खेल

समूहचरणका सबै खेल सातदोबाटोमा

समयमै मैदान तयार नहुँदा साफ यु–२० च्याम्पियनसिपको खेलस्थान परिवर्तन भएको छ । यसअघि आइतबारदेखि सुरु हुने प्रतियोगिताको समूहचरणका खेल दशरथ रंगशालामा हुने तय थियो। तर, मैदान संरक्षण गरिरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) र मर्मत गरिरहेका माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिका सिइओ थमन भुसालले समयअघि नै तयार पारिदिन सकेनन्। त्यसैले खेल कता हुने अन्योल थियो। 

उक्त अन्योलताको गाँठो अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार फुकाएको छ। अब समूहचरणका ६ खेल सातदोबाटोस्थित एन्फाको हातामा रहेको टर्फमा हुने भएका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पठाएको म्याच कमिस्नर अब्दुल हमिद अब्दुल गफरले शुक्रबार बिहान निरीक्षण गरेका थिए।

बिहीबार राति नेपाल आइपुगेका माल्दिभ्सका गफरले मैदानको गुणस्तर राम्रो नभएको रिपोर्ट साफमा पठाएका थिए। ‘साफबाट आउनुभएका म्याच कमिस्नरसहित हामी शुक्रबार बिहान मैदान निरीक्षणमा पुगेका थियौं। तर, मैदानमा हिलो अझै छ। त्यही हिलोमा खेल्यौं र वर्षा पनि भयो भने आहाल हुने भएका कारण खेल सारेका हौं,’ एन्फा प्रवक्ता सुरेश शाहले भने।

एएफसी च्यालेन्ज लिग प्लेअफअन्तर्गत गत मंगलबार भएको चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेल सुरु हुन डेढ घण्टाअघि त्रिपुरेश्वर आसपास ठूलो वर्षा भएको थियो। उक्त वर्षाका बावजुद प्रतियोगिता गराउँदा मैदान हिलाम्मे बनेको थियो । प्रतियोगिता सकिएको तीन दिन भइसकेको छ। तर, मैदान मर्मत गरिरहेका भुसालले खेल्न योग्य बनाउन नसकेको उनले जानकारी दिए।

‘रोलर लगाउँदा फसेपछि ठेल्नुपर्ने समस्या भएको तस्बिर भाइरल भइरहेको छ । अहिले माथिबाट हेर्दा कार्पेट बिछ्याएर झैं हरियो घाँस चिटिक्क छ। तर, तलको वास्तविकता अर्कै । त्यसैले खेल गराउन असम्भव देखिएको हो,’ उनले भने।

बुधबारमा मैदान निरीक्षणमा पुगेका एन्फा महासचिव किरण राईसहितको टोलीलाई भुसालले आइतबार हुने नेपाल र श्रीलंकाबीचको उद्घाटन खेल रंगशालामा नहुने जानकारी दिइसकेका थिए।

तर, वर्षा नभए सेमिफाइनल र फाइनल भने रंगशालामै गराउन सक्ने गरी तयारी गर्ने उनले आश्वासन दिए । यद्यपि, राईले भने घरेलु टोली नेपालको खेलमा उल्लेखनीय दर्शक आउने भन्दै श्रीलंका र बंगालदेशसँग हुने खेल जसरी भए पनि दशरथ रंगशालामा गराउने बनाउन निर्देशन दिएका थिए।

बुधबार र बिहीबार रंगशालामा चर्काे घाम पनि लागेको थियो। हिलो केही मात्रामा सुकेपछि बिहीबार भुसालले मैदान सम्म्याउन रोलर लगाएका थिए। तर, रोलर लगाउँदा मैदान चार इन्चसम्म भास्सिने, माटो फुट्ने र जमिनले सोस्न नसकेको पानी माथि नै आएर झनै हिलो बनाएको थियो।

अहिले बीचसहित केही भागमा खाडल देखिएको प्रवक्ता शाह बताउँछन्। त्यसमा माटो थप्दा पोस्ट नै दुई इन्चसम्म तल पुगिसकेका कारण पनि खेल गराउन म्याच कमिस्नरले असम्भव देखाएको उनको भनाइ छ।

सेमिफाइन र फाइनलमा अझै अनिश्चित म्याच कमिस्नर गफरले शुक्रबार नै साफलाई मेल पठाएका थिए। त्यसको जबाफ के आयो आफूलाई थाहा नभए पनि साफबाटै खेलस्थान परिवर्तन भएर आएको उनले जानकारी दिए। एन्फाले शुक्रबार साँझ नै यसको जानकारी दिइसकेको छ। तर, दशरथ रंगशालामा फ्लड लाइट रहे पनि एन्फा कम्प्लेक्समा भने अझै हाल्न सकिएको छैन।

त्यसैले यसअघि चार बजे हुने भनिएको खेलको समयतालिका पनि एक घण्टा अघि सरेको छ । अब समूहचरणका खेल अपराह्न तीन बजे सुरु हुनेछन्। यद्यपि, सेमिफाइनल र फाइनल भने कता गराउने हो एन्फा अझै अन्योलमा छ।

‘सकेसम्म रंगशालामै गराऔं भनेर हामीले तयारी गरेका हौं । तर, घाम कस्तो लाग्छ र वर्षा कति हुन्छ त्यो पनि हेर्नुपर्छ। मौसमले साथ दिए यी दुई खेल रंगशालामै गराउने तयारी गरेका छौं,’ उनले भने।

समूहचरणका केही खेल भइरहँदा म्याच कमिस्नर गफरले पुनः रंगशालाको मैदानको निरीक्षण गर्नेछन्। उक्त निरीक्षणमा मैदानमा सुधार देखिए मात्रै सेमिफाइनलका दुई खेल र फाइनल रंगशालामा हुनेछन्। नत्र सबै खेल यसपल्ट एन्फा कम्प्लेक्सको साधुँरो स्थानमै हुनेछन्।

प्रकाशित: १ भाद्र २०८१ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App