलाई कसरी फेस गर्ने भन्ने लाग्यो। त्यसैले यो मेरो लागि मात्रै होइन नेपाली फुटबलकै लागि कालो दिन रह्यो,’ उनले भने।

नेपालले महिला फुटबलको उमेरसमूहमा भुटानसँग कहिल्यै मैत्रीपूर्ण खेल खेलेको थिएन। खेलेको साफका छिटपुट प्रतियोगितामा मात्रै हो। त्यसमा पनि नेपालले हार बेहोर्न परेकै थिएन। अझ साफका पछिल्ला तीन संस्करणमा त नेपालले भुटानविरुद्ध ७–०, ५–० र ३–० को फराकिलो जित निकाल्दै बहादुरी नै प्रदर्शन गरेको थियो। शुक्रबार आफ्नै घरेलु मैदानमा भएको खेलमा पनि पहिलोपल्ट प्रशिक्षकको जिम्मेवारी सम्हालेका सुलभ पनि यस्तै सनसनीपूर्ण नतिजा ल्याउनेमा आशावादी थिए। तर, मैदानमा भने ठिक विपरीत नतिजा आयो। यो खेलमा नेपालले भुटानविरुद्ध राम्रो फुटबल नै पस्किन सकेन।

भुटान नै एकपक्षीय हाबी भइरह्यो र पहिलो हाफमै तीन गोलको स्पष्ट अग्रता लियो। सुरुआती २२ मिनेटमा नेपाली टोलीले बलमा पकड जमाएर केही अवसर बुने पनि सदुपयोग गर्न सकेन। तर, भुटानले भने पुनरागमन गर्दै अग्रता लियो। २५औं मिनेटमा खान्दु सोमोको क्रसमा क्वेन्डेन सोनम सोग्यालले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि छिरिङ ल्हामोले लगातार दुई गोल गर्दै पहिलो हाफमै ३–० को आरामदायी अवस्था पुर्‍याइन्। त्यहीबाट नेपालले पुनरागमन गर्न नसकेको हो।

‘सुरुमा हामीले आठ अवसर बुनेका थियौं। तर, गोल गर्न चुक्यौं। अझ गोल खान थालेपछि त दबाब थपिने भइहाल्यो। त्यसपछि खेलमा फर्किनै सकेनौं,’ उनले भने। नेपाल आफैं आयोजक भए पनि तयारी भने गतिलो गर्न नसकेको यो नतिजाले स्पष्ट पार्छ। सुलभ आफैं पनि जम्मा ११ दिनको प्रशिक्षण मात्रै गराएर टोलीलाई मैदान उतारेको स्वीकार गर्छन्। तर, यो टोली अनुभवी नै हो। गत मार्चमा मात्रै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको साफ खेलेकी झरना डुमराकोटी, ज्ञान्शु डोल्मा लो, दिक्षा रायमाझी, पूजा गिरी, अन्शुं विक, भूमिका बूढाथोकी, डिक्की स्याङ्बो तामाङ, सविना तामाङ र यमकुमारी विकजस्ता खेलाडी भुटानविरुद्ध उत्रिएका थिए।

यीमध्ये केहीले त एन्फा महिला लिगसमेत खेलिसकेका छन्। तर, यी खेलाडीले आफ्नो क्षमता र अनुभवअनुसार खेल पस्किन सकेन। उनीहरू फिजिकली फिट नभएको पनि प्रष्टै देखिन्थ्यो। भुटान भने बलियो देखियो। यु–१४ एकेडेमी र नेपालसँग ३–० हार बेहोर्दा ताकाका केही खेलाडी उतारेको भुटानले आफ्नो उत्कृष्ट फुटबल पस्कियो। मुख्य प्रशिक्षक शेरब गेल्मोका अनुसार घरेलु लिग र सेप्टेम्बरमा हुने साफको तयारी गरिरहेको टोलीले दुई महिनादेखि नै प्रशिक्षण थालेको थियो। त्यसको प्रतिफल मैदानमा पनि देखियो।  

दोस्रो हाफमा सोनम र उग्येन सोमोले समान एक गोल थप्दै नेपाललाई ‘निल’ पार्ने संकेत देखाएका थिए। तर, वैकल्पिक खेलाडी सविनाले ८६औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई अर्को खराब कीर्तिमान बनाउनबाट जोगाइन्। भुटानले राष्ट्रिय टोली बलियो बनाउन ग्रास रुटदेखि नै राम्रै लगानी गरिरहेको छ। त्यसको प्रतिफल भुटानले नेपालसँग पाएको हो। सिनियर महिला टोलीले खेल्ने साफ च्याम्पियनसिपमा होस् या यु–२० पुरुष टोलीले खेल्ने साफमै किन नहोस् अब भुटानले आफूभन्दा बलियो मानिएको नेपाली टोलीसँग कडा प्रतिस्पर्धा गर्न थालेको छ।

अझ उमेरसमूहको यो नतिजाले फुटबलमा भुटानले गरिरहेको लगानी खेर नगएको प्रस्टाउँछ। ‘हामीले गरिरहेको मिहिनेतको प्रतिफल पाएका छौं। यो ऐतिहासिक जितले पनि भुटानी फुटबल अब सही बाटोमा गरिरहेको छ भन्ने बुझाउँछ,’ प्रशिक्षक गेल्मो भन्छिन्। अब नेपालको यु–१९ टोलीले आइतबार भुटानको अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जिते नेपाललाई केही सान्त्वाना मिल्नेछ। यस्तै किसिमको हार बेहोरेको खण्डमा भने सुलभले भनेझैं नेपाली फुटबलको क्यालेन्डरमा अर्को कालो दिन थपिनेछ।

प्रकाशित: ६ पुस २०८१ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App