जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
जनकपुरले सोमबार विदेशी स्टार खेलाडीले भरिएको कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको थियो । कर्णालीको भने यो पहिलो खेल हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा क्याप्टेन अनिल साहले नटआउट ६२ रन बनाए । जारी एनपीएलमा यो पहिलो अर्धशतक हो । ४२ बलकाे सामना गरेका उनले ३ छक्का र ६ चौका प्रहार गरे ।
आसिफ शेख ३६ रनमा मौसम ढकालको बलमा देव खनालबाट क्याच आउट भए । अनिल र आसिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । लाहिरु मलान्थाले २४ रन बनाए । उनी जिसान मक्सुदको बलमा एलबीडब्लू धरापमा परे । जेम्स निसाम १६ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
कर्णालीका लागि गुल्शन झाले ३६, अर्जुन घर्तीले ३३ र सोमपाल कामीले नटआउट २९ रन बनाए । अन्तिम दुई ओभरमा सोमपाल र अर्जुनले ४३ रन जोडेपछि कर्णाली १४१ रनको योगफल तयार पार्न सफल भएको थियो । दुवैले सातौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।
शिखर धवन १४, चाड्वीक वाल्टन ८, बाबर हायात १२ र जिशान मक्सुद शुन्य रनमा पवेलियन फर्के । बाबरले गुल्शन झासँग मिलेर पाँचौ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए ।
जनकपुरका लागि मोहमद मोहसिनले २ तथा ललित राजवंशी, किशोर महतो, हर्स ठाकर र जेम्स निसामले एकएक विकेट लिए । अर्का एक जना भने रनआउट भए ।
सोमबार नै भएको पहिलो खेलमा चितवन राईनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।
यो पनि पढ्नुहोस्
एनपीएल: चितवनको सुखद सुरुवात, काठमाडौं ५ विकेटले पराजितप्रकाशित: १७ मंसिर २०८१ १६:०० सोमबार